BIZMANDU
www.bizmandu.com

सिन्धुलीको ढुंग्रेभञ्ज्याङ होमस्टे, जहाँ एकपटक पुगेका पर्यटक मन पराउँछन् फर्की फर्की जान

२०७९ चैत्र ३

सिन्धुलीको ढुंग्रेभञ्ज्याङ होमस्टे, जहाँ एकपटक पुगेका पर्यटक मन पराउँछन् फर्की फर्की जान
सिन्धुलीको ढुंग्रेभञ्ज्याङ होमस्टे, जहाँ एकपटक पुगेका पर्यटक मन पराउँछन् फर्की फर्की जान

कमलामाई (सिन्धुली)। पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्‍ने। पश्चिममा मन थिचेर राख्‍ने घनाजंगल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैं हेरिरहन मन लाग्‍ने।

Tata
GBIME
Nepal Life

उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर। यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय बिपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित बनाउने ढुंग्रेभज्याङ।

सिन्धुलीको कमलामाई-२ मा ३० परिवारको बसोबास छ । मगर जातिको बाहुल्यता रहेको यस बस्तीमा १२ परिवारले सामूहिकरूपमा घरबास (होमस्टे) सञ्चालन गरेका छन्।

जिल्लाकै पहिलो घरबासका रूपमा स्थापित भएको ‘भद्रकाली सामुदायिक होमस्टे’मा प्राकृतिक सौन्दर्यता, स्वच्छ हावापानी, अर्गानिक परिकार, स्थानीयको सरलता, निश्चलता, सहयोगीपन, मुस्कानसहितको बोली र व्यवहारले सबैलाई लठ्ठ बनाउने गर्दछ।

२०७६ चैत २९ गतेदेखि सुरु भएको उक्त होमस्टे कोभिड-१९ को त्रासका कारण दुई वर्ष थलियो। अहिले पुनः पुरानै लयमा फर्किदैछ। होमस्टेका अध्यक्ष चेतबहादुर थापामगरका अनुसार हालसम्म आन्तरिक र बाह्य गरी दुई सय पर्यटकले यहाँको आतिथ्यता ग्रहण गरिसकेका छन्। एक साँझ बिताउन आएका पर्यटक चार दिनसम्म बसेर जाने गरेका उनले बताए।

जनमैत्री क्यापस भक्तपुरबाट नवराज गुरागाईंको नेतृत्वमा आएको २२ जनाको टोली होमस्टेमा एक साँझ बिताउन चाहन्थ्यो। तर, यहाँको आतिथ्यता, वातावरण र प्राकृतिक सौन्दर्यबाट मोहित भएर चार दिन बसेर फर्कियो। ‘होमस्टेमा आउने पर्यटक स्थानीय अग्र्यानिक परिकार खान रुचाउँछन्। लोकल कुखुरा, ढिडो, कोदोको सेलरोटी, फापरको फुलाउरा, मकै र भटमास, गुन्द्रुकको अचार, दही, दूध रोजाइमा पर्दछ,’ अध्यक्ष थापामगरले भने, ‘एकपटक आएका पाहुना पटक–पटक आउनुहुन्छ।’

होमस्टेमाथिको सेल्फी डाँडालाई व्यापारिक केन्द्र बनाइएको छ। होमस्टेअन्तर्गतको कार्यक्रम अनुरुप १७ परिवारले जिल्लामा पाइने स्थानीय कृषिजन्य उत्पादन बिक्री गर्छन्। जुनार, जुनारको जुस, सुन्तलतासहित मौसमी फलफूल, तरकारी, चिया, कफी, खाजाका विभिन्न परिकार यहाँ पाइन्छ। टाढाको यात्राबाट थाकेर आएका यात्रु होमस्टेमा बस्न पाएनन् भने यही स्थानमा एकछिन रोकिएर जुनार जुस पिउँछन्, खाजा खान्छन्, केहीबेर यात्राको थकान मेट्छन् र पोज-पोजका तस्बिर खिचेर पुनः यात्रा तय गर्दछन्।

