BIZMANDU
www.bizmandu.com

आइएमई अटोमोटिभद्वारा महिलालाई नि:शुल्क हेभी इक्युपमेन्ट अपरेटर तालिम, १५ जना सहभागी

२०८० बैशाख ७

आइएमई अटोमोटिभद्वारा महिलालाई नि:शुल्क हेभी इक्युपमेन्ट अपरेटर तालिम, १५ जना सहभागी
आइएमई अटोमोटिभद्वारा महिलालाई नि:शुल्क हेभी इक्युपमेन्ट अपरेटर तालिम, १५ जना सहभागी

काठमाडौं। आइएमई अटोमोटिभ एस्कर्टस्ले महिलाहरुलाई नि:शुल्क हेभी इक्युपमेन्ट अपरेटर, ब्याक हो लोडर, तालिम आयोजना गरेको छ।

Tata
GBIME

नेपाल उद्योग वाणिज्य महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबारदेखि सुरु भएको उक्त तालिमको उद्घाटन गरेका थिए।

ढकालले महासंघको अध्यक्षको रुपमा आफूले राखेका पाँचवटा प्राथमिकतामा सीपयुक्त जनशक्ति उत्पादन उच्च प्राथमिकतामा रहेको बताए। जनशक्तिलाई दक्ष बनाउन सकेमा उद्योग व्यवसायमा आवश्यक दक्ष जनशक्तिको अभाव पूरा हुने र वैदेशिक रोजगारमा जाँदा पनि प्रतिष्ठित र उच्च तलबमान पाउन सकिने बताए।

आफूले सीपमूलक तालिम र दक्ष जनशक्ति उत्पादन तथा विकासमा विशेष पहल लिने अध्यक्ष ढकालको भनाइ छ। अध्यक्ष ढकालले महिलालाई सीप दिएर दक्ष बनाउन सकेमा महिला सशक्तीकरणमा समेत विशेष योगदान पुग्ने धारणा राखे। उनले तालिमले सीप आर्जन गरी रोजगारीको अवसर पाउने र महिलालाई हेर्ने पुरातन सामाजिक सोचमासमेत परिवर्तन आउने बताए।

‘हामीले सवारी चालक भन्ने वित्तिकै पुरुषलाई बुझ्ने गर्छौं। तर समय बदलिएसँगै हेभी इक्युपमेन्ट अपरेटरमासमेत महिलाहरुले आफूलाई प्रमाणित गर्न सुरु गरिसकेका छन्। तपाईंहरु पनि त्यो पुरातन सोच र धारणालाई परिवर्तन गर्दै ब्याक हो लोडरको तालिममा सहभागी हुनुभएको छ। तपाईंहरुले राम्रोसँग तालिममा सहभागी भएर सीप सिकेर दक्ष बन्न भरपुर प्रयास गर्नु होला। यसले सीप सिकेर रोजगारी मात्र होइन महिला सशक्तीकरणमा पनि ठूलो प्रभाव पार्नेछ,’ ढकालले भने।

तालिममा सहभागी महिलाहरुलाई सुरक्षित र प्रभावकारीरुपमा ब्याक हो लोडर संचालन गर्न आवश्यक सबै किसिमका सीप तथा ज्ञान प्रदान गरिने बताइएको छ। तालिममा १५ जना महिलाहरु सहभागी छन्।