BIZMANDU
www.bizmandu.com

चिनियाँ राजदूतसँगको त्यो भेट, जसले खड्काको अर्थमन्त्री बन्ने सपना भयो चकनाचुर

२०७९ चैत्र १४

चिनियाँ राजदूतसँगको त्यो भेट, जसले खड्काको अर्थमन्त्री बन्ने सपना भयो चकनाचुर
चिनियाँ राजदूतसँगको त्यो भेट, जसले खड्काको अर्थमन्त्री बन्ने सपना भयो चकनाचुर


काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई पन्छाउँदै अर्थमन्त्रीमा डा. प्रकाशरण महत पक्का भएका छन्।

Tata
GBIME
Nepal Life

पार्टीभित्र पकड भएका र प्रधानमन्त्री प्रचण्डसँग निकट सम्बन्ध बनाएका खड्कालाई पन्छाउन महतलाई सजिलो थिएन।

प्रधानमन्त्री प्रचण्ड समेत अहिलेको समीकरणलाई बलियो बनाउन खड्काले रोजेको मन्त्रालयनै दिन चाहन्थे।

प्रचण्डलाई मनाएपछि उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत आफू अर्थशास्त्र पढेको र अहिलेको संकटपूर्ण अर्थतन्त्रलाई पार लगाउन सक्ने भन्दै अर्थमन्त्री पाउनुपर्ने जिकिर गरेका थिए।

प्रचण्डको ग्रीन सिग्नल पाएपनि देउवाले भने मुख खोलेका थिएनन्। खड्कासँगै अर्थमन्त्रीको रेसमा महत थिए। उनी पनि पछिल्लो दुई सातादेखि सभापति देउवाको भाडाको निवासमा बिहानै पुग्थे र राति मात्रै फर्किन्थे। उनी प्रधानमन्त्री प्रचण्डसँग भने भेट्न गएनन्।

मुख नखोलेकै कारण महत देउवा निवास धाइरहेका थिए। तर, तीन दिन अघि मात्रै देउवाले महतलाई अर्थमन्त्री बनाउने बाचा गरेका थिए। त्यही बाचा अनुसार देउवाले सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर अर्थमन्त्रीमा महतलाई ल्याउने जानकारी गराएका थिए।

अर्थमन्त्रीबाट कसरी आउट भए खड्का ?

गत चैत ९ गते चिनियाँ राजदूत छन सङले खड्कालाई उनकै निवास गोल्फुटारमा गएर भेटे।

भेटमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा विस्तृत छलफल भएको भन्दै खड्काको सचिवालयले विज्ञप्ति पनि जारी गरेको थियो। यही भेट खड्कालाई महँगो बन्यो भने महतका लागि अर्थमन्त्रीको बम्पर उपहार हात लाग्यो।

उनले मुलुकको विकसित घट्नाक्रमलाई नजरअन्दाज गर्दै चिनियाँ राजदूत सङसँग भेटे। त्यो भू-राजनीतिक हिसाबले हेरियो। त्यसपछि जुनसुकै हालतमा खड्कालाई अर्थमन्त्रीको बागडोर नदिनका लागि त्यो समूह सक्रिय बन्यो।

स्रोतका अनुसार चिनियाँ राजदूतलाई भेटेसँग खड्कालाई बीआरआइको मिसन पूरा गर्ने राजनीतिज्ञको रुपमा भित्रभित्रै प्लट तयार भयो। त्यही प्लटका आधारमा अमेरिकी र पश्चिमाहरुले सभापति देउवालाई ब्रिफिङ गरे। देउवा अमेरिका निकट नेता मानिन्छन्।

देउवालाई मात्रै होइन प्रधानमन्त्री प्रचण्डलाई समेत खड्काका बारेमा ब्रिफिङ गरियो। यो ब्रिफिङपछि प्रचण्ड समेत झस्किए। त्यसपछि खड्कालाई अर्थमन्त्री दिन नहुने निर्णयमा पुगेका थिए। प्रधानमन्त्री प्रचण्ड समेत अहिले अमेरिकी निर्णय विरुद्धमा जानसक्ने अवस्था छैन। नेपालको पछिल्लो राजनीतिक गठजोडमा अमेरिकीहरुको प्रत्यक्ष भूमिका छ। नेपाली कांग्रेस र माओवादीबीचको समीकरण मिलाउन अमेरिकीहरुको भूमिका रहेको थियो। अमेरिकीहरुको प्रत्यक्ष सक्रियताका कारण खड्काको अर्थमन्त्री पद गुम्यो।

किन अमेरिकाले खड्कालाई रोक्न चाह्यो ?

