BIZMANDU
www.bizmandu.com

मेवा-ढुंगेसाँघु १३२ केभी प्रसारणलाइनको शिलान्यास, ३० करोड खर्चेर एक वर्षमा सक्ने योजना

२०७९ चैत्र ५

मेवा-ढुंगेसाँघु १३२ केभी प्रसारणलाइनको शिलान्यास, ३० करोड खर्चेर एक वर्षमा सक्ने योजना
मेवा-ढुंगेसाँघु १३२ केभी प्रसारणलाइनको शिलान्यास, ३० करोड खर्चेर एक वर्षमा सक्ने योजना

काठमाडौं। मेवा- चाँगे (ढुंगेसाँघु) १३२ केभी प्रसारणलाइनको शिलान्यास भएको छ। ऊर्जा मन्त्रालयका सचिव तथा राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका अध्यक्ष दिनेशकुमार घिमिरेले शुक्रबार प्रसारणलाइन अन्तर्गत टावरको शिलान्यास गरेका हुन्।

Tata
GBIME
Nepal Life

यो आयोजना अन्तर्गत ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ मा १३२/३३ केभीको मेवा सबस्टेशन तथा सो सबस्टेशनदेखि मैवाखोला गाउँपलिका-१ स्थित ढुंगेसाँघु सव-स्टेशनसम्म करिब २० किलोमिटर १३२ केभीको डबल सर्किट प्रसारण लाइन निर्माण हुनेछ।

६२ वटा टावर रहने यस प्रसारण लाइन आयोजनाको निर्माण सुरु गर्न लागिएको हो। राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवालीले करिब २० किमि १३२ केभीको यो प्रसारणलाइनले १५० मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिने बताए।

उनका अनुसार मेवा खोला, तल्लो मेवा खोला, सोना खोला, पालुन खोला-१, पालुन खोला साना, माथिल्लो मेवा खोला-ए लगायतका जलविद्युत आयोजनाहरुबाट उत्पादित बिजुली यो प्रसारणलाइनमा जोडिनेछ। छुट्टाछुट्टै प्रसारण लाइन निर्माण गर्नु भन्दा एउटा साझा प्रसारणलाइन निर्माण गरी विद्युत प्रवाह गर्न प्राविधिक, आर्थिक तथा पर्यावरणीय दृष्टिकोणबाट उपयुक्त देखिएकाले यो आयोजना अघि बढाएको उनको भनाइ छ।

मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले आयोजनालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले जिल्ला प्रशासन कार्यालयबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

ऊर्जा सचिव घिमिरेले कम्पनी तथा निर्माण व्यवसायीलाई आयोजना समयमा नै सम्पन्न गर्न निर्देशन दिए। आयोजना  निर्माणको जिम्मा कस्मिक इलेक्ट्रिकल लिमिटेडले पाएको छ।  एक वर्षमा सक्ने गरी करिब ३० करोड रुपैयाँमा सक्ने लक्ष्य लिइएको छ।