BIZMANDU
www.bizmandu.com

लघुवित्त विरुद्धको आन्दोलन चर्किदा लघुवित्त कम्पनीको सेयरमा पहिरो, कुन कम्पनीको कति घट्यो ?

२०७९ चैत्र ७

लघुवित्त विरुद्धको आन्दोलन चर्किदा लघुवित्त कम्पनीको सेयरमा पहिरो, कुन कम्पनीको कति घट्यो ?
लघुवित्त विरुद्धको आन्दोलन चर्किदा लघुवित्त कम्पनीको सेयरमा पहिरो, कुन कम्पनीको कति घट्यो ?


काठमाडौं। सेयर बजार घटोस् या बढोस् लघुवित्त कम्पनीहरुका सेयरमा लगानीकर्ताको आकर्षण सदाबहार नै उस्तै रहन्थ्यो। ७० प्रतिशतसम्म लाभांश बाँड्ने भएकाले लघुवित्त कम्पनीहरु ब्लुचिपमा समेत गन्ती हुने गरेका थिए। तर, यो रौनक अहिले घटेको छ।

Tata
GBIME
Nepal Life

यसका दुई प्रमुख कारण छन्। पहिलो, बलियो कारण केही महिनाबाट चर्किएको लघुवित्तविरुद्धको आन्दोलन हो भने दोस्रो कारण मनपरी लाभांश बाँड्ने प्रवृतिमा राष्ट्र बैंकले लगाएको लगाम हो। लगानीकर्ताको आकर्षण घट्दा स्टक कारोबारको सूचीमा अहिले लघुवित्तका सेयरको भाउ क्रमिक खस्किएको छ।

करिब डेढ वर्षदेखि सुरु भएको लघुवित्तविरुद्धको आन्दोलन गत पुस अन्तिमदेखि निकै चर्किएको थियो। कुनै समय ग्रामीण क्षेत्रमा चमत्कारिक परिवर्तन गरेका लघुवित्त कम्पनीहरु नाफा कमाउने होडबाजीले मिटरब्याजी जस्ता भए भन्ने आलोचना नियामक निकायबाटै भइरहेको छ।

उत्पादन तथा प्रशोधन कम्पनीबाहेक बम्पर लाभांश वितरण गर्ने लघुवत्त कम्पनीहरु हुन्। तर, करिब एक महिना अघिबाट राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको लाभांश वितरणमा कडाइ गर्‍यो। लघुवित्त कम्पनीहरुलाई निर्देशन जारी गर्दै वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गरे जगेडामा रकम सञ्चित गर्नु पर्ने व्यवस्था गरेको हो।

सेयर मूल्यलाई प्रभाव पार्न लघुवित्त वित्तीय कम्पनीहरुले लोभलाग्दो लाभांश वितरण गरेको राष्ट्र बैंकको आरोप थियो। तसर्थ सो निर्देशन जारी भएपछि लघुवित्तहरुको सेयर मूल्यमा पहिरो नै गयो।

त्यसयता यस्ता कम्पनीहरुको सेयर मूल्य निरन्तर घटिरहेको छ। सेयर बजारमा सूचीकृत सबैजसो लघुवित्त कम्पनीहरुको सेयर मूल्य पछिल्लो ४३ कारोबार दिनयता घटेको छ।

मूल्य सर्वाधिक घट्ने कम्पनीमा धौलागिरी लघुवित्त छ। यो अवधिमा धौलागिरीको सेयर मूल्य ४५ प्रतिशतसम्म घटेको छ। यस्तै सृजनशील लघुवित्तको ४२.९४ प्रतिशत र ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य ३८ प्रतिशतसम्म घटेको हो।

इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल राष्ट्र बैंकले लाभांशमा लगाएको अंकुशका कारण लघुवित्तका सेयरको मूल्य घटेको बताउँछन्। ‘लघुवित्त कम्पनीहरु एक हिसाबले ब्लुचिप चाहिँ हुन्। तर राष्ट्र बैंकले लाभांशमा अंकुश लगाइदिएपछि यस्ता कम्पनीप्रति लगानीकर्ता निराश भएका छन्,’ उनले भने।

लाभांशमा क्याप लाउने बित्तिकै लघुवित्तहरुले लाभांश वितरण गर्छन् भन्ने आकर्षण नै घटेको उनले बताए। ‘पहिलाको तुलनामा लघुवित्तहरुको नाफा र लाभांश नै घट्न थालेको छ,’ उनले भने, ‘लघुवित्तप्रतिको नकारात्मक हल्लाले पनि यस्ता कम्पनीहरुको सेयर मूल्य प्रभावित बनेको छ।’

नेष्डो, जाल्पा र महिलाबाहेक अन्य २ हजार तल

हाल दोस्रो बजारमा कारोबार भइरहेका लघुवित्त कम्पनीहरु मध्ये नेष्डो समृद्ध लघुवित्त कम्पनीको सेयर मूल्य उच्च छ।

तथ्यांकअनुसार आइतबारको कारोबारका आधारमा सो कम्पनीको सेयर कारोबार प्रतिकित्ता २ हजार ३८९ रुपैयाँ भएको छ। पछिल्लो ४५ कारोबार दिन यता कम्पनीको सेयर मूल्य २८.६९ प्रतिशतले घटेको छ।

प्रति कित्ता ३ हजार ३५० रुपैयाँबाट घट्न सुरु भएको यस लघुवित्तको कारोबार आइतबार २ हजार ३८९ रुपैयाँमा बन्द भएको हो।

यस्तै जाल्पा सामुदायिक लघुवित्तको प्रतिकित्ता २ हजार ३४९ रुपैयाँमा र महिला लघुवित्तको सेयर कारोबार प्रतिकित्ता २ हजार १०० मा कारोबार भइरहेको छ।

जीवन विकास लघुवित्त, नेशनल माइक्रोफाइनान्स, उपकार, सृजनशील, फरवार्ड माइक्रोफाइनान्स, जनउत्थान र स्वाभिमान लघुवित्तको सेयर कारोबार प्रतिकित्ता २ हजार रुपैयाँ तल भइरहेको छ।

यस्तै ४५ लघुवित्तको सेयर मूल्य १ हजार भन्दा कम छ भने सर्वाधिक कम मूल्यमा ग्रामीण विकास लघुवित्तको कारोबार भइरहेको छ। आइतबार यस कम्पनीको कारोबार प्रति कित्ता ४८४ रुपैयाँमा भएर बन्द भएको हो।