काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कंलकी-बल्खु सडकमा अनियमितताको आशंकामा छानबिन अघि बढाएको छ। सडक विभाग र काठमाडौं सडक डिभिजनले कलंकी-बल्खुको राम्रो रहेको सर्भिस लेन भत्काएर मर्मत अघि बढाएको थियो।
कुनै समस्या नआएको सडक कमिसनकै लागि भत्काएको आशंकामा आयोगले अनुसन्धान थालेको हो। डिभिजन कार्यालय प्रमुख नारायणप्रसाद निहुरेले अख्तियारले छानबिन थालेकाले मर्मतको काम रोकिएको बताए।
‘अहिले अख्तियारले नमुना संकलन गरेर लगेको छ। त्यहाँबाट कुनै जवाफ नआएसम्म कुनै प्रक्रिया अगाडि बढ्दैन,’ उनले भने। यो सडक मर्मतमा आफ्नो कुनै गल्ती नभएको भन्दै निहुरे उम्किन खोजेका छन्।
यसैगरी, चक्रपथ विस्तार आयोजनाकी इन्जिनियर सुमित्रा अधिकारीले अख्तियारले गुणस्तरका बारेमा अनुसन्धान गरेको बताइन्। आयोजनाले तीन वर्षमै सडकमा समस्या देखिएको भन्दै भत्काउन थालेको थियो। चिनियाँले बनाएको सडकमा कुनै समस्या नआएको तर नेपालले बनाएको सर्भिस लेनमा समस्या आएको बारेमा अख्तियारले छानबिन गरेको हो।
अख्तियार स्रोतका अनुसार १४ करोड रुपैयाँमा ठेक्का लगाएर कमिसन खाने दाउमा सडक भत्काएको हुनसक्ने विषयमा पनि छानबिन भइरहेको छ।
कलंकीदेखि बल्खुतर्फ आउँदा देब्रेतर्फ सर्भिस लेनको १.७ किलोमिटर खण्ड चक्रपथ सुधार आयोजनाले ३४ करोड १७ लाख ७० हजार रुपैयाँ खर्चेर निर्माण गरेको थियो।
तर, तीन वर्षमै सो सडकको ‘बेस स्ट्रक्चर फेलियर’ भएको तथा आवधिक मर्मत गर्नुपर्ने कारण देखाएर १३ करोड ८२ लाख रुपैयाँमा नयाँ ठेक्का लगाई काम समेत सुरू भइसकेको थियो। उक्त ठेक्का वर्ल्डवाइड पीआर एसके जेभीले पाएको हो।
पहिला सडक निर्माण गर्दा कसले डिजाइन गरेको थियो भन्ने कुराको अभिलेख चक्रपथ सुधार आयोजनाको कार्यालयमा छैन। चिनियाँ कन्स्ट्रक्सन कम्पनीले चक्रपथ बनाउनका लागि जुन डिजाइन गरेको थियो, सोही डिजाइनअनुसार काम भएको हुन सक्ने चक्रपथ विस्तार आयोजनाको भनाइ छ।
१.७ किलोमिटर सडक निर्माण गर्न १३ करोड ८२ लाख छुट्याइएको छ। नेपालमा सडक बनाउन प्रतिकिमि ४ करोड रुपैयाँ मात्र खर्च लाग्ने गरेको छ। अन्डर पास कल्भर्टहरु निर्माण गर्नुपर्ने सडकमा मात्र अलि धेरै खर्च लाग्छ।