अन्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष एवं लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुन्। श्रेष्ठ महासंघको ५७औं वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार हुन्। चैत २८ र २९ गते काठमाडौंमा हुने साधारणसभामा श्रेष्ठ प्यानलनै बनाएर चुनावी मैदानमा छन्। चुनावी जोडघटाउमा व्यस्त रहेका श्रेष्ठलाई बिजमाण्डूका उन्नत सापकोटाले सोधे-वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गरिरहनुभएको छ। तपाईंहरु बुधबार तीनै जना प्रतिस्पर्धी पनि छलफलमा बस्नुभयो। उहाँले कार्यकाल छोट्याएर तीनै जनाले समेट्ने प्रस्ताव पनि गर्नुभयो। त्यो प्रस्तावमा तपाईंको धारणा के हो ?
मिल्ने भन्ने कुरा एकदमै राम्रो हो। मिलाएर लैजान सकियो भनेपनि राम्रै हो। तर, मिल्ने कुरामा आधार के त? किन, कसरी, कसको लागि, के गरेर भन्ने त हुन्छ नि। यो भन्दा नकारात्मक बोल्या जस्तो हुन्छ तर, वास्तविकता यही हो। त्यसको लागि त सुरुमा मापदण्ड बन्नु पर्यो। सबै सहमत हुनुपर्यो। त्यो भयो भने वातावरण बन्न सक्छ। विन-विन परिस्थितिमा वातावरण बन्न सक्छ।
यो पटकको चुनाव अनप्रेडिक्टेबल देखिएको छ। एउटा प्यानलबाट उठेको व्यक्ति अर्को प्यानलमा पुगेर सर्वसम्मत भनिरहेको छ। एउटा प्यानलको उपाध्यक्षको उम्मेद्वार अर्को प्यानलमा गएको छ। तपाइँहरुलाई चुनावसम्म आफ्नै टीम जोगाउन पनि मुस्किल छ होइन ?
परिवर्तनहरु त हुन्छ जहाँ पनि। चुनावको जोडघटाउ तथा खेलहरु हुन्छन्। सबैले खेल खेल्छन्। चुनाव भनेको दुईवटा कुरा छ। ‘इट्स अल अबाउट गेम एण्ड द नम्बर’। सम्भावना र अंक गणितको खेल हो। अहिले भएका परिवर्तनहरुले सम्भावनाको खेल के भयो, अंक गणितको खेल के भयो भन्ने कुरा हो।
सबैले आफ्नो प्रयासहरु गरिरहेका छन्। आफ्नै तरिकाले अघि बढिरहेका छन्। एउटा परिस्थिति थियो, फेरि नयाँ परिस्थिति निर्माण भयो। यस्तो प्रयासहरु जुन पनि चुनावमा हुन्छ। हाम्रो मात्रै होइन सबै ठाउँमा हुने चुनावमा यस्तो हुन्छ।
आफ्नो टीमबाट कोही जाला भन्ने फिलिङ छैन। सम्भावनाको खेल चुनावमा बनाउने हो। कोही गएर सबै सिधिन्छ भन्ने त छैन। त्यहाँ पनि सम्भावनाका खेलहरु बन्छन्। अंक गणितको नयाँ पक्षहरु आउँछन्।
तीनजना प्रतिस्पर्धी भएकाले पहिलो चरणमा नतिजा आउने सम्भावना छैन। दोस्रो चरणमा जाँदा चुनावी नतिजा आफ्नो पक्षमा पार्न सामदाम दण्डभेदकै (राजनीतिक, पैसा) नीति अख्तियार गर्नुपर्छ होला होइन ?