खड्का अर्थमन्त्री हुँदा स्रोतको व्यवस्थापन गरेर पार्टी सभापति बन्नसक्ने ल्याकत राख्थे।

पैसाको जोहो गरेर भविष्यमा पार्टी सभापति भएमा आफ्नो अनुकुल निर्णय नहुने मात्रै होइन चिनियाँका आर्थिक सहयोगलाई धमाधम निर्णय गर्ने त्रास अमेरिकी पक्षलाई भयो।

‘खड्का गए चीनको पक्षमा सहयोग पुग्ने विश्वास अमेरिकीहरुले लिए। त्यही विश्वासका आधारमा उनीहरुले रोक्न ठूलै बल प्रयोग गरेका हुन्,’ कांग्रेसका एक नेताले बिजमाण्डूसँग भने, ‘उपसभापति जस्तो उपल्लो पदमा गएको व्यक्तिले अहिलेको राजनीतिक घटनाक्रमलाई बुझ्न नसक्दा समस्या भयो।’

अमेरिका पहिलादेखि नै खड्काको पक्षमा संशकित थियो। इराकमा अमेरिकाले हमला गरेको बेला तत्कालिन नेपाली कांग्रेस प्रजातान्त्रिकले विज्ञप्ति निकाल्न खोज्दा खड्काले अमेरिकाले हमला गर्नु गलत भन्ने अभिव्यक्ति बैठकमा दिएका थिए। स्रोतका अनुसार यो विषयलाई समेत अहिले बाहिर ल्याएर अमेरिकी पक्षलाई सक्रिय पारिएको थियो।

अमेरिकाले पछिल्लो समयमा चीनलाई कस्नकै लागि नेपालमा आफ्नो आर्थिकदेखि सामरिक सहयोग बढाउँदै लगेको छ। त्यही रणनीति अन्तर्गत अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत ६० अर्ब अनुदान सहायता अमेरिकाले दिइसकेको छ। यो सहयोगअन्तर्गत प्रसारणलाइन र बाटो निर्माण हुँदैछ।

विश्वका धेरै देशमा कार्यान्वयन हुन नसकेको एमसीसी अमेरिकाको लागि जीवनमरणको सवाल छ। त्यही भएर अमेरिकाले नेपालको राजनीतिमा प्रत्यक्ष हस्तक्षेप गरेको छ। चीन पनि अमेरिका भन्दा कम छैन। कुनै समय नेपालको राजनीतिप्रति चासो नै नराख्ने चीन हरेक राजनीतिक घटनाक्रममा सिधा उपस्थिति जनाउँछ।

र, अमेरिकी सहयोग रोक्न नेपालमा गैरसरकारी संस्था स्थापना गर्न लगाएर ठूलै धनरासी समेत दिन थालेको छ। एमसीसी संसदबाट अनुमोदन गर्न नदिन चीनले त्यस्ता समूहलाई राम्रै परिचालन समेत गरेको थियो। चीनले नेपालमा सहयोगको नाममा ऋणको पासोमा पार्दै लिएर गएको पनि छ।

रिङ बाहिर रहेका मिनेन्द्र पनि सक्रिय

खड्कालाई रोक्न डा. मिनेन्द्र रिजाल पनि भित्रभित्रै सक्रिय थिए। अहिले देउवाको कर्के नजरका कारण कांग्रेसको राजनीतिमा बाहिर रहेका मिनेन्द्र समेत खड्कालाई रोक्न ठुलै कसरत गरेका थिए।

संघीय निर्वाचनमा टिकट नपाएका र महामन्त्रीमा हारेका भएपनि मिनेन्द्रले खड्कालाई रोक्न जेजस्तो अस्त्रहरु थिए, ती सबै प्रयोग गरे। महाधिवेशनमा आफूलाई असहयोग गरेको र देउवासँग सम्बन्ध बिगारेको बदला उनले खड्कालाई अर्थमन्त्रीमा जान रोकेर लिए।