BIZMANDU
www.bizmandu.com

चक्रपथ विस्तारः दोस्रो खण्डमा पहिलोका गल्ती दोहोरिदैन ? चिनियाँसँग सुरु भयो डिजाइन वार्ता

२०७९ चैत्र ११

चक्रपथ विस्तारः दोस्रो खण्डमा पहिलोका गल्ती दोहोरिदैन ? चिनियाँसँग सुरु भयो डिजाइन वार्ता
चक्रपथ विस्तारः दोस्रो खण्डमा पहिलोका गल्ती दोहोरिदैन ? चिनियाँसँग सुरु भयो डिजाइन वार्ता

काठमाडौं। चक्रपथ विस्तारमा पहिलो खण्डको जस्तो गल्ती नदोहोर्‍याउन दोस्रो खण्डको डिजाइनका लागि ‘टेबल टक’ सुरु भएको छ।

Tata
GBIME
Nepal Life

काठमाडौं चक्रपथ विस्तारको योजनामा दोस्रो खण्डको काम अघि बढेको छैन। ठेक्का चिनियाँ कम्पनीले पाएको छ। त्यसको त्रुटिरहित डिजाइनका लागि छलफल अगाडि बढाइएको काठमाडौं चक्रपथ सडक विस्तार योजनाले जनाएको छ। अहिले यो खण्डको लागि डिजाइनका विषयमा चिनियाँ टोलीसँग सडक विभाग छलफलमा छ।

विभागले २०७५ सालमा नै विस्तारको काम हुने कलंकी-बालाजु-महाराजगञ्ज खण्डमा पहिलो खण्डको जस्तो प्राविधिक त्रुटि नहोस् भनेर डिजाइन नै वैज्ञानिक बनाइदिन आग्रह गरेको थियो। पहिलो खण्डमा सडकमा डिभाइडर थिएन, ग्रिनरी थिएन, सडकबत्ती र पर्याप्त जेब्रा क्रस र आकासे पुल पनि थिएन। न तिनमा साइकल लेन चाहिएला भनेर डिजाइन गरिएको थियो।

सडक विस्तार योजना सकिएपछि ती सबै खाँचोमाथि गम्भीर बहस भए। राम्रो बनेन भनेर आलोचना हुँदा चिनियाँ टोली रुष्ट भएको थियो। सडक विभागसँगकै समन्वयमा काम गर्दा पनि आलोचना हुनुलाई उनीहरुले राम्रो मानेका थिएनन्। यसपटक विभाग सतर्क भए पनि छलफल थाल्न केही ढिला गरेको छ।

योजनाकी इन्जिनियर सुमित्रा अधिकारीले भनिन् ‘यो खण्डको लागि पहिलोमा भएको जस्तो मिस्टेक नहोस् भनेर डिजाइन परिवर्तन गर्नका लागि चिनियाँ टोलीसँग छलफल भइरहेको छ।’ विभागमा चिनियाँ टोलीसँग महानिर्देशक, सचिव, योजनाकी प्रमुख, अन्य सम्बन्धित निकायका प्रमुखहरुले छलफल गरिरहेको उनले बताइन।

डिजाइन चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीका प्राविधिक टोलीले गरिरहेको छ। उनले भनिन्, ‘नेपाली पक्षले भनेजसरी डिजाइन बन्छ वा बन्दैन भन्ने टुंगो लागिसकेको छैन।’

अधिकारीका अनुसार पहिलो खण्डमा भएको जस्तो समस्या यो दोस्रो खण्डमा नहोस् भनेर डिजाइनमा केही परिवर्तन गर्न नेपाली पक्षले छलफल गरिरहेको हो। दुवै पक्षको सहमति भएपछि मात्र डिजाइनको काम सुरु हुने उनी बताउँछिन्।

‘उनीहरुले तयार पारेको डिजाइनमा केही परिवर्तन गर्नुपर्ने नेपाली पक्षको माग छ,’ उनले भनिन्, ‘डिजाइनमा परिवर्तन गर्नुपर्ने प्रस्ताव यसअघि नै पठाइएको थियो। तर, उनीहरुले जवाफ नदिएकाले अहिले टेबल टक गरिएको हो।’

अधिकारका अनुसार चिनियाँ टोलीले बनाएको डिजाइन पहिलो खण्डमा जे-जे थियो त्यही नै छ। ‘यसमा केही परिमार्जन गर्नु पर्छ भन्ने नेपाली पक्षको माग हो। छलफल भइरहेको छ। उनीहरुले यसमा के गर्न सकिन्छ भन्ने कुराको निचोड र निर्णय गरेका छैनन्,’ उनले भनिन्।

यसका लागि केही समय लाग्ने उनको भनाइ छ। त्यसपछि मात्र डिजाइनको काम सुरु हुन्छ र निर्माण लागत, कहाँ के निर्माण गर्ने, कहिलेदेखि भौतिक रुपमा काम सुरु हुन्छ भन्ने कुरा थाहा हुने अधिकारीले बताइन।

के थियो पहिलो खण्डमा त्रुटि ?

