BIZMANDU
www.bizmandu.com

नेपाली गलैंचा स्वदेशी बजारमा, आयातितलाई गुणस्तरमा टक्कर दिने स्वदेशी उत्पादन चिन्नु हुन्छ?

२०७९ चैत्र ४

नेपाली गलैंचा स्वदेशी बजारमा, आयातितलाई गुणस्तरमा टक्कर दिने स्वदेशी उत्पादन चिन्नु हुन्छ?
नेपाली गलैंचा स्वदेशी बजारमा, आयातितलाई गुणस्तरमा टक्कर दिने स्वदेशी उत्पादन चिन्नु हुन्छ?

काठमाडौं। स्वदेशी बजारमा एउटा धारणा निकै अघिदेखि छ- ‘नेपाली गलैंचा विदेश निर्यातका लागि मात्रै उत्पादन हुन्छ। महँगो हुन्छ, नेपालीले किन्नै सक्दैनन्।’ भनाइलाई उत्पादकहरुको व्यवहारले पनि पुष्टि गरेको छ। निर्यातका लागि ठिक पारिएको मालको गुणस्तर र साइजमा कैफियत भएर छाँटिने गलैंचा मात्रै फाट्टफुट्ट स्थानीय बजारमा भेटिने भएकाले त्यो आम धारणालाई ठीक हो की भन्ने पारेको छ। तर, त्यस्तो होइन।

Tata
GBIME
Nepal Life

के तपाइँलाई नेपाली गलैंचाको गुणस्तरबारे थाहा छ? विदेशको बजारमा वर्षौंदेखि प्रतिष्पर्धा गरेर मुलुकमा डलर भित्र्याउनेमा कुनै बेला गलैंचा निकै अगाडि थियो। विस्तारै यसमा पनि समस्या आए। निर्यात परिमाण घट्दा पनि उद्योगीले स्वदेशी बजारलाई लक्ष्य गरेका थिएनन्। तर, अब समय फेरिएको छ।

मुलुकबाट वार्षिक निर्यात हुने वस्तुहरूको सूचीमा ठूलो ठाउँ ओगटेका नेपाली गलैंचा (कार्पेट)को बिक्री स्थानीय बजारमा पनि सुरू भएको छ। आयातितका तुलनामा महँगो हुने हुँदा स्वदेशमा उत्पादित गलैँचाको बजार केही समय अघिसम्म विदेशमात्रै थियो। अब नेपाली गलैंचा उत्पादकहरु स्वदेशी बजारलाई आफ्नो उत्पादन डेलिभरी दिन तयार छन्।

नेपाली गलैंचा संसारका ६८ देशमा निर्यात हुन्छ। निर्यात व्यापारमा निकै उतारचढाव छन्। नेपालीको व्यापार परिमाण देखेका प्रतिष्पर्धी मुलुकका कम्पनीहरु त्यो बजार हत्याउन जहिल्यै गुणस्तर प्रतिष्पर्धामा रहिआएका हुन्। त्यसैले डेढ दशकअघि जस्तो निर्यात व्यापारको अवस्था छैन।

पछिल्लो समय नेपाली कार्पेटले सीमित भए पनि स्थानीय बजारमा पनि आएको छ। निर्यात परिमाण घट्दा स्वदेशी बजारमा नेपाली कार्पेट प्रतिष्पर्धामा छ। नेपाली कार्पेट उत्पादक तथा निर्यातकर्ता संघका वरिष्ठ उपाध्यक्ष तेन्जिङ शेर्पा भन्छन् ‘नेपालमा कार्पेट उच्च हाइ क्वालिटीका बन्छन्। क्वालिटी प्रोडक्ट खरिद गर्न चाहनेले खोजेकोजस्तो पाइन्छ।’ विशेषगरी केही पाँचतारे होटेल, ठूला कर्पोरेट हाउसहरुले नेपाली कार्पेट बिछ्याउन सुरू गरेको उनले बताए।

उनका अनुसार कूल उत्पादनको ३ देखि ४ प्रतिशत नेपालभित्रै खपत हुन थालेको छ। ‘पहिला-पहिला केहीले बाँकी रहेका पिसहरू, उब्रेका कार्पेट खरिद गर्ने गर्थे। अझै पनि यो प्रवृत्ति छ। तर, केही समययता एक-दुइटा होटेलहरूले अर्डर दिएको देखिन्छ,’ उनले भने।

२५ वर्षदेखि एनपी रग्स कम्पनी सञ्चालन गर्दै आएका तेन्जिङ स्वदेशी बजारले खोजेमा नेपाली उत्पादन उच्चकोटीको पाइने बताउँछन्। ‘भर्खर सुरूवात भएको छ। राम्रो डिजाइनका नेपाली कार्पेट अर्डर दिएर ओछ्याउँछु भन्नेहरू अलि-अलि आउन थालेका छन्। तर, अझै पनि ९५ प्रतिशतभन्दा बढी कार्पेट अन्तर्राष्ट्रिय बजारमै जान्छ,’ उनले भने।

नेपाली कार्पेट उद्योगहरुले हाल ग्राहकको मागलाई मध्यनजर गर्दै ऊन, रेशम लगायत विभिन्न कच्चा पदार्थसहित थरी-थरीका गलैंचा उत्पादन गर्दै आएको छन्। उत्पादनहरूले ह्यान्ड नँटेड कार्पेट, ह्यान्ड लुम, सुमाक, शेगी, फ्ल्याट बुनाई, टफ्टेड जस्ता  विभिन्न प्रकारका कार्पेटहरू बजारमा ल्याइरहेको तेन्जिङ बताउँछन्।

