BIZMANDU
www.bizmandu.com

आर्थिक मन्दीले नयाँ गाडी छोटो समयमै सेकेन्ड ह्यान्ड बजारमा, ऋणले च्याप्दा किनबेचको हतार

२०७९ चैत्र ३

आर्थिक मन्दीले नयाँ गाडी छोटो समयमै सेकेन्ड ह्यान्ड बजारमा, ऋणले च्याप्दा किनबेचको हतार
आर्थिक मन्दीले नयाँ गाडी छोटो समयमै सेकेन्ड ह्यान्ड बजारमा, ऋणले च्याप्दा किनबेचको हतार


काठमाडौं। नयाँ गाडी किन्ने ग्राहकमध्ये ८० प्रतिशत मध्यमवर्गबाट छन्। आफूसँग रहेको बचतमा केही ऋण थपेर, केही बैंक फाइनान्स गराएर डाउन पेमेन्टमा खरिद गर्ने ग्राहक धेरै हुन्छन्। शोरुमबाट खरिदको धेरै समय नै नभइ नयाँ नयाँ गाडी सेकेण्ड ह्‍यान्ड बजारमा आइरहेका छन्।

Tata
GBIME
Nepal Life

रिकण्डिसन कारोबारीहरुका अनुसार नयाँ गाडी किनेको वर्ष दिन पनि नपुगी बेच्‍न चाहने बढेका छन्। आधाभन्दा बढी रकम ऋण लिएर गाडी खरिद गर्नेहरु बेच्‍न अघि सरेका छन्। यतिबेला दोस्रो बजारमा गाडी खरिद गर्न चाहनेले खोजेको मोडल थोरै सोधखोजमै भेट्छन्।

बैंकसँग ऋण गरेर गाडी खरिद गरेपछि मासिक किस्ता तिर्नुपर्ने हुन्छ। त्यसमा पनि बैंकले समयअनुसार ब्याजदर घटबढ गर्न सक्ने सर्त पनि राखिएको हुन्छ। त्यसैले पछिल्लो समय यस्तै नयाँ गाडी खरिद गर्ने ग्राहकहरुले मासिक तिर्ने किस्ता ब्याजदरका कारण बढेको छ।

यसो हुँदा पनि ग्राहकहरु आफूले लिएका गाडीहरु सेकेन्ड ह्‍यान्डमा बिक्री गरेर उक्त ऋणबाट मुक्त हुन खोजिरहेका छन्। ७-८ प्रतिशत ब्याजदरमा खरिद गरिएको गाडीको ब्याजदर अहिले १५-१६ प्रतिशतसम्म पुगेको छ।

पहिले गाडीहरु कति वर्षौ चालाएपछि सेकेन्ड ह्यान्ड बजारमा कारोबार हुने गरेका थिए। तर, पछिल्लो समय नेपालमा आर्थिक मन्दीले गर्दा अहिले वर्ष होइन ६ महिना नबित्दै नयाँ गाडीहरु सेकेन्ड ह्‍यान्ड बजारमा कारोबार हुन थालेका हुन्।

यस्तै, काठमाडौं उपत्यकाको सेकेन्ड ह्‍यान्ड गाडी बिक्रेता राम्रो मोटर्सका अनुसार पछिल्लो समय नयाँ मोडलका गाडीहरु बिक्रीमा आउन थालेका छन्। कम्पनीका अनुसार अहिले कम्पनीमा सन् २०२१ मोडलका गाडीहरु पनि बिक्रीमा छन्। यसमा फक्सवागनको पोलो, कियाको सेल्टसहरु बिक्रीमा रहेका छन्।

सन् २०१८ मोडलको भर्ना पनि उक्त रिकन्डिसनमा बिक्रीमा छ। कम्पनीका एक कर्मचारीका अनुसार पछिल्लो समय गाडी बिक्री गर्न आउनेहरु बैंकको किस्ता तिर्न नसकेर वा अन्य ऋणमा परेर उक्त ऋण तिर्नको लागि गाडी बिक्री गर्न आउने बढी छन्।

‘त्यसमा पनि नयाँ गाडी किनेको एक वर्ष पनि पुरा भएको हुँदैन,’ ती कर्मचारीले भनिन, ‘अघिल्ला वर्षहरुमा त्यस्तो ऋण तिर्ने वा किस्ता तिर्न नसक्ने भन्ने कमै हुन्थे। तर, अहिले प्राय त्यस्तै ग्राहकहरु आउछन्।’

यो रिकन्डिसनमा हाल १ करोड ३५ लाख रुपैयाँसम्मका गाडीहरु बिक्रीमा छन्। तर त्यस्ता गाडी खरिद गर्नेहरुको संख्या अपेक्षितरूपमा नबढेको ती कर्मचारी बताउँछिन्।

‘पहिले महिनाको ५/६ वटा गाडीहरु औसतमा बिक्री हुने गरेको थियो। तर, अहिले महिनाको एउटा पनि बिक्री हुन नसक्ने अवस्था पनि छ,’ उनले भनिन्, ‘तर, यो भन्दैमा व्यापार नभएको भन्न मिल्दैन अहिले पनि आफैं फाइनान्स गर्नेहरु पनि छन्। नगदमा गाडी खरिद गर्नेको संख्या पनि धेरै छन्।’

यसैगरी, उपत्यकामा सेकेन्ड ह्यान्ड गाडी बिक्रेता बाबा बसेर अटो ग्रुपका निर्देशक राजेश खड्गीका अनुसार पछिल्लो समय धेरै संख्यामा नयाँ मोडलका गाडीहरु बिक्रीमा आउन थालेका छन्। ‘हाम्रोमा अहिले २०२२ मोडल सम्मका गाडीहरु बिक्रीमा आइसकेका छन्,’ उनले भने, ‘ती गाडीहरु बिक्री गर्ने सबै ग्राहकहरु कि त पैसाको आवश्यकता परेर कि त किस्ता तिर्न गाह्रो भएर बिक्रीमा राख्‍न आएको बताउने गरेका छन्।’

खड्गीका अनुसार ती ग्राहकहरुलाई छोटो समयमा पैसा चाहिएको हुन्छ। तर सेकेन्ड ह्यान्ड गाडी खरिद गर्नेको संख्या ९० प्रतिशत कम छ। ‘गाडी बिक्री गर्नेहर सस्तोमा भएपनि छिटै गाडी बिक्री गर्न खोज्छन् तर किन्ने मान्छे नहुँदा गाडी शोरुममा नै धेरै समय होल्ड हुने गरेको छ,’ उनले भने।

उनका अनुसार सबै ग्राहकहरु ऋण तिर्न नसकेर, पैसाको समस्या परेर बिक्री गर्ने आउने गरेका छन्। ‘यसअघि गाडी एक्सचेन्ज गर्न नयाँ गाडी खरिद गर्न भन्दै धेरै पुराना गाडीहरु बिक्री गर्न आउने गर्दथे,’ उनले भने, ‘यस पटक भने त्यस्तो छैन। अहिले ठूलो मूल्यका नयाँ गाडी खरिद गरेर ऋण तिर्न नसक्ने भएपछि त्यो गाडी बिक्री गर्न ल्याउने र सानो गाडी लाने प्रवृत्ति पनि बढेको छ।’

यो अटो ग्रुपमा ६ लाखदेखि २ करोडसम्मको गाडीहरु बिक्रीमा छन्। टोयोटाको फर्चुनर २०२०/२१ मोडलको छ। यसको मूल्य २ करोड रुपैयाँ छ। नयाँ मोडल सेकेन्ड ह्‍यान्ड बजारमा खोज्नेका लागि क्रेटा २०२२, कियाको सेल्टस र सोनेट, फक्सवागनका गाडीहरु बिक्रीमा आइरहेका छन्।

नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष तथा आरके अटो सेन्टरका सञ्चालक रमेश कोइराला अहिले अटो व्यवसाय क्षेत्रमा बैंकको ब्याजदर र किस्ताले समस्या पारेको बताउँछन्। उनका अनुसार अहिले ८० प्रतिशत ग्राहक पैसा चाहिएर र ऋणमा डुबेर गाडी बिक्री गर्न सेकेन्ड ह्यान्ड बजारमा आउने गरेका छन्।

‘रिकन्डिसन हाउसमा यस्तै समस्या बोकेर गाडी बिक्री गर्न आउने बढेका छन्,’ उनले भने।  

अहिले अनलाइन सेकेन्ड ह्यान्ड गाडी बजारमा पनि नयाँ मोडलका गाडीहरु बिक्रीमा राखिएका छन्। नेपालको पुरानो र सेकेन्ड ह्यान्ड गाडी बिक्री गर्ने वेबसाइट ‘हाम्रो बजार’मा सन् २०२२ मोडलका गाडीहरु समेत बिक्रीमा राखिएका छन्। जसमा हुन्डाईको क्रेटादेखि टाटाको नेक्सन इभीसम्म छन्।

यसैगरी, प्रायः अरु सबै सन् २०२१ मोडलहरु बिक्रीमा राखिएका छन्। सन् २०२१ मोडलहरुमा हुन्डाईको भेन्यु, कियाको सोनेट, मित्सुबिसीको क्लिपसे क्रस, जीप कम्पास लिमिटेड, सुजुकी ब्रेजा, निसान किक्स, म्यागनाइट मोडलहरु छन्। यी सबै गाडीहरुको मूल्य ३० लाखदेखि १ करोड १५ लाखसम्म छ।

बेच्न चाहने धेरै, किन्न खोज्ने कम

अध्यक्ष कोइरालाका अनुसार अहिले सबैजसो रिकन्डिसन हाउसहरुमा गाडी बिक्रीमा राख्‍नेको संख्या धेरै छ।

सेकेन्ड ह्यान्ड बजारमा गाडी बिक्री गर्नेको संख्या ९० प्रतिशतभन्दा मान्दा किन्न चाहनेको संख्या १० प्रतिशतभन्दा बढी नभएको उनको भनाइ छ। बेच्न गाडी बजारमा ल्याउनेको संख्या अघिल्लो वर्षहरुको भन्दा दोब्बर हो।

कोइरालाका अनुसार पहिलेको जस्तो आर्थिक अवस्था बजारमा अहिले छैन। मानिसहरु ब्याजदर बढेका कारण ऋणमुक्त भएर बस्न चाहन्छन्। मानिसहरु आफ्नो दैनिकी कसरी चलाउने भन्नेमा बढी सोच्न र व्यावहारिक हुन थालेका छन्। यही कारण अहिले गाडी खरिदभन्दा बिक्री गर्नेको संख्या १० गुणा धेरै भएको उनको भनाइ छ।

‘ठूलो दामका गाडीहरु किन्ने ग्राहकले फाइनान्समा लिन्थे तर चर्को ब्याजदरको कारण त्यो पनि बन्द जस्तै भएको छ,’ उनले भने।

यसैगरी, बाबा बसेरका निर्देशक खड्गीका अनुसार अहिले सामान्यतया ६/७ वटा गाडी बिक्री हुन पनि मुस्किल भएको छ। ‘यसअघिका वर्षको महिनाहरुमा कम्तीमा २० वटा गाडीहरु बिक्री हुने गरेको उनी बताउँछन्।

‘तर, अहिले त्यो अवस्था छैन। कसरी संचालन गर्ने भन्ने चिन्ताको विषय भएको छ। खरिद गर्ने भन्दा बिक्री गर्ने धेरै छन्। त्यो पनि नयाँ मोडलको गाडीहरु धेरै छन्,’ उनले भने, ‘नयाँ मोडलका गाडीहरु बिक्रीमा आउदा मूल्यमा धेरै मार्जिन हुँदैन। यस्ता गाडीहरु नयाँ मोडलका भएकाले मूल्य त्यही अनुसार तोकिएको हुन्छन्।’