BIZMANDU
www.bizmandu.com

सामसङ मेड इन नेपाल, ग्लोबल फूटप्रिन्टमा नेपाल थपियो, अब यही टेलिभिजन एसेम्ब्ली

२०८० बैशाख १४

सामसङ मेड इन नेपाल, ग्लोबल फूटप्रिन्टमा नेपाल थपियो, अब यही टेलिभिजन एसेम्ब्ली
सामसङ मेड इन नेपाल, ग्लोबल फूटप्रिन्टमा नेपाल थपियो, अब यही टेलिभिजन एसेम्ब्ली

काठमाडौं। सामसङ टेलिभिजनको प्यानलमा ‘मेड इन कोरिया’ लेखिएको हुन्थ्यो। कोरियामै बनेका सामसङका टेलिभिजन सेटहरु यहाँ बिक्री हुन्थे। तर अब नेपालमा बिक्री हुने टेलिभिजनमा ‘मेड इन नेपाल’ हुनेछ।

Tata
GBIME
Nepal Life

सामसङको ग्लोबल फूटप्रिन्टमा नेपालमा एसेम्ब्ली प्लान्ट थपिएको छ। विश्वकै टपटेन कम्पनी सामसङले नेपालमा एसेम्ब्ली प्लान्ट लगाएको छ।

नवलपरासी रामग्राम नगरपालिकामा रहेको एसेम्ब्ली प्लान्टबाट उत्पादित टेलिभिजन नेपाली बजारमा बिक्री हुनेछ। यो एसेम्ब्ली प्लान्टबाट ३२ देखि ८५ इञ्चसम्मका टेलिभिजन एसेम्ब्ली भइरहेका छन्।

 ‘हो टेलिभिजनमा एसेम्बल्ड इन नेपाल हुनेछ,’ गोल्छा समूहका प्रवन्ध निर्देशक शेखर गोल्छाले बिजमाण्डूसँग भने, ‘विश्वकै टप टेन ब्राण्डको एसेम्ब्ली प्लान्ट नेपालमा स्थापना हुनु र उत्पादन हुनु नेपालका लागि ऐतिहासिक दिन पनि हो। यो माइलस्टोन पनि हो।’

गोल्छा ग्रुपले ११ वर्षदेखि सामसङका इलेक्ट्रोनिक्स उत्पादनहरु बेच्दै आएको थियो। त्यही क्रममा शेखरले नेपालमै एसेम्ब्ली प्लान्ट लगाउन सामसङलाई प्रस्ताव गरे। त्यो प्रस्तावलाई स्वीकार गरेपछि समूहले रामग्राममा एसेम्ब्ली प्लान्ट लगाएको हो। शेखरले उद्योग स्थापनाकै लागि आग्रह गर्नुका पछाडि उद्योगप्रतिको मोह पनि हो। नेपालमा पहिलो उद्योग लगाउने रामलाल गोल्छाका तेस्रो पुस्ता हुन् शेखर।

रामलाले विराटनगरमा पहिलो जुट मिल उद्योग लगाएका थिए। त्यही जिनले शेखरमा उद्योग लगाउने हुटहुटी रहेको छ। ‘मेरो हजुरबुबाले नेपालमा पहिलो उद्योग लगाउनुभयो। गोल्छा परिवारले लगाएको उद्योग देशभरी छरिएर रहेको छ। ती सबै उद्योगव्यवसायमा ३० हजार भन्दा बढीले रोजगारी पनि पाएका छन्,’ उनले भने, ‘स्टिल, खाद्यान्न, जुटहुँदै हामीले मोटर साइकल र अहिले टेलिभिजन उत्पादन थालेका छौं।’ यो समूहले एउटै कम्पाउण्डभित्र सामसङको टेलिभिजन र बजाज मोटरसाइकलको एसेम्ब्ली प्लान्ट लगाएको छ।

 नेपालमा टेलिभिजनको एसेम्ब्ली प्लान्ट यो पहिलो होइन। यही समूहले हिमस्टार टेलिभिजन पनि एसेम्ब्ली गरेको थियो। चौधरी समूहले एलजी टेलिभिजन एसेम्ब्ली गरिरहेको छ।

तर अहिलेसम्म स्क्रिउ ड्राइभर टेक्नोलोजीका आधारमा एसेम्ब्ली हुन्थे। विभिन्न पार्टपूर्जा विदेशबाट ल्याएर जोडजाड हुन्थ्यो। तर सामसङको एसेम्ब्ली भने फरक छ। टेलिभिजनमा प्रयोग हुने स्क्रिन नेपालमै बनिरहेको छ। ‘यसमा भ्यालु एडिसन बढी छ। पिक्चर ट्युबहरु यहाँनै बनिरहेको छ,’ शेखरले भने, ‘हामीले अर्थतन्त्रमा केही न केही सहयोग पुर्‍याउन चाहिरहेका छौं।’ उनी नेपाली बजार मात्रै नभएर दक्षिण एसियालाई हेरेर लगानी गर्नुपर्ने बताउँछन्।

 ‘दक्षिण एसियालाई हेरेर सामसङले यहाँ प्लान्ट लगाउने निर्णय गर्नुपर्छ। नेपालले साफ्टा अन्तर्गत शुन्य भन्सारमा निर्यात सुविधा पनि पाउने भएकाले लगानीका लागि सामसङ तयार हुनेछ,’ शेखर भन्छन्।

शेखर टेलिभिजनमा मात्रै सीमित हुन चाहेका छैनन्। सामसङका वासिङ मेसिन, फ्रिज लगायतका सामान पनि यही एसेम्ब्ली गर्ने योजना बनाइरहेका छन्।

‘हाम्रो योजना टेलिभिजन मात्रै होइन अरु घरायसी उपकरण पनि यही एसेम्ब्ली होस् भन्ने हो। हामीले सामसङ कोरियालाई अनुरोध पनि गरिरहेका छौं,’ उनले भने, ‘पक्कै पनि अरु एसेम्ब्ली प्लान्ट यहाँ लाग्न सुरु हुनेछ।’

उद्योगमा अहिले सय जनाले रोजगारी पाएका छन्। रोजगारी पाएकामध्ये पनि ९० प्रतिशत महिला छन्। ती महिलालाई तीन महिना अघिदेखि तालिम दिएर काममा लगाइएको हो। उनी केही वर्षभित्रै सामसङका अरु एसेम्ब्ली प्लान्ट लगाएर हजार जनालाई रोजगारी दिने सोचमा छन्। गोल्छाले ६० करोड रुपैयाँ लगानीमा ८ महिनामा यो प्लान्ट तयार पारेको हो।

 सामसङ पनि आशावादी

नेपालमा दुई दशकभन्दा बढी समयदेखि कारोबार गरिरहेको सामसङ नेपाली जनताको मनमनमा रहेको सामसङ दक्षिण–पश्चिम एशियाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जे बि पार्कले बताए।

‘हाम्रो साझेदार हिम इलेक्ट्रोनिक्ससँगको यो नयाँ टेलिभिजन कारखानाले नेपालसँग हाम्रो सम्बन्धलाई अझ मजबुत बनाउनेछ र स्थानीय उद्योगलाई सशक्त बनाउन हामीले गरिरहेको कार्यको यो एक अर्को उदाहरण हो,’ उनले भनेका छन्। 

कोरियाका राजदूत पार्क चोङ सुकले नेपालमा सामसङको एसेम्ब्ली प्लान्ट आउनु सुखद भएको बताउँदै कोरियाली लगानी विस्तार हुने अपेक्षा गरे।