BIZMANDU
www.bizmandu.com

कडा प्रतिबन्ध खारेज गरेसँगै चीनको व्यापार नाफामा उछाल, निर्यात तीब्र बढ्दा अर्थतन्त्र सुधारतर्फ

२०७९ चैत्र ३०

कडा प्रतिबन्ध खारेज गरेसँगै चीनको व्यापार नाफामा उछाल, निर्यात तीब्र बढ्दा अर्थतन्त्र सुधारतर्फ
This aerial photo shows shipping containers for export stacked at a port in Lianyungang, in China's eastern Jiangsu province on March 7, 2021, as the country's export growth jumped to the highest in over two decades according to official data shown on March 7. (Photo by STR / AFP) / China OUT


काठमाडौं। चीन सरकारको व्यापार नाफामा उल्लेखनीय वृद्धि भएको छ। चीन सरकारको निर्यातमा आएको सुधारका साथै आयातमा भएको संकुचनका कारण चीनको व्यापार नाफामा वृद्धि देखिएको हो।

Tata
GBIME
NLIC

बिहीबार चिनियाँ भन्सार प्रशासनले सार्वजनिक गरेको तथ्यांकअनुसार चीनको निर्यात मार्च महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.८ प्रतिशतले बढेको छ। मार्चमा चीनको निर्यातमा ७ प्रतिशतको गिरावट आउने अपेक्षा गरिएको थियो। 

मार्च २०२३ मा चीनको व्यापार नाफा गत वर्ष ४४.३५ अर्ब अमेरिकी डलरबाट बढेर ८८.१९ अर्ब अमेरिकी डलर पुगेको हो भने कमजोर घरेलु मागको बीचमा आयात अपेक्षितभन्दा कम १.४ प्रतिशतले घटेको हो।

गत फेब्रुअरीमा ६.८ प्रतिशतले गिरावट आएपछि निर्यातमा तीव्र रूपमा रिकभर भएको भन्सार प्रशासनको तथ्यांकले देखाएको छ। लगातार चार महिनाको गिरावटलाई तोड्दै चिनियाँ निर्यातमा तीव्र रूपमा रिकभर भएको छ।

गत जनवरीमा चीनले कोभिड नियन्त्रण गर्न कडा प्रतिबन्ध खारेज गरेसँगै विश्वको दोस्रो ठूलो अर्थतन्त्र सुधारोन्मुख देखिएको हो। अपेक्षित भन्दा राम्रो व्यापार तथ्यांकले सुधारोन्मुख चिनियाँ अर्थतन्त्रले राम्रो गति लिएको देखाएको छ।

साथै चीनको कारखाना क्षेत्रमा देखिएको तीव्र वृद्धिलाई बाहिरी मागमा भएको सुधारबाट भएको लाभका रुपमा पनि हेरिएको छ।

विगत तीन वर्षदेखि कोरोना महामारीले थलिएको चिनियाँ अर्थतन्त्रलाई सुधारको बाटोमा लैजानका लागि बढाएको सरकारी खर्चले पनि आगामी महिनाहरूमा आर्थिक वृद्धिलाई साथ दिने अपेक्षा गरिएको छ। (एजेन्सीको सहयोगमा)