पर्यटक होमस्टेमै आएर बस्छन्। एकपटकमा ५० जनासम्म अटाउने क्षमता छ। पर्यटकको चाहनाअनुसार बेलुकाको खानापछि यहाँ विशेषगरी मगर जातिको मौलिक नाच हेर्न पाइन्छ। होमस्टेले पर्यटकलाई सस्तो, सुलभ र पारिवारिक वातावरणले सहजतामात्रै थपिदिएको छैन, स्थानीयलाई रोजगारी पनि दिएको छ। स्थानीय उत्तमकुमारी आलेमगर अरु व्यवसायभन्दा होमस्टेमा फाइदा देख्‍छिन्।

होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम तथा अन्य जिल्लाका होमस्टेको अवलोकन भ्रमण गरेकी उनी ढुंग्रेभज्याङवासीको भविष्य होमस्टे व्यवसायले राम्रो बनाउनेमा विश्वस्त छिन्।

ढुंग्रेभज्याङको विकासमा बिपी राजमार्ग वरदान साबित भएको छ। ३० वर्षअघिसम्म नुनदेखि सुनसम्म किन्न सिन्धुलीमाढी बजार पुग्नुको विकल्प थिएन। ‘राजमार्ग निर्माण अगाडि बढेपछि अन्यत्र ठाउँबाट आएकाहरुले यहाँ किराना पसल चलाएका थिए। लगानी गरेर व्यापार, व्यवसाय गर्ने क्षमता भइनसकेका केही पुरुष वैदेशिक रोजगारीमा हानिए, कोही निर्वाहमुखी खेतीमा खटिए। गृहस्थी महिला घर धानेर बसे,’ आलेमगरले भनिन्। 

राजमार्गमा गाडीको चाप बढ्न थालेसँगै घर–घरमा पानी, बत्तीको सुविधा थपियो। ठाउँको विकास भएसँगै स्थानीयमा चेतनाको स्तर बढ्यो। आफूले खाएर बचेको स्थानीय कृषिजन्य उत्पादन राजमार्ग छेउमा बसेर बेच्न थाले। पर्यटकीय सम्भावना बोकेको बस्तीमा तीन वर्षअघि मात्रै  सामूहिक होमस्टे सञ्चालन गरिएको हो।

यसका लागि कमलामाई नगरपालिका, कन्दमूल विकास केन्द्र, कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य संघ, सिड्स नेपाल, श्री सिन्धुलीलगायत संघसंस्थाको साथ र सहयोग रहेको अध्यक्ष थापामगरले बताए।

सञ्चालकमध्येकी विमला थापामगरले २७ अतिथिको सेवा गरेर ३३ हजार ७ सय आम्दानी भएको सुनाइन।  
चन्द्रकुमारी जर्घामगरलाई पहिलोपटक अतिथि आउँदा अत्यास लागेको थियो। तर, अहिले उनमा धेरै परिर्वतन छ। तालिम र अभ्यासले उनलाई साहसी बनाएको छ। घरदेखि टोलसम्म सरसफाइदेखि अतिथि सत्कार, थरिथरिका परिकार बनाउन सिकाएको छ।

६ कट्ठा पाखो बारीमा कोदो, फापर, दलहनको खेती, बाख्रा, कुखुरापालनदेखि जुठेल्नोमा सागसब्जी लगाउन जर्गामगर आफैंले भ्याएकी छन्। ‘यहाँको उत्पादन बिक्री गर्न कतै धाइरहनु पर्दैन। स्थानीयले सजिलै आम्दानी लिन सकिरहेका छन्,’ उनले भनिन्।

होमस्टेमा चार दिन बसेर फर्किफस॥ भक्तपुरकी सुभेच्छा भट्टराई यहाँको वातावरण, गाउँलेको व्यवहार र प्राकृतिक सुन्दरताले लोभ्याइरहने बताउँछिन्। स्याङजाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टे व्यवसाय हाल देशभर फैलिएको छ । होमस्टे महासंघ वाग्मती प्रदेशका अध्यक्ष गोविन्दप्रसाद हुमागाईंका अनुसार हालसम्म सिन्धुलीसहित ६८ जिल्लामा होमस्टे सञ्चालनमा छन्। १ हजार ५ सय होमस्टे संस्थागतरुपमा दर्ता छन्।

देशभर २२ हजार घरमा होमस्टे सञ्चालनमा रहेको उनी बताउँछन्। वाग्मती प्रदेशमा मात्रै १ सय २५ होमस्टे संस्थागतरूपमा दर्ता छन्। यसमध्ये ७५ होमस्टे सामुदायिक र अन्य निजीरूपमा चलेको तथ्यांक छ।