पक्कै हो, चुनाव भनेको जित्नुपर्यो। पहिलो कुरा मतदाताको मन जितेर चुनाव जित्ने हो। त्योसहित आवश्यकता अनुसार चुनाव जित्नलाई गर्नुपर्ने आवश्यक कामहरु सबैले गर्छन्। गर्नुपर्छ पनि। मत माग्ने हो, मत मागेर प्रतिनिधि बन्ने होइन कि मन मागेर प्रतिनिधित्व गर्ने हो। हामीले प्रतिनिधित्व गर्न चाहेका हौं। त्यसैले मनै माग्ने हो।
पछिल्लो साधारण सभापछि महासंघ आन्तरिक व्यवस्थापनमा नै बढी केन्द्रित भयो, खासगरी चुनाव केन्द्रित भएर। मुद्दा हेर्दा तपाईंहरुको देश बनाउने स्तरको देखिन्छ, तर महासंघभन्दा बाहिर निस्कन सक्नु हुन्न नि होइन?
यो त गलत आक्षेप हो। म स्वीकार गर्दिन। किनभने महासंघले गर्नुपर्ने आफ्नो कार्यहरु गरेको छ। समय अलिकति फेबरेल नभएको हो। कोभिड, युक्रेन युद्ध, देशको आर्थिक स्थितिको कारण समय फेबरेल नभएको हो। तर, तपाईंले भने जस्तो महासंघबाट बाहिर निस्केन होइन, बाहिर निस्किएरै काम गरेको छ। देखिने गरी नै काम गरेको छ। बुझिने गरी, सुनिने गरी नै महासंघले काम गरेको छ।
तपाईंले भनेको कुरामा म सहमत छैन। हामीले धेरै काम गरेका छौं। नेपाल उद्योग वाणिज्य महासंघबाट निजी क्षेत्रको गरिमा, महिमा बढाउने कार्यमा हामीले काम गरेका छौं। जे गर्नुपर्ने आवश्यकता थियो त्यो सबै काम गरेका छौं। बाहिर निस्कन सक्नुभएन भन्ने कुरामा हामी सहमत हुनै सक्दैनौं।
कुनै समय यस्तो थियो कि सरकार या विपक्षी दलले सुल्झाउन नसकेका मुद्दा समेत महासंघको ‘लिड’ मा समाधान हुन्थे। अहिले महासंघ माग गर्ने र धम्क्याउने भूमिकामा मात्र केन्द्रित भए जस्तो लाग्दैन?
हिजोको अवस्थामा जुन सरकार थियो त्यो स्थिर थियो। अस्थिरता थिएन। आज सरकार अस्थिर छ। आज देशमा जुन परिस्थिति निर्माण भएको छ त्यो महासंघले गरेर यो भएको हो र? होइन नि। अस्थिर राजनीतिले गर्दा देश यो अवस्थामा पुगेको हो। अस्थिर राजनीति, अस्थिर सरकार, अस्थिर नेतृत्वका कारण यो अवस्था आएको हो।
एकदमै रुमल्लिएको, अलमल्लिएको प्रशासन संयन्त्र, नसुल्झिएको राजनीतिकै कारणले उहाँहरुले हामीसँग सल्लाह लिने कुरालाई कहिल्यै प्राथमिकतामै राख्नु भएन। आर्थिक पाटो प्राथमिकतामा परेन। निजीलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने प्राथमिकता परेन। बजारलाई व्यवस्थित बनाउनुपर्छ भन्ने परेन। उपभोग वृद्धिसँगै आर्थिक वृद्धिदर हासिल गर्नुपर्छ भन्ने कुरा खाली भाषणमा मात्रै सीमित रह्यो। यी मुद्दाहरु बजेट भाषणमा मात्रै सीमित बने।
