काठमाडौं। अहिलेका युवापुस्ता ब्राण्ड कन्सियस छन्। त्यसमा पनि विश्वका बहुराष्ट्रिय कम्पनीका ब्राण्ड नेपालमा पनि बिक्री हुन्छ। त्यसैले लुगा, जुत्ता-चप्पल, चस्मा, जे खोज्यो त्यही ब्रान्डेड कम्पनीका उत्पादन बजारमा पाउन गाह्रो छैन।
ब्राण्ड कन्सियस भएकै कारण यहाँ होमग्रोन ब्राण्ड स्टाब्लिस गर्न कठिन छ। तर केहीले नेपाली ब्राण्ड स्थापित गर्ने जोखिम उठाएका छन्। त्यसमै पर्छ न्युम्यु। यो करिब आठ वर्षदेखि एक सफल आइवेयर ब्राण्डको रूपमा स्थापित छ।
अनलाइनबाट व्यवसाय सुरू गरेको उक्त ब्राण्डले अहिले देशभरका ११ आउटलेट साथै अनलाइनमार्फत आफ्ना चस्मा (विशेषगरी सनग्लास) बिक्री गरिरहेको छ।
नेपाली चस्माको इ-कमर्स बजार मात्रै करिब ४६ लाख डलर (६० करोड ७२ लाख) हाराहारीको छ। यो बजारको पायोनियरका रूपमा उभिएको न्युम्युले ठूलो हिस्सा ओगटेको कम्पनीका सीइओ तथा सह-संस्थापक असिम थापा बताउँछन्।
रेब्यान, गुची, ओक्ली लगायतका चर्चित आइवेयर ब्राण्डको रेप्लिका अनलाइनमार्फत बिक्री गरेर न्युम्युले आफ्नो व्यापारिक यात्रा सन् २०१५ मा सुरू गरेको हो। अहिले यो बजारमा बलियो कारोबारीका रूपमा उभिएको छ।
६ कक्षा पढ्दादेखि पावरवाला चस्मा लगाएका असिमले स्नातकपछि भने आँखाको सर्जरी गराए। ‘सर्जरीपछि धुवाँ-धुलोबाट आँखा बचाउन म सनग्लास किन्न गएको थिएँ। हाम्रो बजार सीमित भेराइटी पाएँ र निकै महँगो पनि देखेँ,’ असिमले भने। उनलाई लाग्यो- ‘छनोटका लागि भेराइटी, क्वालिटी र उचित मूल्य दिने हो भने अनलाइनबाट चस्माको कारोबार गर्न सकिन्छ होला।’
त्यो बेलासम्म नेपालमा सस्तोडिल, अर्बन गर्ल लगायतको इ-कमर्स प्लेटफर्महरूले गति लिन थालिसकेका थिए। यी इ-कमर्स साइटहरूको बढ्दो लोकप्रियता पनि असिम केही प्रभावित भएको स्विकार्छन्।
इ-कमर्स बिजनेसमा भविष्य देखेका उनले किफायती मूल्यमा अनलाइनमार्फत सनग्लास ब्रिक्री गर्ने सोचे। आफ्ना स्कूले साथी अमरबाबु सुब्बालाई पनि आफ्नो योजनामा सामेल गरे।
‘त्यतिबेला अनलाइन स्पेसमा आइवेयरको लागि कुनै पनि प्लेयर थिएनन्। हामी दुवैले २५/२५ हजार लगानी गरेर न्युम्युमार्फत त्यो स्पेस बनायौं,’ असिम सुनाउँछन्, ‘हामीले लोकल मार्केटबाट करिब ४० पिस चस्मा किनेर ल्यायौं र बिक्रीका लागि राख्यौं। फेसबुक एड पनि चलायौं। बाह्र दिन नपुग्दै सबै चस्मा बिक्री भयो।’
