BIZMANDU
www.bizmandu.com

बीमा बजारमा मर्जरः चुक्ता पुँजीका आधारमा को बन्दै छ ठूलो कम्पनी ?

२०७९ चैत्र ११

बीमा बजारमा मर्जरः चुक्ता पुँजीका आधारमा को बन्दै छ ठूलो कम्पनी ?
Family Care And Protection


काठमाडौं। वित्तीय क्षेत्रमा सरकारका दुई नियमनकारी निकायले कारोबारी संस्थाको संख्या घटाउन दबाब बनाए। बैंकहरुलाई एकातिर राष्ट्र बैंक र अर्कातिर इन्स्योरेन्स कम्पनीहरुलाई बीमा प्राधिकरणको पुँजी वृद्धिको लगाम लाग्यो। बैंकहरु मर्जरमा गए, संख्या घट्यो। इन्स्योरेन्स कम्पनीहरुको पनि अवस्था त्यही भएको छ।

Tata
GBIME
Nepal Life

तर, यसले एकीकृत कम्पनीको चुक्ता पुँजी बढाएको त छ नै, उनीहरुको कार्य क्षेत्र र जिम्मेवारी पनि वृद्धि गरेको छ। पुँजी बढाउनै पर्ने बाध्यता आएपछि बीमा कम्पनी मर्जर भइरहेका छन। प्राधिकरणको दबाबपूर्ण नीतिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरु मर्जरमा गएका हुन्।

मर्जरले कम्पनीको चुक्ता पुँजी बढाएको छ। केहीका चुक्ता पुँजी मर्जरपछि पनि प्राधिकरणले तोकेको मापदण्डअनुसार पर्याप्त भइसकेको छैन। मर्जरको लहरले बीमा बजारमा कुन कम्पनी बलियो भन्ने लेखाजोखा सहज भएको छ। कम्पनीहरुलाई आफ्नो बजार बढाउन पर्याप्त रकमका आकर्षक पोलिसीहरु ल्याउन पनि सजिलो भएको छ।

पछिल्लोपटक मर्जरमा गएको जीवन बीमातर्फको सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनीले केही साताअघि एकीकृत कारोबार थालिसकेको छ। यस्तै सानिमा र रिलायन्स कम्पनीले बिहीबारदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन्। 

प्राधिकरणले पुँजी बढाएर कम्पनीहरुलाई सुदृढ र बलियो बनाउन चैत मसान्तसम्मको समयसीमा दिएको थियो। जीवन बीमा कम्पनीहरुलाई न्यूनतम ५ अर्ब पुर्‍याउन निर्देशन दिइएको छ। मर्जरको क्रममा रहेका ‍जीवन बीमा कम्पनीमध्ये दुई जोडाले एकीकृत कारोबार सुरु गरे पनि ५ कम्पनी तयारीमा छन्।

गुराँस, प्रिमियम, युनियन लाइफले वैशाखबाट एकीकृत कारोबार गर्ने तयारी गरिरहेका छन्। महालक्ष्मी र प्रभु लाइफ इन्स्योरेन्स कम्पनी पनि एकीकृत कारोबारको तयारीमा छन्।

मर्जरपछि को-को बन्दै छन् ठुला कम्पनी ?

विशाल व्यवसाय र खुद बीमा शुल्क आर्जनले इन्ड्रष्ट्रीकै अग्रणी छ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी। यसलाई टक्कर दिनेगरी चुक्ता पुँजी अरुले पुर्‍याउन सकेका छैनन्। मर्जरको प्रक्रियामा रहेका जीवन बीमा कम्पनीमध्ये पुँजीका आधारमा गुँरास, प्राइम र युनियन लाइफ इन्स्योरेन्स गाभिएर बन्ने कम्पनी बीमा क्षेत्रकै दोस्रो ठूलो बन्ने देखिएको छ।  

यी तीन बीमा कम्पनी १:१:१ अनुपातमा मर्ज हुन लागेका हुन्। बराबरी हैसियतमा मर्ज हुन लागेका कम्पनीको संयुक्त चुक्ता पुँजी ७ अर्ब ७२ करोड पुग्ने छ।

पुँजीका आधारमा मात्र होइन अन्यको तुलनामा यस कम्पनी जीवन बीमा कोष, महाविपत्ति कोष, जगेडा कोष र खुद बीमा शुल्क आर्जन गर्ने कम्पनीहरुमध्ये पनि यो कम्पनी बलियो बन्ने देखिन्छ।  

मर्जर पश्चात कम्पनीको जगेडा कोष १ अर्ब ११ करोडको हुनेछ भने जीवन बीमा कोष ४७ अर्बको बन्ने छ। एकीकृत वित्तीय विवरणअनुसार महाविपत्ति जगेडामा यस कम्पनीको ३१ करोड २५ लाख छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय तथ्यांक अनुसार यो कम्पनीले बीमाशुल्क आर्जनमा मर्जरमा रहेका अन्य कम्पनीहरुलाई उछिन्ने देखिन्छ। तथ्यांक अनुसार तीन कम्पनीको खुद बीमा शुल्क जोड्दा एकीकृतमा ७ अर्ब २८ करोडभन्दा बढी हुनेछ।

मर्जरपछि कसको पुँजी कति ?

हालसम्म पुँजीका आधारमा नेपालमा ठूलो बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स हो। यसको पुँजी पर्याप्त भएकाले अन्यसँग मर्जरमा जानैपर्ने अवस्था छैन। नेपाल लाइफको चुक्ता पुँजी ८ अर्ब २० करोड छ।

मर्जरका क्रममा रहेका जीवन बीमा कम्पनीहरुमध्ये गुराँस, प्राइम र युनियन लाइफ इन्स्योरेन्सबाहेक कुनै पनि कम्पनीको चुक्ता पुँजी प्राधिकरणले तोके अनुसारको पुग्दैन।  

जीवन बीमा समूहका महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफको मर्जरपछि एकीकृत चुक्ता पुँजी ४ अर्ब १० करोड पुग्ने छ। पुँजी मापदण्ड पुर्‍याउन कम्पनीलाई ९० करोड आवश्यक पर्छ।

पुस मसान्तको तथ्यांकलाई आधार मान्दा १ बराबर १ अनुपातमा मर्ज हुन लागेका यी कम्पनीहको जगेडा तथा कोषमा ९२ करोड, जीवन बीमा कोषमा ६ अर्ब १९ करोड रहने छ।

यस्तै सानिमा लाइफ र रिलायन्स लाइफको एकीकृत चुक्ता पुँजी ४ अर्ब १८ करोड पुग्ने छ। मर्ज भएर गत पुसदेखि एकीकृत कारोबार समेत थालेको सूर्यज्योति लाइफको पनि चुक्ता पुँजी पुगेको छैन। उक्त कम्पनीको एकीकृत पुँजी ४ अर्ब ५४ करोड छ।

यी कम्पनीहरुले हकप्रद सेयर तथा विभिन्न धितोपत्र निष्कासन गरि पुँजी संकलन गर्ने काम गरिरहेका छन्।