अर्को भनेको सरकारी निकायबीच नै समन्वय भएन। ८ प्रतिशतको आर्थिक वृद्धिदरको कुरा गर्ने तर ४ प्रतिशत पनि हासिल गर्न नसक्ने अवस्था छ। ८ प्रतिशत आर्थिक वृद्धिदर घोषणा गरेको एक महिनापछि मौद्रिक नीति आउँछ जसले भन्छ कि अर्थतन्त्र संकुचन छ।
उहाँहरु आफैं रुमल्लिनु भएको छ। उहाँहरु दिशाहीन हुनुभएको छ। आफैं आफ्नैमा अल्झेको छ। केही अघि २ महिनासम्म अर्थ मन्त्रालय नेतृत्वविहीन भयो। गत वर्ष १० महिनासम्म उद्योग मन्त्रालयमा नेतृत्व थिएन। सरकार नै कतिवटा बनिरहेको छ। कति छिटो छिटो सरकार परिवर्तन भइरहेको छ।
तपाईंले अघि भन्नुभएको थियो महासंघको काम बाहिर देखिएन भनेर, त्यसमा पनि यो कुरा आउँछ। हामीले हाम्रा कुराहरु त राखेका छौं। देखिने गरी हामीले हाम्रो भिजन डकुमेन्ट बनाएका छौं।
२०४८ सालदेखि खुला बजार अर्थतन्त्र आयो। पहिलो चरणको सुधारको आधारमा यो मुलुक आज बनिरहेको छ, ठिक छ। अहिले दोस्रो वा तेस्रो रिफर्म आउनुपर्ने थियो र होइन र? विश्वभर अर्थशास्त्रीहरुले भन्ने गरेका छन् त, प्रत्येक १०-१५ वर्षमा कुनै पनि मुलुकमा अर्थतन्त्र एकदमै माथि पनि जान्छ वा तल पनि खस्छ। हिट अप पनि हुन्छ डाउन पनि हुन्छ। त्यसैले हरेक १० देखि १५ वर्षमा रिफर्म हुनुपर्छ। तर, त्यो काम भएन।
भारतमा आर्थिक सुधारको कार्यक्रम अघि बढाइएको छ। नेपालमा के कारणले भएन? तरल र हाम्रो नसुल्झिएको राजनीतिले हो। संविधान बन्ने बेलासम्म तरल राजनीति भयो। पछिल्लो सात वर्ष नसुल्झिएको राजनीति नै सुधारको बाधक बन्यो। हामीले भिजन डकुमेन्ट सरकारलाई दिएको भनेको रिफर्मको लागि हो। १० वर्षमा १०० अर्बको अर्थतन्त्र र २२ लाखलाई रोजगारी दिन सकिन्छ भने आयात ५० प्रतिशतसम्म प्रतिस्थापन गर्न सकिन्छ भनेर मार्गचित्र बनाएर दिएका थियौ। त्यो त सरकारलाई हामीले ब्लू प्रिन्ट दिएको हो नि।
हिजोको दिनमा सरकारले हामीलाई के भन्थ्यो, फलानो ऐन संशोधन गर्न तपाईंहरुको केही सुझाव छ भने लेखि पठाइदिनु भनेर चिठी पठाउँथ्यो। आज चिठी मागेनौं। हामीले यो ऐन यसरी सुधार गर्नुपर्छ, यो गर्यो भने व्यवसायलाई यो फाइदा हुन्छ बकाइदा डकुमेन्ट बनाएर दिएका छौं। वे आउट नै दिएका छौं सरकारलाई। त्यसैले बाहिर हामीले गरेको काम देखिएन भन्नु गलत हो।
नसुल्झिएको राजनीतिले गर्दा हामीलाई शतप्रतिशत असर परेको छ। राजनीतिले अर्थतन्त्रलाई प्रश्रय दिएन। अर्थतन्त्रलाई प्राथमिकता शासकले पनि दिएन र प्रशासकले पनि दिएन। मारमा उद्योगी व्यवसायी परे। आज उद्योगी व्यवसायी मारमा पर्न लागे भन्दा भन्दै अर्थतन्त्र नै पर्न आटिसक्यो। किनभने साधारण खर्च पनि धान्न नपुग्ने अवस्था आएको छ। ऋणै ऋण लिएर खर्च टार्नुपर्ने परिस्थिति बनेको छ।