चक्रपथ पहिलो खण्ड विस्तार गर्दा सडक मात्र राम्रो भएको थियो तर सडकमा हुनुपर्ने मापदण्ड र अन्य केही पाटोहरु डिजाइनमा समावेश थिएन।

यो खण्डमा आकाशेपुल राख्‍नेदेखि जेब्रा क्रसिङ लगायतमा समस्या थियो। जसका कारण यो सडक मान्छेमैत्री नभएको पूर्वाधार विज्ञहरुको पनि भनाइ छ।

साथै, नेपाल सरकारले धेरै त्रुटि देखिएको भन्दै चिनियाँ टोलीलाई अर्को खण्डमा यस्तो नहोस् भनेर डिजाइन सच्याउन आग्रहसमेत गरेको थियो।विभागका अनुसार पहिलो खण्डमा लिंक रोडहरुलाई सहज हुने गरी डिजाइन गरिएको थिएन। यस्तै, चोकहरुमा दायाँबायाँ जानेको लागि छुट्टै लेन डिभाइड हुनुपर्ने तर कतिपय चोकमा त्यस्तो डिजाइन गरिएको छैन।

उदाहरणका लागि बालकुमारीबाट सातदोबाटोतर्फ आएको गाडी घुमाउनुपर्‍यो भने ठाउँ नै छैन। चोकमा पुगेपछि दुई लेनको सडक तीन लेनमा बदलिनुपर्ने हो। तर, दुई लेन मात्र राखेका कारण लगनखेल जाने र चक्रपथमा चल्ने गाडीहरु एउटै लेनमा थुप्रिन्छन्।

यसैगरी, चक्रपथमा सार्वजनिक सवारी धेरै संचालन हुने भएकाले बस बसौनीको आवश्यक पर्छ। तर, पहिलो खण्डको सडकमा यसका लागि कतिपय स्थानहरुमा बस बिसौनीका लागि केही डिजाइन गरिएको थिएन।

अहिले संचालन भइरहेको उक्त सडकमा जेब्रा क्रसिङ निकै कम छन्। कोटेश्वर, ग्वार्को चोक, सातदोबाटो, एकान्तकुना, बल्खु र कलंकीमा मात्र जेब्रा क्रसिङ बनाइएको छ। बाँकी प्रमुख चोकहरुमा जेब्रा क्रसिङ नै छैन। साथै, ट्राफिक लाइटको पनि कमी भएको ट्राफिक प्रहरीको भनाइ छ।

यसैगरी, लिंक रोडहरुलाई पनि कनेक्ट गर्ने गरी डिजाइन निर्माण गरिएको छैन। अहिले यसले पनि पहिलो खण्डमा समस्या आइरहेको छ।

साइट क्लिरेयन्स पुरा

अधिकारीका अनुसार दोस्रो खण्ड विस्तारमा देखिएका समस्याहरु समाधान भएका छन्। ‘अहिले यो खण्डमा साइट क्लियर छ,’ उनले भनिन्।

योजना कार्यालय गत मंसिर १६ मै उक्त खण्डमा पर्ने मन्दिर, रूख, अस्थायी प्रहरी चौकी, घरटहरालगायत संरचना हटाउन भन्दै सूचना निकालेर साइट क्लिरेयन्सको काम सम्पन्न गर्न अग्रसर थियो। त्यहीअनुसार संरचना हटाउने काम सकिएको अधिकारीले बताइन।

‘ढिलै भए पनि अहिले हामीले साइट क्लियर गर्ने काम सकेका छौं,’ उनले भनिन्।

यसैगरी, साइट क्लियर गर्ने कामका सम्बन्धि निकायको साइट निरीक्षण पनि भएको थियो। उक्त निरीक्षणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, चिनियाँ राजदूत, महानगरका प्रमुखलगायत पनि सहभागी भए थियो।

यो खण्डमा अहिले सर्भिस लेन निर्माण गर्ने काम धमाधम भइरहेको छ। अन्य निर्माण कार्य चिनियाँ सरकारले गर्ने भए पनि सर्भिस लेन र मुआब्जा वितरण गर्ने काम नेपाल सरकारको लगानीमा हुने भएकाले यसको काम अहिले भइरहेको अधिकारीको भनाइ छ। ‘यसका लागि सरकारले १ अर्ब बजेट छुट्याएको थियो। त्यसैबाट अहिले यो खण्डको ढल र सर्भिस लेन निर्माण गर्ने काम भइरहेको छ,’ उनले भनिन्।

चक्रपथ विस्तारअन्तर्गत नेपाल सरकारले चीनसँग कलंकीदेखि चाबहिलस्थित धोबीखोला पुलसम्मको ११.६ किमि सडक नै विस्तार गर्न आग्रह गरेको थियो। चीनसँग सन् २०१८ मा भएको जीटूजी सम्झौतामा भने बसुन्धरासम्म मात्र सडक विस्तार गर्ने उल्लेख छ।

सोहीअनुसार चीनले कलंकीदेखि बसुन्धरा कल्भर्टसम्मको ८.२ किमि खण्डको मात्रै काम गर्ने भएको छ। यसमा पनि महाराजगन्जको २ सय ४४ मिटर खण्डमा भने मुआब्जा वितरणको अझै समस्या रहेकाले उनीहरु अहिले बसुन्धरासम्म मात्र सडक विस्तारको काम गर्न तयार भएका अधिकारीले बताइन।

बाँकी काम तेस्रो चरणको चक्रपथ विस्तारमा समेट्ने सडक विभागले जनाएको छ। नेपाल सरकारले दोस्रो चरणमै कलंकीदेखि धोबीखोला (चाबहिल) सम्म निर्माण गर्न माग गरेको थियो। तर चीनले भने यसलाई तेस्रो खण्डमा काम गर्ने उल्लेख गर्दै आएको छ।