काठमाडौं। मिटर ब्याजीलाई कारबाहीको माग गर्दै आन्दोलनमा आएकाहरुले काठमाडौंका मेयर बालेनविरुद्ध नाराबाजी गरेका छन्। काठमाडौंको खुल्लामञ्च प्रवेश गरी आन्दोलन चर्काउने योजनामा पुगेकाहरुलाई नगरप्रहरीले गेटमै रोकेपछि उनीहरु मेयर बालेनविरुद्ध आक्रोशित बनेका हुन्।
महोत्तरीको बर्दिवासबाट हिड्दै (मार्च पास) गर्दै आएका पीडितहरु विभिन्न नारासहित आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले मिटर ‘ब्याजीलाई कारबाही गर’, ‘मिटर ब्याजविरुद्ध कानुन निर्माण गर’, ‘झुटा मुद्दामा गिरफ्तार गरिएकालाई रिहा गर’, ‘तमसुक व्यवस्था खारेज गर’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए।
यता काठमाडौं महानगरका मेयर बालेनले संघ सरकारसँग मिटर ब्याजीहरुलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। उनले आन्दोलित व्यक्तिहरुको मागमा एक्यबद्धता जनाउँदै समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।
‘महानगरको मेयरको हैसियतले आफ्नो कार्यक्षेत्रमा नपरे पनि मानवताको नाताले काठमाडौ बसुन्जेल पशुपति धर्मशालामा बास र खानाको व्यवस्थापन गर्न हामी तत्पर छौं। आज बिहानै उहाँहरुसँग सम्पर्क गरेर हामीले पशुपति जान आग्रह गर्यौं। तर, उहाँहरु खुल्लामञ्च मै बस्न खोज्नु भयो,’ मेयर बालेनले फेसबुक स्टाटसमार्फत भने, ‘हामीले सम्झाएर रत्नपार्कको शान्तीबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौं। उहाँहरुको मागप्रति एक्यबद्धता जनाउँदै नेपाल सरकार समक्ष समस्या समाधानको लागि जोडदार माग राख्दछौं।’