हामी निर्णयकर्ता होइनौं। हामी सरकारसँग अर्थतन्त्रको विषयमा प्रतिपक्षी भूमिका पनि खेल्छौं। हामी सल्लाहकारको भूमिका पनि खेल्छौं। हाम्रो त्यो भूमिकामा हामी चुकेका छैनौं।
२०५२ सालपछि बनेको सरकारले वैदेशिक ऋण कम गर्दै गएको देखिन्छ। तर, आन्तरिक ऋण आजको अवस्थामा बढ्दै जाने स्थिति आयो। खर्च धान्न ऋण लिनुपर्ने भयो। यो अवस्था केले गर्दा आयो भन्दा नसुल्झिएको राजनीतिले नै हो। हामीले धेरैपटक भनिसक्यौं तपाईंहरुको नसुल्झिएको राजनीतिलाई छिटो सुल्झाउनुस्, स्थिर सरकार ल्याउनुस्।
व्यवसायीको चुनाव आर्थिक एजेण्डामा आधारित हुनुपर्ने हो, तर राजनीतिक दलको प्रत्यक्ष हस्ताक्षेपमा हुँदैछ। तपाईंहरुलाई आफ्नो एजेण्डा, भिजनमा होइन राजनीतिक दलको तागतमा बढी विश्वास भयो है?
कहाँ देखिएको छ? खै हामीले त देखेका छैनौं। उद्योग वाणिज्य महासंघ विशुद्ध व्यवसायिक संस्था हो। हामी सबै राजनीति दलहरुसँगको सम्बन्ध र सम्पर्कमा हुन्छौं। सबै दलको तह र तप्कासँग सम्बन्ध र सम्पर्कमा निजी क्षेत्रको हकहितका निम्ति हुनुपर्छ। निजी क्षेत्रको व्यवसायिक वातावरण बनाउन, निजी क्षेत्रको लगानी सुरक्षा गर्नलाई हामी सम्बन्ध र सम्पर्कमा हुन्छौं। यसैका लागि हामी सधैं दलहरुसँग संवादमा हुन्छौं।
अब त्यसलाई राजनीतिक दलको सहयोग लियो, हस्तक्षेप भयो भनेर परिभाषित गर्नुपर्छ जस्तो त लाग्दैन मलाई।
तपाईं अहिले निर्वाचित हुनु भयो भने पनि तीन वर्षपछि मात्र कार्यकारी नेतृत्वमा पुग्नु हुन्छ। त्यसअनुरुप आगामी ६ वर्षका लागि तपाईंले महासंघमा देख्नु भएका सपना के हुन्?
सबैभन्दा पहिलो भनेको अहिलेको तत्कालीन समस्याहरु समाधान गर्नुपर्छ। जस्तै ब्याजदर, तरलता, बैंकमा लगानीयोग्य पुँजी छैन। हामीले पहिलो लगानीयोग्य पुँजीको व्यवस्थापन गर्नुपर्ने छ। यसका लागि सरकारलाई घचघचाउनु पर्नेछ।
केही नीति नियमहरु बनाउनुपर्ने होला। हेजिङको कुराहरु छ। बाहिरबाट प्राइभेट सेक्टरको लगानी ल्याउन सक्ने गर्नुपर्ने अवस्था छ। हाम्रो अर्थतन्त्रको आकारलाई थप विस्तार गर्नलाई हाम्रो आफ्नो पुँजीले मात्रै पर्याप्त छैन। साढे ९ प्रतिशत मात्रै पुँजी निर्माण भइरहेको छ। हाम्रो व्यवसायहरु सबै संकुचित भएको छ। उद्योगको उत्पादन छैन। बजारमा डिमान्ड नै छैन। मध्यम वर्गको आम्दानी नै घटिरहेको छ। यसलाई पहिला तत्कालै रिफर्म गर्नुपर्ने छ।
