BIZMANDU
www.bizmandu.com

टिप्परका चालकले लागुऔषध प्रयोग गरेको भेटियो, राति सवारी जाँचमा प्रहरी फेरि सक्रिय

२०७९ चैत्र १८

टिप्परका चालकले लागुऔषध प्रयोग गरेको भेटियो, राति सवारी जाँचमा प्रहरी फेरि सक्रिय
टिप्परका चालकले लागुऔषध प्रयोग गरेको भेटियो, राति सवारी जाँचमा प्रहरी फेरि सक्रिय


काठमाडौं। उपत्यकाको सडकमा टिप्परलाई दिउँसो चलाउने अनुमति छैन। राति-राति चलाउन दिइएको टिप्परको गति जोखिमपूर्ण भएको गुनासो आउन थालेपछि जाँच थालेको प्रहरीले चालकलाई लागुऔषध प्रयोग गरेर चलाएको अवस्थामा फेला पार्न थालेको छ। यसपछि ट्राफिक प्रहरीले जाँच अझ बढाएको छ।  

Tata
GBIME
Nepal Life

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार राति मात्रै २१ सवारी जाँचमा चारवटामा चालकले लागुऔषध सेवन गरेको पाइएको छ। चारमध्ये दुई टिप्परका चालक छन् भने एकजना लहरी र एक ट्याक्सी चालक छन्।

कोटेश्‍वर क्षेत्रमा गरिएको चेकिङमा पक्राउ पर्नेमा बा५ख ८४५५ र बा४प ७३४७ नम्बरको टिपरका चालक दोलखाको मेलुङ-३ का २४ वर्षीय कुमार कार्की र काभ्रेपलाञ्चोकको पनौती-४ का ३३ वर्षीय विजय तामाङ छन्। बा१ज ८९६१ नम्बरको ट्याक्सीका चालक सिन्धुलीको कमलामाई-६ का २३ वर्षीय ईन्द्रबहादुर बस्नेत र वाग्मती प्रदेश-०३-००१ ख १००४ नम्बरको लहरीका चालक नुवाकोटको विदुर-४ का २६ वर्षीय अर्जुन लामा पनि लागुऔषध सेवन गरेर सवारी चलाएको अवस्थामा पक्राउ परेका छन्।

चारै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बानेश्‍वर पठाइएको छ। नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग कोटेश्‍वरको संयुक्त टोलीले शुक्रबार राति १० बजेदेखि २ घण्टामा २१ वटा सवारी साधन चेकजाँच गरेको थियो। त्यस क्रममा लागुऔषध सेवन गरेर सवारी चलाइरहेका ४ जना चालक फेला परेका हुन्।

मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आएको छ। पछिल्लो समय लागुऔषध समेत सेवन गरेर सवारी चलाउने भेटिन थालेपछि लागुऔषध चेकजाँचलाई अभियानका रुपमा अगाडि बढाइएको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए।