BIZMANDU
www.bizmandu.com

महँगोमा ऋण दिँदा बिग्रिन्छ भन्ने डरले बैंकहरु पैसा दिन निरुत्साहित, ब्याज घटेपछि दिने

२०७९ चैत्र ६

महँगोमा ऋण दिँदा बिग्रिन्छ भन्ने डरले बैंकहरु पैसा दिन निरुत्साहित, ब्याज घटेपछि दिने
महँगोमा ऋण दिँदा बिग्रिन्छ भन्ने डरले बैंकहरु पैसा दिन निरुत्साहित, ब्याज घटेपछि दिने

काठमाडौं।  ब्याज निक्कै महँगिएपछि बैंकहरुले नै ऋणीको क्षमता पुग्दैन भनेर ऋण रोक्न थालेका छन्। वैशाखबाट अलिकति ब्याज घटेपछि ऋण दिने मुडमा बैंकहरु पुगेका छन्।

Tata
GBIME
Nepal Life

पछिल्ला दिनहरुमा बैंकको ऋण बढ्नुको साटो उल्टो घट्न थालेको छ। ‘महँगो ब्याजमा कसरी व्यवसाय चल्ला र !’ भन्दै बैंकहरु नै ऋण दिन निरुत्साहित देखिएका हुन्।

‘अहिले त माग निकै कम छ। समग्र अर्थतन्त्र पनि सुस्त देखिएको छ। ब्याज मात्र  होइन, बिजनेस कन्फिडेन्सका कारण पनि ऋणको माग सुस्त भएको हो,’ बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बिजमाण्डूसँग भने, ‘आगामी दिन ब्याज पनि घट्ने र कन्फिडेन्स पनि बढ्न थालेपछि ऋण सहज हुँदै जाला।’ 

अहिले मुद्दतीको ब्याज दर ११ प्रतिशत छ। आधाभन्दा बढी निक्षेपको लागत १२ प्रतिशत बढी (पहिले नै मुद्दतीमा राखेको तर परिपक्व नभएको) छ। यस हिसाबले महँगो ब्याजमा ऋण लिएर गरेको व्यवसायले त्योभन्दा बढी प्रतिफल दिनुपर्ने हुन्छ। त्यो दिन सक्ने अवस्था अहिले नरहेको बैंकरको भनाइ छ।

यद्यपि सिमेन्ट उद्योगले भने बिस्तारै गति लिन थालेको छ। त्यस क्षेत्रको बिक्री बढेको रिपोर्ट बैंकहरुले पाउन थालेका छन्।

पोहोर निक्षेपको तुलनामा ऋण लगानी उच्च थियो। यसपाली निक्षेपको वृद्धिभन्दा आधा मात्र ऋण बढेको देखिन्छ। नेपाल राष्ट्र बैंकले ऋण वृद्धिको लक्ष्य १२.६ प्रतिशत राखेको छ। तर, ऋणको वृद्धि निकै न्यून छ। चालु आर्थिक वर्ष लागेयता नै ऋण वृद्धि छैन। 

मंसिरसम्म जेनतेन गइरहेको ऋण त्यसयता घट्न थालेको बैंकरहरु बताउँछन्। ‘नयाँ दिने त परको कुरा भयो, पुरानै ऋण पनि घट्न थालेको छ,’ एक बैंकरले भने, ‘ऋण तिर्ने क्षमता घटिरहेको छ भने थप ऋण लगेर के गर्ने भन्ने त्रास पनि होला।’

बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) नै ८५ प्रतिशत हाराहारीमा आइसकेको छ। सीडी रेसियोका हिसाबले अहिले बैंकहरु करिब २२५ अर्ब रुपैयाँ ऋण दिन सक्ने क्षमतामा छन्। तैपनि बैंकहरुले दिइरहेका छैनन्।

बैंकरका हिसाबले अहिले नयाँ ऋण १४ प्रतिशतभन्दा तलको ब्याज दरमा दिन सकिने अवस्था छैन। वैशाखबाट ब्याजदर केही कम हुने छ। निक्षेपको लागत घटेर ब्याज तल आउने छ भने स्प्रेड दरका कारण पनि ब्याज तल आउने छ। यसबाहेक बैंकहरुले आधार दरपछि लिने प्रिमियम पनि ५ प्रतिशतमा झारेका छन्।

‘अब ऋण जान्छ। तर, एक महिना कुर्नु पर्छ,’ ती बैंकरले भने, ‘राजनीतिक मुद्दा तत्कालका लागि सकिने छ। केही समयका लागि सरकारको ध्यान पनि अर्थतन्त्रतिर जान्छ। यो बेला व्यापार व्यवसाय बढाउनुपर्ने पनि हुन्छ। चौतर्फी दबाबले माग बढ्दा ऋण जाने अवस्था बन्छ।’

ऋणको भाउ उच्च भएर व्यवसाय गर्न नसक्ने अवस्था आएपछि व्यवसायीले ब्याज घटाउन दबाब दिइरहेका छन्। त्यही भएर वाणिज्य बैंकहरु, विकास बैंक र फाइनान्स कम्पनीले बचत र मुद्दतीको ब्याज घटाउन थालेका छन्। त्यसको असर वैशाखको आधार दरमा देखिन्छ। आधार दर करिब १.२५ प्रतिशतले घट्दा ऋण पनि त्यतिले नै सस्तो हुन्छ। 

बैंकरका अनुसार, अहिले छिटपुट रूपमा ऋण गइहाले पनि त्यो नयाँ परियोजनाका लागि नभइ व्यवहार मिलाउनका लागि हो। ‘एउटाबाट अर्कोमा सारेको, मूल्यांकन बढाएकोलाई त ऋण बिस्तार भयो भन्न मिल्दैन,’ ती बैंकरले भने, ‘जहाँसम्म नयाँ ऋण कसैले पनि दिएको छैन।’

अहिले बैंकहरुले सरकारी अनुदानको ऋण पनि  दिइरहेका छैनन्। ऋणी आफैं समस्यामा परेको तथा सरकारले पनि अनुदान उपलब्ध गराएका कारण ऋण गएको छैन। यसबाहेक विपन्न वर्गमा जाने ऋण पनि करिब-करिब रोकिएको छ। लघुवित्तमा समस्या देखिन थालेपछि बैंकहरुले सचेतना अपनाउँदा ऋण रोकिएको हो।