बजारमा कन्फिडेन्स बढाउनु छ। बजारमा पुँजी इन्जेक्ट गर्न जरुरी छ। यसमा काम गर्नुपर्छ। यो नगरी हाम्रो अर्थतन्त्र माथि जाने वाला छैन। विश्वभर मन्दी सन् २०२३/२४ को कुरा आइरहेको छ। तर, यता भारत र चीन हेर्यो भने मन्दीको कुनै असर नै छैन। उनीहरुको ग्रोथ आफ्नो गतिमा भइरहेको छ। किन गयो त भन्दा मध्यवर्गको आयस्तर बढेको छ। खपत बढेको छ। खर्च गर्ने क्षमता बढेको छ। अर्को कुरा भारतले आफ्नो पूर्वाधारमा लगानी एकदमै आक्रामक बनाएको छ। त्यसले गर्दा त्यहाँको अर्थतन्त्र चलायमान बनेको छ।
हाम्रोमा उल्टो काम भइरहेको छ। अर्थतन्त्रलाई संकुचन गराउने प्रयत्न भइरहेको छ। त्यसैले पहिला नीति परिवर्तन गराउन जरुरी छ। अर्थतन्त्रलाई रिभाइबल गर्नुपर्ने जरुरत छ। त्यसपछि व्यवसायलाई रिभाइबल गराउनु पर्नेछ। रिफाइनान्सिङ गरेर हुन्छ, रिसेड्युलिङ गरेर हुन्छ, ब्याजदर परिमार्जन वा घटाएर हुन्छ।
१०० रुपैयाँको व्यवसाय थियो, त्यो घटेर ३०-४० रुपैयाँ भएको छ। सबैको महँगी बढेर गइरहेको छ। मौद्रिक नीतिले महँगी बढाउने नै नीति अख्तियार गरेको छ नि। ब्याजदर पनि बढ्ने, लजिस्टिक पनि बढ्ने तर आफ्नो व्यापार भने घट्ने अवस्था आयो। त्यसकारण ब्याजदर धान्न सकिँदैन, सकिएन त्यसैले ब्याजदर घटाउन व्यवसायीले माग गरेका हुन्। ब्याजदर घटाउन काम गर्नुपर्नेछ। कुनै व्यक्ति सस्टेन भयो वा भएन भन्ने कुरा होइन अब बिजनेस सस्टेन गराउनुपर्यो। यो चुनौतीमा काम गर्नुपर्नेछ।
अर्को भनेको हाम्रो अर्थतन्त्रमा एउटा गजब पक्ष देखिएको छ। यही कारणले हाम्रो आर्थिक क्रियाकलाप कम हुन पुगेको छ। हाम्रो सक्रिय जनसंख्यामध्ये २९ प्रतिशत निष्क्रिय छ। पछिल्लो जनगणनाले यसलाई देखाएको छ। यो डर लाग्दो कुरा हो। त्यो जनसंख्यालाई सक्रिय बनाउनुपर्छ अब। त्यो पनि हाम्रो महत्वपूर्ण पुँजी हो।
ऐन नियमहरु परिवर्तन गराउनुपर्नेछ। त्यो हामीले भिजन डकुमेन्टमा पनि उल्लेख्य गरेका छौं। दीर्घकालीन रुपमा हाम्रो अर्थतन्त्र बलियो बनाउन उत्पादन वृद्धि, रोजगारी सृजना गर्नुपर्ने चुनौती छ। देश सधैं रेमिटेन्सको भारमा चल्न सक्दैन भन्ने देखिसकेको छ। देशभित्रै रोजगारी सृजना गर्नुपर्छ।
राष्ट्रिय उत्पादन बढाउनु पर्नेछ र उत्पादकत्व वृद्धि गराउनुपर्नेछ। हामीसँग भएको स्रोत जल, जंगल, जमिन र जनशक्तिको सही ढंगले भरपुर उपयोग गर्नुपर्नेमा हाम्रो जोड रहन्छ।
म वरिष्ठ उपाध्यक्ष भइरहँदा अध्यक्षलाई सघाइरहनेछ। जिल्ला उद्योग वाणिज्य संघ, वस्तुगत संघको साथीहरुलाई उद्योग वाणिज्य महासंघमा सक्रिय सहभागीता गराउन हरपल लागिरहनेछु। उहाँहरुलाई महासंघको अपनत्व गराउने गरी काम गर्नेछु। त्यसको ३ वर्षपछि नेतृत्व लिनको लागि आफ्नो भिजन, प्लानहरु तयार गर्नेछु।
चुनाव एक रणनीतिक प्रतिस्पर्धा पनि हो। तपाईंले जित्ने आधार के के हुन्?
