BIZMANDU
www.bizmandu.com

महिला सशक्तिकरणमा टाटाको नयाँ फड्को, फ्ल्यागशीप एसयुभी सफारी र ह्यारियर अब महिलाले मात्र बनाउने

२०७९ चैत्र १६

महिला सशक्तिकरणमा टाटाको नयाँ फड्को, फ्ल्यागशीप एसयुभी सफारी र ह्यारियर अब महिलाले मात्र बनाउने
महिला सशक्तिकरणमा टाटाको नयाँ फड्को, फ्ल्यागशीप एसयुभी सफारी र ह्यारियर अब महिलाले मात्र बनाउने

काठमाडौं। महिला सशक्तिकरणका लागि कदम चाल्न भारतमा टाटा मोटर्सले आफ्नो फ्ल्यागशीप एसयुभी सफारी र ह्यारियर गाडी निर्माणको सबै जिम्मा महिला कर्मचारीहरुलाई दिएको छ।

Tata
GBIME
Nepal Life

टाटा मोटर्सको पिम्प्री प्लान्टमा १५ सय महिला कार्यरत छन्। उनीहरुले हरेक दिन दुईसय ४० युनिट सफारी र ह्यारियरहरू एसेम्बल गर्छन्। टाटा मोटर्सले यो अवसरलाई महिला सशक्तिकरणको लागि गरेको पहलका रुपमा लिएको जनाएको छ।

एक रिपोर्टले ह्यारियर र सफारीलाई टाटा मोटर्सले उच्च मात्रामा निर्माण गर्न थालेको छ। यसले कम्पनीलाई पनि उच्च स्थानमा पुर्याउन मद्दत गरेको कम्पनीले जनाएको छ।

फेब्रुअरी २०२२ देखि यी दुई एसयुभीहरु सबै-महिला कर्मचारीहरुले एसेम्बल गरिरहेका छन्। अहिले ह्यारियर र सफारी एसेम्बली लाइनमा सबै महिला कर्मचारी रहेका छन्।

टाटा मोटर्सले स्नातक महिला कर्मचारीहरूका लागि प्राविधिक पाठ्यक्रम पनि उपलब्ध गराउँदै आएको छ।

टाटा मोटर्सका सबै महिला कर्मचारीले ब्रान्डका लोकप्रिय एसयूभीहरू एसेम्बल गर्नमा महत्त्वपूर्ण भूमिका खेलेका कम्पनीले जनाएको छ।

कम्पनीले यो निर्णय सन् २०२१ को अन्तमा लिएको भएपनि महिलाहरुले एसेम्बली गरेको पहिलो टाटा एसयूभी भने सन् २०२२ को फेब्रुअरीमा सार्वजनिक भएको थियो।

हाल कम्पनीको ओमेगा फ्याक्ट्री खण्डको एसेम्बली लाइनमा महिला कामदारहरुको संख्या १५ सय पुगेको र यो संख्या निरन्तर बढ्दै गइरहेको कम्पनीले जनाएको छ।

महिलाहरुको लागि तालिम

यस एसेम्बली लाइनमा दैनिक दुईसय ४० वटा ह्यारियर र सफारी उत्पादन गर्ने क्षमता रहेको छ। कम्पनीले बिभिन्न उमेर समूह र शिक्षित पृष्ठभूमिका महिलाहरूलाई तालिम दिँदै यस क्षेत्रमा अझ बढी प्रोत्साहन गरिरहेको जनाएको छ।

‘महिला कर्मचारीहरुको टोलीमा रहेका अधिकांश महिलाहरू हाईस्कूल सकेपछि हाम्रो टोलीमा आवद्ध भएका छन्। उनीहरूलाई एसेम्बली लाइनमा काम गर्न राम्ररी तालिम दिइएको छ। उनीहरूमध्ये केहीले डिप्लोमा कोर्स पनि गरेका छन्। एकचोटि उनीहरूले त्यो पूरा गरेपछि, उनीहरूसँग डिग्री कोर्स गर्ने विकल्प पनि हुन्छ। जसले उनीहरूको करियरलाई एकदमै फरक मार्गको लागि तयार गर्न सक्छ।,’ टाटा मोटर्स प्यासेन्जर भेहिकल लिमिटेडका उपाध्यक्ष मोहन सावरकरले भने।

कम्पनीले निर्माणलाई थप महिला-मैत्री बनाउन धेरै किसिमका परिवर्तनहरू गरेको जनाएको छ। उदाहरणका लागि, उपकरणको वजन कम गर्ने व्यवस्था मिलाएको छ। महिलाहरुले कसरी सहज रुपमा काम गर्छन् त्यही खालको उपकरण तथा अन्य व्यवस्था मिलाइएको कम्पनीका उपाध्यक्ष सावरकरले बताए।

टाटाले महिलाहरुका लागि प्रदान गरेको यो अवसर अविश्वसनीय भएको एक महिला कर्मचारीले बताइन्।

“टाटा मोटर्सले आफ्नो कम्पनीको दुईवटा फ्ल्यागशिप एसयूभीहरू निर्माण गर्ने हिस्सा महिलाहरुलाई जिम्मा दिनु पक्कै पनि हामी सबैका लागि गर्वको क्षण हो,’ ती महिला कर्मचारीले भनिन्, ‘टाटा मोटर्सले महिला कामदारका लागि विशेष गरी अन्डरबडी र मेकानिकलमा काम गर्नका लागि टुलिङ सेटअपमा परिवर्तन गरेको छ र यहाँ प्रदान गरिएका उपकरणहरू तुलनात्मक रूपमा हलुका छन्।’