BIZMANDU
www.bizmandu.com

लगानीकर्ताको राय सुझाव कार्यान्वयनमा लैजाने अर्थमन्त्रीको वाचा, सबैसँग सहकार्य गर्ने संकेत

२०७९ चैत्र २०

लगानीकर्ताको राय सुझाव कार्यान्वयनमा लैजाने अर्थमन्त्रीको वाचा, सबैसँग सहकार्य गर्ने संकेत
लगानीकर्ताको राय सुझाव कार्यान्वयनमा लैजाने अर्थमन्त्रीको वाचा, सबैसँग सहकार्य गर्ने संकेत


काठमाडौं। सेयर बजारको मास सेन्टिमेन्टलाई उकास्‍न अर्थमन्त्री प्रकाशशरण महतले लगानीकर्ताहरुको ‍राय सुझावलाई चाँडै कार्यान्वयनमा लैजाने बताएका छन्।

Tata
GBIME
NLIC

महतले सोमबार सेयर बजार प्रतिनिधिहरुलाई बोलाएर छलफल गरेका थिए। उनले सबै निकायसँग समन्वयसहित अघि बढ्ने प्रतिबद्धता जाहिर गरेको वार्तामा उपस्थित एक प्रतिनिधिले बिजमाण्डूलाई बताए। ‘खस्किएको मनोबललाई उकास्न उहाँ उत्सुक देखिनुभएको छ। दीर्घकालीन रूपमै स्थायित्व कायम गर्न समाधान खोज्छु भन्नुभएको छ,’ उनले भने।

भेटमा पुँजीबजार प्रतिनिधिहरुले अर्थमन्त्रालयले गर्नुपर्ने कामका लागि सुझाव दिएका थिए। ती सुझावमा अर्थमन्त्रीले सकारात्मक प्रतिक्रया दिएका थिए।

भेटवार्तामा सेयर बजारको वर्तमान अवस्था बारे नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले ब्रिफ्रिङ दिएका थिए। ‘छोटो वार्ता भए पनि अर्थमन्त्रीको प्रतिक्रिया सेयर बजारलाई दिगो रुपमा विकास गर्नुपर्छ भन्ने थियो। उहाँ अर्थतन्त्र र पुँजीबजार दुवै बारे अवगत हुनुहुन्छ,’ उपस्थित अर्का प्रतिनिधिले भने। अर्थमन्त्रीले अवस्थाअनुसार लगानीकर्ता प्रतिनिधिहरुसँग पुनः भेटवार्ता हुने वाचा गरेका छन्।

महासंघको फोरमका अध्यक्ष पौडेलको नेतृत्वमा गएको टोलीसँग अर्थमन्त्री महतले सोमबार बिहान आधा घण्टा परामर्श गरेका हुन्। कुराकानीमा अध्यक्ष पौडेलसँग ब्रोकर संघ, मर्चेन्ट बैंकर र लगानीकर्ता पनि सँगै थिए। सेयर बजारका प्रतिनिधिहरुले महतलाई विद्यमान समस्या बारे अवगत गराउँदै सक्दो छिटो समाधानमा जोड दिन सुझाए। 

मार्जिन ऋणमा १२ करोडको सीमा हटाउने र १५० प्रतिशत रहेको जोखिम भार १०० प्रतिशतमा झार्न आग्रह गरेका छन्। चुक्ता सेयर पुँजीको ४० प्रतिशत मात्र सेयर धितोको कर्जा दिन पाउने व्यवस्थालाई हटाएर कुल कर्जा लगानीको १० प्रतिशत धितो कर्जामा दिन पाउने व्यवस्था गर्नुपर्ने माग उनीहरुको छ।

ब्रोकरहरुमार्फत खरिद र मार्जिन लेन्डिङको लागि कर्जा उपलब्ध गराउन बैक वित्तीय संस्थाले स्रोत उपलब्ध गाराउन आग्रह गरे। प्रतिनिधिहरुले पुँजीगत लाभकरलाई पनि समायोजन गरिनुपर्ने तर्क अघि सारेका छन्। उनीहरुका अनुसार अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई २ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था हुनु आवश्यक छ।

यस बाहेक नितिगत एवम् संरचनात्मक सुधारलाई पनि प्राथमिकता दिन उनीहरुले राय दिएका छन्।