मार्केटमा चलेको मूल्यभन्दा किपायती दाममा चस्मा बिक्री गरेकाले पनि त्यति छिट्टै सबै सामान सकिएको उनले बुझे। ‘त्यसपछि हामीले करिब तीन वर्ष यसरी नै सामान ल्याउँदै बिक्री गर्दै गर्यौं,’ उनले भने।
असिम र अमर दुवै व्यवसायिक पृष्ठभूमिबाट आएका थिएनन्। न त आइवेयर बजारको बारेमा केही खास ज्ञान नै थियो। सुरूवाती वर्षमा त उनीहरूलाई कहाँबाट सामान लिने, व्यवसाय कसरी चलाउने भन्ने नै अलमल भयो।
‘व्यवसाय गर्दै बजार बुझ्दै हामी अगाडी बढ्यौं,’ असिमले भने, ‘सुरूको दुई वर्ष सबै राम्रै चलिरहेको थियो। विस्तारै इ-कमर्सको बजार बिग्रिदै गयो। चस्माकै अनलाइन व्यापार गर्ने पनि च्याउ उम्रेजसरी आउन थाले। प्रतिस्पर्धा र छिटो समयमा नाफा कमाउने होडमा बजार नै बिग्रियो।’
व्यवसाय नोक्सानमा जाने अवस्था देखिएपछि न्युम्युले बजार गुम्न नदिन विभिन्न रणनीति अपनायो। ‘यसमध्ये इन्फ्लुएन्सर मार्केटिङ हाम्रो लागि टर्निङ पोइन्ट नै भयो। धेरै ब्राण्डको रूपमा हामीलाई अपनाउन थाले,’ उनले भने,’यो फेसबुक, टिकटक लगायतबाट ग्राहक आकर्षित गर्ने बाटो थियो।’
ग्राहकको बढ्दो विश्वाससँगै न्युम्युले आफ्नै ब्राण्डका चस्माहरु बजारमा भित्र्यायो। कम्पनीले चार वर्षदेखि आफ्नै डिजाइनका चस्माहरू बिक्री गर्दै आएको छ। उत्पादन भने चीनमा हुन्छ, आयात गरेर नेपाली बजारमा ब्रान्डिङ न्युम्युले गर्दै आएको छ।
सन् २०१८ मा अनलाइनमा मात्रै सीमित न्युम्युले ग्राहकलाई सपिङ अनुभवलाई थप राम्रो बनाउन शंखमुलमा पहिलो आउटलेट खोलेको थियो। सञ्चालनको आठ वर्ष पुरा गरिसक्दा अहिले न्युम्यु कुमारीपाटी, न्युरोड, शंखमुल, बौद्ध, पोखरा, धरान, इटहरी, बिर्तामोड, सुर्खेत र बुटवललगायत ११ ठाँउमा विस्तार भइसकेको छ।
न्युम्युले नेपाली बजारमा ५०० भन्दा बढी भेराइटीका चस्माहरू बिक्री गरिरहेको छ। जसको मूल्य एक हजारदेखि ४ हजार २०० रूपैयाँसम्म पर्ने असिम बताउँछन्। ‘हामीले माग र समयसँगै सनग्लास, फ्रेम र लेन्सहरू पनि बनाउन थाल्यौं। भर्खरै हामीले आइ चेकअपको सुविधा पनि सुरू गरेका छौं। बच्चाहरूका लागि पनि चस्मा ल्यायौं,’ उनले भने।
अहिले असिम र अमर दुवै आफ्नो उत्पादनको गुणस्तर वृद्धि गर्न र ग्राहक सेवा अझै सुधार गर्नमा केन्द्रित छन्। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा मात्रै मुलुकमा करिब २४ करोड रूपैयाँ हाराहारीको सनग्लासहरू मात्रै आयात भएको छ। अझ यसमा अप्टिकल लेन्स तथा फ्रेमहरूको तथ्यांक पनि जोड्ने हो भने रकम ५० करोड रूपैयाँमाथि पुग्छ।