नेपाली कार्पेटको मूल्य यसमा प्रयोग हुने नट, डिजाइनमा भर पर्ने पनि उनी बताउँछन्। यसको प्रयोग गरिएको नटअनुसार यसको वर्गीकरण गरिन्छ।  ६० नट, ८० नट १०० नट, १५० नटसम्मका कार्पेटहरू यहाँ बन्ने गर्छन्। नेपाली गलैंचा उद्योगमा २५ अर्बभन्दा बढी लगानी रहेको उद्योगी बताउँछन्। त्यसैले विश्व बजारले कस्तो खोज्छ भन्नेमा उत्पादकले गुणस्तर कायम गरेका छन्।

‘जति नटहरू बढी हुँदै गयो त्यति धागो मसिनो हुँदै जान्छ र त्यति नै महँगो पनि हुँदै जान्छ। यसबाहेक डिजाइन र यसको साइजले पनि यसको मूल्य निर्धारणमा ठूलो भूमिका खेल्छ। ६० नटमा धागो मोटो हुन्छ, बुन्नलाई पनि सजिलो र बुट्टा दिन पनि,’ उनले भने। 

६० नटको कार्पेटको प्रति वर्गमिटर १२ हजार रूपैयाँदेखि १४ हजार रूपैयाँसम्म पर्छ भने ८० नटको  १६ हजार रूपैयाँदेखि १८ हजार रूपैयाँसम्म। त्यस्तै, १५० नटको कार्पेटको एक वर्गमिटरको नै ३० हजारसम्म पर्ने तेन्जिङ बताउँछन्। यसमा कार्पेटमा भएको बुट्टा र यसको आकारले एउटेै कार्पेटको मूल्य लाखभन्दा बढी पनि पर्छ। 

हातैले बुनेको हुँदा र यसमा प्रयोग हुने ऊन, रेशम लगायतका कच्चा पदार्थ टिब्बत, न्यूजील्याण्डबाट आयात हुने हुँदा नेपाली कार्पेटको मूल्य आयातित कार्पेट भन्दा महँगो भएको उनले बताए। 

सामान्य ६० नटको नेपाली कार्पेटको पनि ४० हजार हाराहारी पर्ने हुँदा यसको स्वदेशी खपत निकै कम भएको कार्पेट उत्पादकहरूको बुझाइ छ। तेन्जिङ भन्छन्, ‘नेपाली बजारमा आयातित सस्तो कार्पेटको वर्चस्व छ। ५ हजारदेखि १०/१२ हजारसम्म राम्रै विदेशी मेसिनले बनेका आउँछन्। अर्कोतिर हातले बुनेको हाम्रो नेपाली कार्पेटको मूल्य ३०/३५ हजारबाट सुरू हुन्छ। त्यसैले पनि धेरैले आयातित कार्पेट नै रोज्छन्।’

साथै स्वदेशी उत्पादनलाई स्वदेशमै खपत गराउन संघले नेपाल सरकार समक्ष पेस गरेको प्रतिवेदनको पनि सरकारले वास्ता नगरेको गुनासो छ। सरकारका कारण नेपाली बजार संकुचित रहेको संघको तर्क छ।

गत आर्थिक वर्षमा मात्रै करिब १० अर्ब ९ करोड रुपैयाँको‍ नेपाली कार्पेट निर्यात भएको थियो, जुन पछिल्ला केही वर्षकै सबैभन्दा उच्च थियो। 

त्यस्तै, भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघसम्ममा ६ अर्ब ५० करोड ४८ लाख ७८ हजार रूपैयाँ बराबरको कार्पेट तथा गलैँचा निर्यात भएको छ। कार्पेट तथा गलैँचा निर्यातले यस समय अवधिमा भएको ९३ करोड ४३ करोड २३ लाख ३८ हजार कूल निर्यातको लगभग ७ प्रतिशत हिस्सा ओगटेको छ। 

हालसम्म नेपाली कार्पेट अमेरिका, जर्मनी, जापान, क्यानडा, फ्रान्स, इटाली लगायत ५० बढी देशहरूमा आयात हुने गरेको छ। त्यसमा पनि नेपाली उत्पादकको ठूलो बजार अमेरिका हो। संघका अनुसार निर्यात भएका कार्पेटको ५० प्रतिशत खपत अमेरिकामा हुने गरेको छ। 

विश्व बजारमा अर्बौँ बराबरको निर्यात हुने नेपाली गलैंचाको हाल सानै रूपमा भएपनि स्वदेशमा बिक्री सुरू भएको छ। यसलाई सरकारले आफ्नो विभिन्न कार्यालय तथा विभागहरूमा प्रयोग गरेर प्रोत्साहन गरे यसको स्वदेशी बजारमा राम्रो असर गर्ने गलैंचा उत्पादकहरूको भनाइ छ।

हाल बौद्ध, जोरपाटी, भक्तपुर, सिन्धुपाल्चोक लगायतका ठाउँहरूमा रहेका सयौँ नेपाली गलैंचा उद्योगमा डेढ लाखभन्दा बढी कामदारहरू कार्यरत छन्।