BIZMANDU
www.bizmandu.com

४ अर्बको कजरिया रमेश टायल्स उद्योगको पूर्वाधार धमाधम बन्दै, सन् २०२३ भित्रै उत्पादन

२०७९ चैत्र ५

४ अर्बको कजरिया रमेश टायल्स उद्योगको पूर्वाधार धमाधम बन्दै, सन् २०२३ भित्रै उत्पादन
४ अर्बको कजरिया रमेश टायल्स उद्योगको पूर्वाधार धमाधम बन्दै, सन् २०२३ भित्रै उत्पादन


काठमाडौं। नेपालको सबैभन्दा ठूलो टायल्स उद्योग स्थापनाको काम अघि बढेको छ। नेपालको व्यापारिक समूह रमेश कर्प र कजरिया सेरामिक्स लिमिटेडको संयुक्त लगानीमा नवलपरासीमा उद्योगको पूर्वाधारको काम सुरु भएको हो।

Tata
GBIME

यो कम्पनीमा रमेश कर्प र कजरियाले ५०/५० प्रतिशत लगानी गर्ने सहमति भएको छ। चार अर्ब रुपैयाँको लगानीमा स्थापना हुन लागेको यो उद्योगको नाम कजरिया रमेश टायल्स लिमिटेड राखिएको छ। उद्योगका लागि आवश्यक वित्तीय व्यवस्थापन पनि जुटिसकेको छ।

यो उद्योगमा प्रभु बैंकको नेतृत्वमा वाणिज्य बैंकहरुले ऋण लगानी गर्ने लगभग टुंगो लागिसकेको छ। केही दिनभित्रै बैंक र कम्पनीबीच सम्झौता हुँदैछ। भैरहवामा १० बिघा जग्गामा उद्योगको पूर्वाधारको काम अघि बढेको रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ताले जानकारी दिए। ‘हामीले भूमि पूजा गरेर पूर्वाधारको काम धमाधम अघि बढाएका छौं। सन् २०२३ भित्रै हाम्रो उत्पादन बजारमा आउँछ,’ उनले बिजमाण्डूसँग भने, ‘यो उद्योगले निर्माण क्षेत्रमा माइलस्टोन स्थापित गर्ने विश्वास लिएका छौं।’

रमेश कर्प पछिल्लो समयमा लगानी एग्रेसिभरूपमा विस्तार गरिरहेको समूह हो। सिमेन्ट, जलविद्युत, वायर तथा केबल, कन्ट्रक्सन टुल्स, मोबाइल फोन लगायतमा लगानी छ। यो बाहेक बैंक, बीमा, खानी, सूचना प्रविधि, रियल स्टेट लगायतका क्षेत्रमा पनि लगानी छ। उनका अनुसार ग्रीनफिल्ड प्रोजेक्टमा वार्षिक ८ लाख वर्गमिटर टायल्स उत्पादन गर्ने प्लान्ट हुनेछ। उद्योगबाट सेरामिक र भिट्रिफाइड टायल्स उत्पादन हुनेछ।

‘यसअघि स्थापना भएका उद्योगजस्तै उच्चस्तरीय प्लान्ट लगाएर सकेसम्म धेरै नेपाली कच्चा पदार्थ प्रयोग गर्नेछौं,’ गुप्ताले भने, ‘यसले विदेशी मुद्रा बचाउन पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ।’ कजरिया गुणस्तर र इनोभेसनका लागि अब्बल मानिने बताउँदै त्यही प्रविधि र गुणस्तरमा टायल्स नेपालमा पनि उत्पादन हुने दाबी उनले गरे।

‘यो उद्योगले स्थानीयलाई रोजगारी दिनेछ भने राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा दिनेछ,’ उनले भने, ‘त्यसैले हामीले अहिलेको कठिन आर्थिक अवस्थामा समेत जोखिम मोलेर उद्योग लगाउन सुरु गरेका हौं।’ भारतीय बजारलाई समेत हेरेर उद्योग स्थापनाको काम अघि बढाइएको हो।

भविष्यमा निर्यातका लागि समेत बजार सम्भावना हेरेर उद्योग स्थापना गरिएको गुप्ताले बताए। ‘हामीसँग ठूलो भारतीय बजार पनि छ। त्यसलाई पनि हेरेर उद्योग स्थापना गरेका हौं,’ उनले भने, ‘नेपाली कच्चा पदार्थ प्रयोग भएको टायल्स जाँदा त्यसको मूल्य अभिवृद्धिका कारण पनि मुलुकले धेरै फाइदा पाउँछ भन्ने हाम्रो विश्वास छ।’

कजरियाले नेपालको बजार राम्रो देखेर संयुक्त लगानी गरेको हो। संयुक्त लगानीमा हस्ताक्षर गर्दा कजरियाका सेरामिक्सका संयुक्त प्रबन्ध निर्देशक अशोक कजरियाले भनेका थिए- ‘नेपाल हाम्रा लागि सधैं महत्त्वपूर्ण बजार भएको छ। हामी यहाँ दुई दशकभन्दा बढी समयदेखि उपस्थित छौं र यो कदमले नेपालको बजारमा हाम्रो उपस्थितिलाई अझ बलियो बनाउने छ। हामी हाम्रा विश्वस्तरीय उत्पादनहरु नेपालमै प्रतिस्पर्धात्मक रूपमा उपलब्ध गराउन चाहन्छौं।’

कजरिया सेरामिक्सलाई भारतमा सेरामिक/भिट्रिफाइड टायल्सको सबैभन्दा ठूलो र विश्वको सातौं ठूलो उद्योग मानिन्छ। कजरियाको भारतमा आठवटा उत्पादन कम्पनी छन्, जुन उत्तर प्रदेशको सिकन्दराबाद, राजस्थानको गैलपुर र मालुटाना, आन्ध्र प्रदेशको विजयवाडा र श्रीकालहस्ती, तेलंगानाको बालानगर र गुजरातमा तीनवटा छन्।

३४ वर्ष पहिले स्थापना भएको कजरियाले सेरामिक वाल र फ्लोर टाइल्सहरूका तीन हजारभन्दा बढी डिजाइन र प्रकार उत्पादन गर्दै आएको छ।