काठमाडौं। मर्जरपछि एकीकृत कारोबार गर्न लागेका दुई जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का हुने भएको छ।
रिलायन्स र सानिमा लाइफले बिहीबारदेखि सेयर कारोबार रोक्का गर्न लागेका हुन्। मंगलबार बसेको संचालक समितिले कारोबार रोक्का गर्ने निर्णय गरेको हो।
मर्जरपछि बनेको नयाँ कम्पनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ।यसको प्रधान कार्यालय नयाँ बानेश्वर रहने कम्पनीहरुले जनाएका छन्।
हाल रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर मूल्य ३९४ रुपैयाँ छ। सानिमा लाइफको सेयर मूल्य ४०२ रुपैयाँ छ। मर्जरका लागि दुवै कम्पनीले गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। १:१ को स्वाप अनुपातमा मर्जर गर्न लागेका यी कम्पनीले फागुन १२ गते साधारणसभाबाट मर्जरको प्रस्ताव पारित गरेका थिए।
हाल रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड र सानिमा लाइफको २ अर्ब रुपैयाँ छ। मर्जरपछि चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ।