BIZMANDU
www.bizmandu.com

दुई ठूला व्यापारिक घराना शंकर र विशाल ग्रुपबीच युद्धविराम, हानी नोक्सानी नपुर्‍याउने सहमति

२०७९ चैत्र २

दुई ठूला व्यापारिक घराना शंकर र विशाल ग्रुपबीच युद्धविराम, हानी नोक्सानी नपुर्‍याउने सहमति
दुई ठूला व्यापारिक घराना शंकर र विशाल ग्रुपबीच युद्धविराम, हानी नोक्सानी नपुर्‍याउने सहमति

काठमाडौं। शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवालले एक वर्षअघि अर्थ मन्त्रालयका एक उच्च अधिकारीलाई भेटेर विशाल ग्रुपलाई ‘समाप्त’ पार्न आफू जतिसुकै खर्च गर्न तयार रहेको बताए।

Tata
GBIME
Nepal Life

‘विशाल ग्रुपलाई व्यवसायिक रुपमा ध्वस्त बनाउन जतिसुकै पैसा चाहिए पनि म दिन तयार छु,’ शंकरले भनेका थिए, ‘तपाईंहरुले राजस्व लगायतका अनुसन्धान अघि बढाएर मेरो चाहना पूरा गरिदिनुपर्‍यो।’ शंकरलालको यो प्रस्तावले पनि दुई व्यापारिक घरानाबीचको लडाईँ कुन हदसम्म पुगेको थियो भन्ने प्रष्ट हुन्छ।

शंकरलालको यो इखका बारेमा विशाल समूह पनि जानकार नभएको होइन। त्यसमा पनि विशाल ग्रुपसँग राजनीतिक राप र धाप दुवै थिएन। त्यसपछि विशाल ग्रुपका प्रबन्ध निर्देशक अशोककुमार अग्रवाल शंकरलालसँग व्यवसायिक सम्बन्ध सुधार्नुपर्ने निष्कर्षमा पुगे।

अशोकले विशाल ग्रुपका आफ्ना सदस्यलाई शंकर ग्रुपसँग सम्बन्ध नसुधारेमा व्यवसायिक क्षेत्रमा ठूलो क्षति व्यहोर्नुपर्ने जानकारी गराए। परिवारका केही सदस्यहरुले राजनीतिक शक्ति प्रयोग गरेरै भएपनि शंकर ग्रुपसँग झुक्न नहुने अडान राखेका थिए।

तर, अशोकले सबै वस्तुस्थिति बुझाएर शंकर ग्रुपसँग छलफल गर्नुपर्ने भन्दै मनाउन सफल भए। अशोकले सम्बन्ध सुधारका लागि छलफल गर्न आफू तयार रहेको म्यासेज पठाए। यो म्यासेज शंकरलालसम्म पुग्यो। शंकरलालले कुनै हालतमा विशाल समूहसँग छलफल नगर्ने अड्डी कसे। तर, शंकर ग्रुपका केही सदस्यले छलफलमा नै नबस्दा नराम्रो सन्देश जाने भन्दै उनलाई राजी गराए। लामो कसरतपछि शंकर ग्रुप र विशाल ग्रुपबीच छलफलको वातावरण बन्यो।

केही महिना अघि भएको छलफलमा शंकर ग्रुपबाट शंकरलाल, सुलभ, साहिल बसे भने विशाल ग्रुपबाट अशोक, अनुज र विशाल बसे। त्यो छलफलमा दुवै पक्षले एकअर्कालाई समाप्त पार्न विभिन्न षड्यन्त्र भएको भन्दै मन माझामाझ भयो।

शंकरलाल अग्रवालले आफ्नो छोरालाई कोभिडका बेलामा थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ गर्ने सबै योजना विशाल ग्रुपबाट भएको भन्दै रोष प्रकट गरे। तर, अशोकले थर्मल गनको मुद्दामा आफ्नो कुनै हात नरहेको भन्दै बचाउ गरे। त्यति मात्रै होइन संचारमाध्यममा आफ्नो समूह विरुद्ध समाचार लेख्न समेत विशाल समूह नै प्रयोग गरिएको आरोप पनि शंकरलालले लगाएका थिए।

तर अशोकले आफ्नो समूहले कसैलाई प्रयोग गरेर शंकर समूहलाई निशाना नबनाएको भन्दै आगामी दिनमा मिलेर जान प्रस्ताव राखेका थिए। स्रोतका अनुसार त्यसपछि एकअर्काविरुद्ध नलाग्ने, राजनीतिक लाभका आधारमा प्राप्त हुने लाइसेन्स लगायतका विषयमा लफडा नगर्ने लगायतको सहमति भएको छ। त्यो छलफलले दुई व्यापारिक घरानाबीचको तिक्तता भने केही कम भएको छ। उनीहरुबीच सौहार्द सम्बन्ध बनिसकेको छैन। तर, कर्पोरेट वार भने केही समयलाई रोकिएको छ।

कोभिडपछि भने सुरु भएको थियो मारामार

२०७६ साल चैत २५ गते शंकरलाल अग्रवालका जेठा छोरा सुलभ अग्रवाल थर्मल गनको कालोबजारीको आरोपमा प्रहरी हेडक्वाटर अघि समातिए। लक्ष्मणबाबु भवनमा रहेको अफिस अगाडि सुलभ पक्राउ परेपछि यो घराना नराम्रोसँग बदनाम भयो।

सुलभ पक्राउका लागि प्लट नै विशाल समूहले तयार पारेको सूचना शंकर ग्रुपले पायो। त्यो सूचना मात्रै होइन विशाल समूहका निर्देशक अनुज अग्रवाल नेपाल उद्योग परिसंघको उपाध्यक्ष थिए।

सुलभ पनि त्यही उपाध्यक्ष। परिसंघले सुलभ रिहाईका लागि औपचारिक पहल नगरेको बरु उल्टै निलम्बन गर्नुपर्ने तर्क अनुजबाट आएको सुइँको शंकर समूहले पायो। ती सबै सूचनाले शंकरलाल सबैभन्दा बढी आक्रोशित बनेका थिए। त्यसपछि यो दुई समूहबीच कर्पोरेट वार सतहमै आएको थियो।