BIZMANDU
www.bizmandu.com

एनएसीले जहाज ल्याउन अध्ययन समिति बनायो, दुई न्यारोबडी र दुई एटीआर थप्ने

२०७९ चैत्र २

एनएसीले जहाज ल्याउन अध्ययन समिति बनायो, दुई न्यारोबडी र दुई एटीआर थप्ने
एनएसीले जहाज ल्याउन अध्ययन समिति बनायो, दुई न्यारोबडी र दुई एटीआर थप्ने

काठमाडौं। नेपाल वायुसेवा निगमले जहाज थप्न अध्ययन थालेको छ। निगमले उपमहाप्रवन्धक जनक कालाखेतीको संयोजकत्वमा गठन गरिएको समितिले अध्ययन सुरु गरेको हो।

Tata
GBIME
Nepal Life

‘अध्ययन कमिटीले अन्तर्राष्ट्रिय तर्फ दुईवटा एयरबसको न्यारोबडी र आन्तरिक तर्फ स्टलका लागि तीनवटा ट्विनअटर र ट्रंक रुटका लागि दुईवटा एटीआर जहाज ल्याउन अध्ययन गरिरहेको छ,’निगमका एक कर्मचारीले भने,’संचालक समितिको निर्देशन अनुसार गरिएको यो अधययन पुनः संचालक समितिमा पेश गरिन्छ। त्यसपछि पर्यटन मन्त्रालयबाट प्रक्रिया सुरु हुनेछ।’        

अन्तर्राष्ट्रिय उडानका लागि थप दुईवटा न्यारोबडी जहाज ल्याएपछि मलेसिया, दिल्ली, दुवई, दोहा, बैंग्लोर लगायत विभिन्न गन्तब्यमा निगमले उडान संख्या विस्तार गर्ने उनले जानकारी दिए।

उनका अनुसार हाल यी गन्तब्यमा साताको पाँच-पाँचवटा उडान हुँदै आएको छ। निगमले ड्राइ लिजमा जहाज ल्याउने गरि प्रकिया अगाडि बढाइनेछ।

स्टल रुटका लागि तीनवटा ट्विनअटर जहाज खरीद गर्ने योजना बनाएको निगमले सुगम गन्तब्यका लागि दुईवटा एटीआर-७२ सिरिजको जहाज ल्याउने योजना बनाएको छ।

पाँचवटा चिनियाँ जहाजको मूल्यांकन आइतबारदेखि

तीन वर्ष यता ग्राउण्डेड चिनियाँ जहाज विक्रीका लागि निगमले आइतबारबाट मूल्यांकन सुरु गर्ने योजना रहेको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन्।

यसका लागि निगमले अमेरिकाको एभियन एसेट म्यानेजमेन्ट कम्पनीका प्रतिनिधि आइतबार काठमाडौं आउने उनले बताइन्। कम्पनीका प्रतिनिधिले एक महिनाभित्रै जहाजको मूल्यांकन पेश गर्ने उनले जानकारी दिइन्।

‘हामीले सर्टलिस्ट गरेर एभियनलाई यो जिम्मा दिएका हौं। यो कम्पनीका प्रतिनिधि आइतबारै आएर काम सुरु गर्ने तालिका रहेको छ,’ उनले भनिन्,’मूल्यांकनसँगै हामी विक्री प्रक्रिया अगाडि बढाउनेछौँ।’

हाल निगमले दुईवटा एयरबस-३२० र दुईवटा एयरबस-३३० सिरिज गरी कुल चारवटा जहाजमार्फत दिल्ली, मुम्वई, बैंग्लोर, थाइल्याण्ड, हङकङ, जापान, साउदी अरेविया, दुवई, कतार, मलेसिया लगायत विभिन्न गन्तब्यमा नियमित उडान गर्दै आएको छ।