BIZMANDU
www.bizmandu.com

ट्‍वीटरले ब्लु टिक हटाएर भेरिफिकेसनको नयाँ सेवा थाल्दै, गोल्डेन टिकलाई मासिक हजार डलर

२०७९ चैत्र १२

ट्‍वीटरले ब्लु टिक हटाएर भेरिफिकेसनको नयाँ सेवा थाल्दै, गोल्डेन टिकलाई मासिक हजार डलर
ट्‍वीटरले ब्लु टिक हटाएर भेरिफिकेसनको नयाँ सेवा थाल्दै, गोल्डेन टिकलाई मासिक हजार डलर


काठमाडौं। ट्‍वीटरको गोल्डेन टिक (भेरिफाइड संकेत चिह्न) का लागि कम्पनीहरूले मासिक एक हजार अमेरिकी डलर बुझाउनुपर्ने भएको छ। गत डिसेम्बरमा सुरू भएको गोल्डेन टिक कम्पनीहरू वा व्यापार अकाउन्टहरू हकमा सार्वजनिक भएको थियो।

Tata
GBIME
NLIC

गोल्डेन टिकले उक्त ट्वीटर अकाउन्ट वास्तवमै सोही कम्पनीको हो भनेर ग्राहकलाई विश्वस्त पार्दै आएको छ। गोल्डन टिकको लागि एक हजार डलर बाहेक, अब कम्पनीहरूले आफ्नो ट्‍वीटर अकाउन्टसँग जोडिएका अन्य खाताका लागि प्रति महिना ५० डलर अतिरिक्त शुल्क तिर्नु पर्नेछ ।

यस बाहेक, ट्वीटरका सीईओ इलन मस्कले ट्वीट गर्दै अप्रिल १ तारिकबाट आफ्नो लिगेसी भेरिफिकेसन प्रोग्राम तथा चेक मार्क (टिक मार्क) बन्द गर्ने घोषणा गरेका छन्। यसअन्तर्गत ट्‍वीटरले प्रयोगक्रताको अकाउन्टबाट ब्लु टिक हटाउन सुरू गर्छ। कम्पनीले गत वर्ष नोभेम्बरमा आफ्नो भेरिफिकेसन नीति परिवर्तन गर्नुअघि लिगेसी ब्लु चेकमार्कहरू  प्रदान गरिएको थियो।

यसको असर सिधैं प्रयोगकर्ताहरूको ‘पाकेट’मा पर्ने भएको छ। तर, नि:शुल्क ब्लु टिक भएका प्रयोगकर्ताहरूले भने शुल्क तिरेर उक्त संकेत चिह्न कायम राख्‍न सक्नेछन्। तर, सो टिकबाट भेरिफाइडको ट्याग भने हट्नेछ। 

ट्‍वीटरले आफ्नो आम्दानी वृद्धि गर्न शुक्रबार सो घोषणा गरेको हो। मस्कले भेरिफाइड संस्थासँग आबद्ध जो कोहीको खाता स्वतः प्रमाणित हुने पनि बताए।

ट्‍वीटरले सुरु गरेको नयाँ भेरिफाइड अर्गनाइजेसन प्रोग्रामअन्तर्गत अब सबै ट्‍वीटर अकाउन्टहरू भेरिभाइड हुनेछन्। ट्‍वीटरका लाखौं त्यस्ता सब्सक्राइबर भएकाले कम्पनीहरूले गोल्डेन टिक प्राप्त गर्न प्रतीक्षा सूचीमा नै पर्न सक्नेछन्।

ट्‍वीटर बिजनेसका तर्फबाट एउटा ट्‍वीटमा लेखिएको छ, ‘हामी चाँडै नै कम्पनीहरूका लागि भेरिफिकेसन सेवा सुरु गर्नेछौं, जसलाई पहिले ब्लु फर बिजनेस भनेर चिनिन्थ्यो। ग्राहकको रूपमा, तपाईं र तपाईंको व्यवसायले हाम्रो सेल्फ-सर्भ एडमिनिस्ट्रेटिभ पोर्टलबाट बिजनेस अकाउन्ट र सम्बन्धित चिह्न प्राप्त गर्न सक्नुहुनेछ।’

ट्‍वीटरले जनवरीमा आफ्नो अपडेटेड अकाउन्ट भेरिफिकेसन प्रोग्राम सुरू गरेको थियो। त्यसपछि सबै भेरिफाइड अकाउन्टहरू गोल्डेन टिक, सरकार र सरकारी निकायहरूको लागि ग्रे टिक र आम नागरिकहरूको लागि ब्लु टिक गरि तीन रङ वर्गमा विभाजित गरेको थियो।

ट्वीटर ब्लु नोभेम्बर ९ मा चेक/टिक मार्क चिह्नसहित सुरु गरिएको थियो। तर, फेक अकाउन्टको संख्या बढेपछि २ दिनपछि यो सेवा रोकिएको थियो। हाल नयाँ ब्लु साइनअपहरू बन्द नै छन्।

मस्कको यी निर्णयहरूको पछाडिको मुख्य कारण भनेको मस्कले ट्‍वीटहरु खरिद गर्न लिएको भारी ऋण हो।  कम्पनीले दैनिक ३२ करोड घाटा बेहोर्दैछ । उनीहरु नयाँ मोडलबाट आम्दानी बढाउन खोज्दैछन्। भारी ऋण र  घाटासँगै जुध्दै गरेको ट्‍वीटरबाट ठूला विज्ञापनदाताहरूले हात उठाएपछि कम्पनी झन् नाजुक स्थितिमा पुगेको छ।