काठमाडौं। स्टार्टअप कोष कार्यक्रमअन्तर्गत सरकारले उपलब्ध गराउने कर्जाका लागि करिब ३ सय ८२ वटा स्टार्टअपले आफ्नो परियोजना प्रस्ताव पेस गरेका छन्। उद्योग विभागले गत चैत १६ गतेदेखि २१ दिनको समयसीमा दिएर इच्छुक स्टार्टअपलाई परियोजना प्रस्ताव बुझाउन आह्वान गरेको थियो।
उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले स्टार्टअप कर्जाका उत्साहजनक संख्यामा परियोजना प्रस्ताव पेस भएको बताए। प्राप्त भएका प्रस्तावहरु अध्ययन र छनोटसँगै मूल्यांकन गरेर अन्तिम सूचीमा परेका परियोजनालाई विभागले ऋण पाउन योग्य सिफारिस गर्नेछ।
गत चैतमा जारी भएको स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ लाई टेकेर उद्योग विभागले स्टार्टअपहरूलाई परियोजना प्रस्ताव पेस गर्न आग्रह गरेको थियो।
यसका लागि मन्त्रालयले २५ करोड रुपैयाँ विनियोजन गरेको छ। ‘कार्यविधिमा तोकिएको १४ वटा क्षेत्रका स्टार्टअप उद्यमहरूले कर्जाका लागि परियोजना पेस गरेका छन्,’ उनले भने। हालसम्मको मूल्यांकनले विशेषगरी कृषि तथा सूचना प्रविधिमा आधारित स्टार्टअपहरूको परियोजना बढी आएको देखिन्छ।
‘परियोजना प्रस्तावका आवेदनहरूको छनोटको प्रक्रियामा रहेको विभागकी सूचना अधिकृत रमिला भण्डारीले बताइन। उनका अनुसार छनोटमा परेका परियोजनाहरु कर्जा पाउन योग्य सिफारिस गरिने छ।
कर्जा प्रवाहका लागि सिफारिस गरिने र क्षेत्रगत हिसाबले पनि कति परियोजना परेको थाहा हुने तिवारीले बताए, ‘यो सबै प्रक्रिया पुरा भएर स्टार्टअपहरूले कर्जाको पहिलो किस्ता पाउन कम्तिमा एक महिना लाग्ने छ।’
स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि अनुसार कुनै पनि स्टार्टअपले बिना धितो तीन प्रतिशत ब्याजदरमा अधिकतम २५ लाख रुपैयाँसम्म सरकारबाट ऋण पाउने छन्। उद्योग मन्त्रालयले स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर सहुलियत ब्याजदरमा कर्जा तथा बिउ पुँजी उपलब्ध गराउने गरी कार्यविधिमा व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले कर्जा प्रवाह गर्ने बैंक तोक्नेछ। उक्त बैंकले सिफारिसको आधारमा दुई किस्तामा कर्जा प्रदान गर्नेछ। पहिलो किस्ता जारी गर्दा स्वीकृत रकमको बढीमा ५० प्रतिशतसम्म प्रवाह गर्नेछ। विभागको यो कर्जा बढीमा १०० जनालाई उपलब्ध गराउने योजना रहेको छ ।
कर्जा प्रवाह गर्नुअघि बैंकले कर्जा प्राप्त गर्ने तरिका, कर्जाको सीमा, किस्ता बुझाउनुपर्ने अवधि (सात वर्ष नबढाइ), कर्जा चुक्ताका लागि साँवा फिर्ता र ब्याज भुक्तानी अवधि तथा प्रक्रिया समेत उल्लेख गरी सम्झौता गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।
स्टार्टअप उद्यम कार्यक्रम व्यवस्थितरूपमा संचालन गर्न स्टार्टअप उद्यम कार्यान्वयन समिति गठन गरिने मस्यौदामा उल्लेख गरिएको छ। उक्त समितिले उद्यममा कर्जा प्रवाहको लागि मापदण्ड पुरा भएका नवउद्यमीबाट परियोजना प्रस्ताव आह्वान गर्ने, स्टार्टअप उद्यमको लागि कर्जा माग गर्ने, प्रस्तावित परियोजनाको विवरण तयार गर्ने, प्रस्तावित परियोजनाको मूल्यांकन र छनोटको काम गर्नेछ।