संस्था भनेको गतिशील हुन्छ। म २० वर्षदेखि महासंघमा संलग्न छु। संस्थामा संलग्न भएर मैले उद्योग वाणिज्य क्षेत्र, राजस्व, रोगजारदाता क्षेत्रमा एकदमै गहन ढंगले काम गरेको छु। म समितिको सदस्य भएँ, सहसभापति भएँ, सभापति भएर काम गरेको छु। अहिले म वस्तुगत उपाध्यक्षको रुपमा कार्यरत छु।
उपाध्यक्षको रुपमा गरेको काम र अनुभवले सबै व्यवसायीहरुले मलाई अगाडि बढ्न प्रेरणा दिनु भएको छ। त्यही अनुभव, त्यही हौसला लिएर म अगाडि बढ्नलाई तयार भएर वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिइरहेको छु। मेलै सशक्त टीम बनाएको छु। ऊर्जावान टीम बनाएको छु। युवा टीम बनाएको छु। बुझेको टीम छ। सबैसँग मिलेर र मिलाएर लैजान सक्ने टीम छ। त्यसैकारण त मैले साझा उम्मेदवार बनाए एसोसिएटमा। हाम्रो टीमको मान्छे मिलाउन पनि सक्छ मिल्न पनि सक्छ।
आजको दिनमा निजी क्षेत्रको भूमिका ८० प्रतिशत छ। मुलुकको रोजगारीमा ८६ प्रतिशत योगदान छ। सन् २०४० सम्मलाई विश्वकै युवा जनशक्ति हामीसँग छ। यसैलाई प्रयोग गरेर देश विकास गर्न सक्छौं।
देशको विभिन्न परिस्थितिका कारण समस्या भोगिरहेको निजी क्षेत्रलाई जीवन्त बनाउनु छु। जीवन्त निजी क्षेत्रले मात्रै अहिलेका समस्या समाधान गर्न सक्छ। देश र समाज प्रति निजी क्षेत्र सधैं उत्तरदायी र जिम्मेवार छ। जिम्मेवार निजी क्षेत्रले मात्रै देशको पुनर्उत्थान गर्न सक्छ। त्यसैले हामी जिम्मेवार भएर प्रस्तुत हुन्छौं र निजी क्षेत्रलाई जिम्मेवार बनाउँछौं।
समस्या नै समस्याको परिस्थितिले घेरिएको अर्थतन्त्रलाई पुन: लयमा फर्काउनु छ। आर्थिक वृद्धि हासिल गर्नुछ। मुलुकमा समृद्धि ल्याउनुछ। त्यसका लागि जोसिलो, सशक्त टीम महासंघमा ल्याउनुपर्छ। त्यो जोसिलो टीम बनाएर हामी अघि बढिरहेका छौं। यो जोसिलो टीमले हामीलाई विजय गराउनुहुन्छ भन्ने विश्वास छ। सबै मतदाताको विश्वास लिएर हाम्रो टीम महासंघको नेतृत्व तर्फ उन्मुख हुन्छ भन्ने विश्वास छ।