BIZMANDU
www.bizmandu.com

तरलता पुनः हराउँदै, १० बैंकको सीडी ९० प्रतिशतनजिक, ‘माग आए पनि पैसा छैन’

२०७९ चैत्र १७

तरलता पुनः हराउँदै, १० बैंकको सीडी ९० प्रतिशतनजिक, ‘माग आए पनि पैसा छैन’
तरलता पुनः हराउँदै, १० बैंकको सीडी ९० प्रतिशतनजिक, ‘माग आए पनि पैसा छैन’


काठमाडौं। नेपाल राष्ट्र बैंकको ‘वेबसाइट’ अनुसार, अहिले वाणिज्य बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८५ प्रतिशत हाराहारी छ।

Tata
GBIME
Nepal Life

यस हिसाबले बैंकहरुले सवा दुई खर्ब रुपैयाँभन्दा बढी ऋण लगानी गर्न सक्छन्। नियामकीय प्रावधान ९० प्रतिशतभन्दा निक्कै तल सीडी रेसियो अनुपात आउनुको अर्थ हो- प्रणालीमा लगानी योग्य पुँजी पर्याप्त छ।

राष्ट्र बैंकले हरेक दिन सार्वजनिक गरिरहेको सीडी रेसियोभन्दा बजारको अवस्था भने निकै फरक छ। राष्ट्र बैंकले सार्वजनिक गरेको सीडी रेसियो औसत हो।

बैंकरका अनुसार, २१ मध्ये १० वटा बैंकको सीडी रेसियो ९० प्रतिशत नजिक छ। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, विदेशी संयुक्त लगानीको स्ट्यान्डर्ड चार्डड बैंकलगायत केहीको मात्र सीडी रेसियो कम छ। बाँकीको पनि ८७ प्रतिशत हाराहारीमा सीडी रेसियो पुगेको छ।

‘तरलता पनि एक महिनाअघिको जस्तो सहज अवस्थामा छैन। सीडी रेसियो ९० प्रतिशत हाराहारी पुगिसकेको छ,’ हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बिजमाण्डूसँग भने, ‘बिस्तारै तरलतामा दबाब परिरहेको छ।’

केही समयअघिसम्म बैंकहरुले महँगो ब्याजमा दिएको ऋण नउठ्ला भनेर ऋण दिन चाहेका थिएनन्। अहिले भने सीडी रेसियो नै माथि पुगिसकेको छ।

राष्ट्र बैंकले ऋणपत्रबाट उठाएको पैसामा कडाइ गरे अधिकांशको सीडी रेसियो ९० प्रतिशत माथि पुग्ने बैंकहरुको अनुमान छ।

बैंकहरुले जारी गरेको ऋणपत्रका बारेमा राष्ट्र बैंकले केही समयअघि वर्गीकरण गर्न निर्देशन दिएको छ। ऋणपत्र स्रोतका लागि हो वा पुँजी कोषका लागि भनेर छुट्याउनु पर्छ।

अहिले बैंकहरुले स्रोत र पुँजी कोष दुवैमा ऋणपत्रको गणना गरिरहेका छन्। त्यही कारण पुँजी कोष पनि माथि देखिएको छ भने सीडी रेसियो पनि कम देखिएको छ।

उदाहरणका लागि कुनै बैंकले एक अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको छ। अब यो पैसा बैंकहरुले कि त निक्षेप (स्रोत) का रुपमा प्रयोग गर्नु पर्छ वा पुँजी कोषका रुपमा। अहिले बैंकहरुले एक अर्ब रुपैयाँलाई पुँजी कोष र निक्षेप दुवैतिर देखाएका छन्।

सीडी रेसियो गणना गर्नका लागि स्रोतमा देखाएको ऋणपत्र प्रयोग गर्न पाइन्छ। तर, सीडीमा देखाएपछि अब त्यो पुँजी कोषमा देखाउन पाइँदैन। अहिले एक अर्बलाई पुँजी कोषमा पनि देखाएर पुँजी पर्याप्तता अनुपातमाथि पुर्‍याइएको छ।

‘ऋणपत्र बाहेक पनि सीडी रेसियोमाथि उक्लिएको छ। प्रणालीमा भएको निक्षेप एक/दुई बैंकमा केन्द्रित भएका कारण बाँकी बैंकमा तरलता अभाव सुरु भइसकेको छ,’ एक बैंकका प्रमुख कार्यकारीले भने।

सीडी रेसियोलाई लिएर राष्ट्र बैंकले कारवाही समेत सुरु गरिसकेको छ। केही समयअघि मर्जरका कारण नबिल बैंकको सीडी रेसियो ९० प्रतिशत नाघेको थियो। उसलाई आर्थिक जरिवाना गरिएको छ।

साथै मर्जरमै गएको कुमारी लगायतका बैंकहरुमाथि पनि राष्ट्र बैंकले लठ्ठी नचाउन थालिसकेको छ। राष्ट्र बैंक सुपरिवेक्षण विभाग स्रोतका अनुसार, चार वटा बैंकको सीडी रेसियो तरलता बढेको भनिएको बेलामा समेत ९० प्रतिशत नाघेको छ।

सीडी रेसियो उक्लिन थालेका कारण बैंकहरुमा ऋणको माग आएपनि पैसा दिन सक्ने अवस्था छैन। राष्ट्र बैंकले पनि नियामकीय प्रावधानहरु अक्षरश पालना गर्न भन्दै छिसिक्क तलमाथि भएपनि कारवाही गर्ने जनाएको छ।

तरलता अभाव सुरु भएको संकेत राष्ट्र बैंकले पनि गरिसकेको छ। राष्ट्र बैंकले असार मसान्तसम्मको ऋणपत्र खरिद गरेर बैंकहरुलाई २५ अर्ब रुपैयाँ उपलब्ध गराएको छ। बिहीबार राष्ट्र बैंकले आउट राइट पर्चेजमार्फत २५ अर्ब रुपैयाँ उपलब्ध गराएको हो।

तरलता बढेर ब्याज दर घट्ने अपेक्षाका बीच पुन: अभाव सुरु भएको बैंकरको भनाइ छ। नेपाल राष्ट्र बैंकले नै पहल नलिइ ब्याज दरमा सुधार हुने देखिएको छैन। बजारमा तरलता पठाउनका लागि सरकारले पनि खर्च गर्नुपर्ने हुन्छ।

सरकार १० देखि १२ प्रतिशतको ब्याजमा ऋणपत्र बेचेर कर्मचारीलाई तलब खुवाइरहेको छ। राजस्व नउठेका कारण सरकार आफैं संकटमा परेका बेला तरलता बढ्ने अवस्था नरहेको बैंकरहरुको बुझाइ छ।