काठमाडौं। विजय लघुवित्त वित्तीय संस्थाले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ।
लघुवित्तको आइतबार बसेको संचालक समितिको बैठकले साधारण सभा आह्वान गर्दै चैत १६ गतेका लागि बुक क्लोज मिति तय गरेको हो।
तसर्थ उक्त दिनभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र साधारण सभामा सहभागिता तथा लाभांशका लागि योग्य हुने छन्।
लघुवित्तले चैत २८ गते मंगलबारका लागि १० औं वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा विजय विकास स्रोत केन्द्र नवलपरासीबाट संचालन गरिने छ।
हाल लघुवित्तको चुक्ता पुँजी ३२ करोड छ। लघुवित्तले यसको २० प्रतिशतले हुन आउने ६ करोड ४० लाख बराबरको बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्ने भएको हो।
सो लाभांश साधारण सभाबाट अनुमोदन भए पश्चात लगानीकर्ताहरुमा वितरण गरिने छ।