BIZMANDU
www.bizmandu.com

सरकारले साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने बजेट ल्याउने

२०७९ चैत्र २५

सरकारले साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने बजेट ल्याउने
सरकारले साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने बजेट ल्याउने


काठमाडौं। सरकारले साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने गरी आगामी वर्षको बजेट निर्माण गर्ने भएको छ। शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले अर्थ मन्त्रालयमा अर्थमन्त्रीसँग गरेको छलफल कार्यक्रममा अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो बताएका हुन्।

Tata
GBIME
Nepal Life

उनले सरकारले आगामी बजेट बनाउँदा साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने विषयमा प्राथमिकता दिने बताए। उनले सरकारले साधारण खर्च घटाउने सम्भावना कम भए पनि खर्च नगरे पनि हुने खालका कार्यक्रमको खर्चलाई कटौती गर्ने उल्लेख गरे।

अर्थमन्त्री महतले आगामी बजेट निर्माण गर्दा मन्त्रालयगत धेरै आयोजनाहरुको माग आए पनि प्राथमिकताको आधारमा बजेटमा समेट्ने बताए। उनले सरकारको पुँजीगत खर्चमा समस्या देखिएको भन्दै खर्च गर्ने प्रणालीको विकास गर्नु आवश्यक रहेको बताए।

‘सरकारले साधारण खर्चमा अत्यधिक मितव्ययिता अपनाउनुपर्छ भन्ने पक्षमा छौं। धेरै मागहरु आए पनि धेरै कम गर्न कोशिस गर्छौं। साधारण खर्च कम गर्ने स्कोप अत्यन्त कम छ। सामाजिक सुरक्षा भत्तालगायतको खर्च कम गर्न सम्भव कम छ,’ उनले भने, ‘सरकारले खर्च नगरे पनि फरक नपर्ने क्षेत्रहरुमा मन्त्रालयले प्राथमिकताका साथ हेर्छौं। अहिले सरकारको पुँजीगत खर्चमा समस्या देखिएको छ।’

पूर्वाधार निर्माणका कार्य समयमा सम्पन्न नहुने, आयोजनाको कष्ट बढ्दै जाने र आयोजना महँगो हुन जाने परिस्थितिको अन्त्य गर्ने गरी सरकारले तयारी थालेको महतले बताए। सरकारको ध्यान पुँजीगत खर्च निश्चित समयमा खर्च गर्ने, सिमित स्रोतलाई धेरै आयोजनामा खर्च नगर्ने रणनीति रहेको महतको भनाइ छ।

‘पुँजीगत खर्च समयमा खर्च नहुनु, पूर्वाधार निर्माणका कार्य समयमा नहुनु, आयोजनाको कष्ट बढ्दै जाने र आयोजना महँगो हुन जाने परिस्थितिको अन्त्य गर्नको लागि पनि काम गर्न जरुरी छ,’ उनले भने, ‘सरकारको ध्यान पुँजीगत खर्च निश्चित समयमा खर्च होस् भन्नेमा केन्द्रित छ।’

त्यस्तै, अर्थमन्त्री महतले सरकारको राजस्व संकलनको अवस्था राम्रो नभएको बताए। उनले आयात प्रतिबन्ध, कोरोना महामारी, भूकम्प र अन्तर्राष्ट्रिय परिवेशको असरले मुलुकको राजस्व संकलन लक्ष्यअनुसार संकलन राम्रो नभएको बताए।

‘अहिले सरकारको राजस्वको अवस्था राम्रो छैन। प्रत्येक वर्ष सरकारले जीडीपी तथा अर्थतन्त्रका अन्य सूचकभन्दा राजस्वको लक्ष्य बढी राख्दै आएका छौं। नजिक नजिकको लक्ष्य प्राप्त पनि गर्दै आएका छौं,’ उनले भने, ‘चालु आर्थिक वर्षमा त्यो लक्ष्य प्राप्त नहुँदा के भयो भन्ने भएको छ। हेरक वर्ष बढी लक्ष्य राखे पनि करिब लक्ष्य प्राप्त गर्ने अवस्था सधै सहज हुँदैन। यो वर्ष आयात प्रतिबन्ध, कोरोना महामारीको अवस्था, भूकम्प र अन्तर्राष्ट्रिय परिवेशले पनि असर पारेको छ।’

यसैगरी, अर्थमन्त्री महतले आन्तरिक रुपमा लगानी वातावरणको समस्या, बैंकको ब्याजदर उच्च भएको कारण अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गरे।  उनले मौद्रिक नीतिका उपकरणहरु प्रयोग गरी बैंक तथा वित्तीय क्षेत्रका समस्या समाधान गरी लगानीको वातावरण बनाउने पक्षमा राष्ट्र बैंकसँग निरन्तर छलफल भइरहेको बताए।

‘विदेशबाट आयात गरिएका बस्तुले मूल्य निर्धारण हुन्छ। त्यसैले मूल्य वृद्धि नियन्त्रणलाई नै मुख्य विषय वस्तु बनाउँदा मौद्रिक नीतिका उपकरण प्रयोग गरे पनि नहुन सक्छ। किनकि आयात बढी हुने भएकाले बाह्य मूल्यको प्रभाव हुँदैन,’ उनले भने, ‘अहिलेको अवस्थालाई सरकारले केही मौद्रिक नीतिको उपकरण प्रयोग गरेर सहज बनाउन जरुरी छ। त्यसको लागि मन्त्रालयले राष्ट्र बैंकसँग पनि छलफल गरिरहेको छ।’

उनले बैंकको कर्जाको ब्याजदर कम गर्न सक्ने अवस्था भए बैंकहरुले सहयोग गर्नु आवश्यक रहेको बताए। अर्थसचिव तोयम रायले श्रम रोजगारको क्षेत्रमा रहेका सबैलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयमा केन्द्रित रहेको बताए। उनले सरकार अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता दिनसक्ने अवस्था नभएको बताए। उनले सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षा कोष मार्फत पाउने व्यवस्थामा जान आवश्यक रहेको बताए।

उनले सरकारले नाकामा हुने राजस्व चुहावट रोक्नको लागि सरकारले सम्बन्धित निकायहरुलाई निर्देशन दिएको बताए। नेपालमा खुल्ला सिमाना धेरै रहेकाले राजस्व चुहावट भइरहेको स्वीकार गर्दै उनले त्यसलाई नियन्त्रण गर्न सरकारको प्रयास रहेको बताए।