BIZMANDU
www.bizmandu.com

मुगु कर्णाली जलविद्युतको आवासगृह र कार्यालय भवन निर्माण हुँदै, जग्गा अधिग्रहण अघि बढ्यो

२०७९ चैत्र २७

मुगु कर्णाली जलविद्युतको आवासगृह र कार्यालय भवन निर्माण हुँदै, जग्गा अधिग्रहण अघि बढ्यो
मुगु कर्णाली जलविद्युतको आवासगृह र कार्यालय भवन निर्माण हुँदै, जग्गा अधिग्रहण अघि बढ्यो


काठमाडौं। १९०२ मेगावाटको मुगु कर्णाली जलविद्यत आयोजनाको आवास गृह र कार्यालय भवन निर्माण हुने भएको छ।

Tata
GBIME
NLIC

जिल्ला प्रशासन कार्यालय बाजुराले आयोजनाका लागि आवश्यक आवास गृह तथा कार्यालय भवन निर्माण गर्न जग्गा अधिग्रहण गर्न लागेको सोमबार जनाएको छ। साबिकको कोटिला गाविस-१ (हाल बुढीनन्दा-५) बिरसैनमा रहेको जग्गा तथा  त्यसमा रहेका घर, गोठ, टहरा लगायतका भौतिक संरचना र रुखविरुवा स्थायी रूपले अधिग्रहण गर्न लागिएको हो।

३५ दिनभित्र आफ्नो जग्गा प्राप्त नगर्नुपर्ने कुनै कारण भए उजुरी गर्न आग्रह गरिएको छ। प्राप्त गरिने जग्गाहरु रोक्का रहने हुँदा उक्त क्षेत्रमा कुनै पनि संरचना बनाउने वा थप्ने कार्य नगर्न/नगराउन सूचनामा आग्रह गरिएको छ। ६० जनाको नाममा रहेको जग्गा आयोजनाले अधिग्रहण गर्न लागेको हो।

यो आयोजनाको सम्भाव्यता अध्ययन विद्युत उत्पादन कम्पनी लिमिटेडले गरिरहेको छ। आयोजना हुम्लाको ताजाकोट गाउँपालिका, अदानचुली गाउँपालिका, सर्केगाड गाउँपालिका, जुम्लाको कनकासुन्दरी गाउँपालिका, सिंजा गाउँपालिका, मुगुको सोरु गाउँपालिका, खत्याड गाउँपालिका, कालिकोटको पताँला गाउँपालिका र बाजुराको हिमाली गाउँपालिका, स्वामी कार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका, बुढीनन्दा नगरपालिकामा प्रस्ताव गरिएको छ।

आयोजनाको कम्पनीले ६ महिनामा अध्ययन सक्ने लक्ष्य छ। जलाशय प्रकृतिको यो आयोजना निर्माणका लागि ४ खर्ब रुपैयाँ लाग्ने अनुमान छ। अध्ययन भइरहेकामध्ये सबैभन्दा ठूलो आयोजना हो।