BIZMANDU
www.bizmandu.com

भारतबाट फर्किनेहरुमा कोरोना देखिएपछि सुदूरपश्चिमको सीमामा कडाइ

२०७९ चैत्र १७

भारतबाट फर्किनेहरुमा कोरोना देखिएपछि सुदूरपश्चिमको सीमामा कडाइ
भारतबाट फर्किनेहरुमा कोरोना देखिएपछि सुदूरपश्चिमको सीमामा कडाइ

काठमाडौं। भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेपछि सुदूरपश्चिमका नाकामा कडाइ गरिएको छ।

Tata
GBIME
Nepal Life

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।

भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा स्वदेश फर्किएकामा सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य परीक्षणमा कडाइ गरिएको हो।

भारतमा सङ्क्रमण तीव्ररूपमा फैलिरहेकाले नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको जोशीको भनाइ छ। चैत महिनायता मात्रै सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका ५८ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ।

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजिवी, गड्डाचौकी र त्रिनगर नाकामा परीक्षण जारी रहेको जोशीले बताए। सुदूरपश्चिमका यी सबै नाकामा नियमित कोरोना परीक्षण कार्य जारी रहेको छ।

उनले भने, ‘भारतबाट फर्किने अधिकांशमा सङ्क्रमण देखिन थालेपछि नाकामा थप कडाइ गरेका हौं।’

सीमा नाकामा परीक्षण गर्दा दैनिकरूपमा कोरोना सङ्क्रमण देखिरहेको समुदायस्तरमा पनि यसको जोखिम बढेको छ। भारतमा सङ्क्रमण देखिएका सहरसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक छ।

उनले भने, ‘’भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि जोखिम बढ्दै गएको छ, त्यसको रोकथाम र नियन्त्रणका सीमाक्षेत्रमै परीक्षणमा कडाइ गरेका छौँ।’

नाकामा हेल्थडेस्क स्थापना गरेर एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ। नयाँ वर्ष नजिक आइरहेका बेला प्राय: सबै नाकाबाट स्वदेश फर्किनेको सङ्ख्या पनि बढेको छ। स्वदेश फर्किनेको सङ्ख्या बढिरहेकाले जोखिम बढेकाले सीमामै परीक्षणपछि मात्रै आउन दिइएको जोशीले बताए।

उनले भने, ‘भारतमा दिनप्रतिदिन सङ्क्रमण फैलिरहेकाले सुदूरपश्चिम पनि जोखिममा छ। सीमामा स्वास्थ्य परीक्षण गरेरमात्रै भित्रिन दिएका छौं।’

सङ्क्रमितलाई सम्बन्धित पालिकाको समन्वयमा होमआइसोलेसनमा बस्न भन्ने गरिएको छ। जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नुका साथै खोप अभियानलाई पनि निरन्तरता दिइएको जोशीको भनाइ छ। प्रदेशभरि नै हाल ५५ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ।

जोखिम बढेपछि सीमा नाकाबाट स्वदेश फर्कनेलाई परीक्षणसँगै अनिवार्य मास्क लगाएरमात्रै भित्रिन दिने नियम बनाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख ४४ हजार ४५४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार ९२७ जनामा सङ्क्रमण भइसकेको छ। सङ्क्रमणकै कारण यस प्रदेशमा ६३५ जनाको ज्यान गइसकेको छ।

पछिल्लो समयमा कोरोना सङ्क्रमण दर फेरि बढ्दै गएपछि स्वास्थ्यका मापदण्ड अपनाउनसमेत आग्रह गरिएको छ। कोरोनाबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको निर्देशनालयले जनाएको छ। रासस