काठमाडौं। आर्थिक मन्दी र बढ्दो महँगीको असर बजारमा देखिन थालेको छ। दैनिक उपभोग्य वस्तुमध्येको कुखुराको मासुको बिक्री ह्वात्तै घट्दा सर्वसाधारण महँगीको मारमा परेको तथ्यलाई थप बल पुगेको छ।
कुखुराको मासुको खपत ३५ प्रतिशतले घटेको राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जनाएको छ। कारोबार घटेपछि एक सातामै मासुको मूल्य पनि दुई पटक घटिसकेको छ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघका अध्यक्ष जंगबहादुर बिसीका अनुसार हाल जिउँदो कुखुराको मूल्य प्रतिकेजी २ सय ७० रुपैयाँ र उपभोक्ता मूल्य ३ सय ७५ रुपैयाँ कायम भएको छ। यसअघि जिउँदो कुखुराको मूल्य प्रतिकेजी ३ सय र मासुको मूल्य प्रतिकेजी ४ सय रुपैयाँ पुगेको थियो।
संघका अध्यक्ष बिसीका अनुसार बजारमा आर्थिक मन्दीले उपभोक्ताको क्रयशक्ति घट्दै गएपछि यसको असर खपतमा परेको हो। अन्य समयमा देशभर दैनिक करिब ८ लाख केजी कुखुराको मासु खपत हुने गरेको थियो। यसमध्ये उपत्यकामा ५ लाख केजी र बाहिरका जिल्लामा ३ लाख केजी खपत हुँदै आएको थियो।
गर्मी महिना लागेसँगै मासुको खपत कम हुने गरेपनि हाल कुखुराको मासुको खपत घट्नुको मुख्य कारण नै आर्थिक मन्दी रहेको अध्यक्ष बिसीले बताए।
उनी भन्छन्-‘स्कुल ,कलेजहरु चैत महिनामा बन्द हुने भएकाले त्यता मासुको प्रयोग हुँदैन। तर, होटल रेष्टुरेन्टहरुमा पनि पहिलेको जस्तो मासुको खपत भएको छैन। पहिलेभन्दा मासुको खपत ३५ प्रतिशतले घटेको छ। सर्वसाधारणको किन्ने क्षमतामा पनि कमी आएको हो।’
हाल बजारको माग अनुसार कुखुराको उत्पादन भइहरेको छ। तर भारतबाट ठूलो परिमाणमा तस्करी भएर आएको कुखुराका कारण स्वदेशी उत्पादन बिक्री हुन सकिरहेको छैन। हरेक वर्ष चैतमा ब्रोइलर कुखुराको मासु खपत घट्ने ट्रेन्ड नै रहेको पोल्ट्री व्यवसायी देव गिरीको भनाइ छ।
आर्थिक मन्दीका कारण १० देखि १५ प्रतिशत असर पोल्ट्री क्षेत्रमा परेको भ्याली कोल्ड स्टोरका संचालक हरिकृष्ण रावलले बताए।
‘खपत पहिले भन्दा थोरै कम हो । अहिले उत्पादन पनि कम छ। तर, कुखुराको मासुको खपत धेरै नै घटेको देखिएको छैन। सिजनअनुसार कुखुराको मासुको खपत र मूल्य तलमाथि हुने क्रम भइ नै रहन्छ।’- उनले भने।
बजारलाई पुग्ने कुखुरा नेपालमै उत्पादन भएपनि तस्करीका कुखुराले गर्दा मूल्य घट्दै गएको उनको भनाइ छ। तस्करीको कुखुरा बजारमा नआए स्वदेशी उत्पादनले राम्रो मूल्य पाउने समय रहेको संचालक रावलले बताए।