BIZMANDU
www.bizmandu.com

बजारमा पैसा छैन, तैपनि कसरी नगदमै बिक्री हुँदैछन् महँगा गाडी ?

२०७९ चैत्र १

बजारमा पैसा छैन, तैपनि कसरी नगदमै बिक्री हुँदैछन् महँगा गाडी ?
बजारमा पैसा छैन, तैपनि कसरी नगदमै बिक्री हुँदैछन् महँगा गाडी ?


काठमाडौं। सरकारले तरलता अभाव भएको भन्दै महिनौदेखि महँगो बस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको थियो। तर, त्यसभन्दा अघि मुलुकमा भित्र्याइएका महँगा सवारीसाधनको बिक्रीमा भने त्यस्तो केही निर्देशन दिएको थिएन। यस्ता गाडीहरु भने बजारमा नगदमै धेरै खरिद-बिक्री भएका छन्।

Tata
GBIME
Nepal Life

बजारमा पैसा नभएको भन्दै बैंकहरुले समेत ऋण दिन मानिरहेका छैन्। अटो लोन लगभग ठप्पको अवस्था छ। यस्तो अवस्थामा पनि नेपालमा भने महँगा गाडी बिक्री भइरहेका छन्। हाल ६ करोड रुपैयाँसम्म पर्ने गाडीहरु पनि बिक्री भइरहेका छन्।

फोर्ड गाडीको आधिकारिक बिक्रेता जीओ फोर्डका अनुसार कम्पनीले मासिक रुपमा यो समयमा पनि ३ देखि ४ युनिट आफ्ना हाइरेन्जको गाडी बिक्री गरेको छ। बिक्री भएका गाडीमध्ये ५० प्रतिशत नगद नै जम्मा गरेर लैजानेहरु रहेको कम्पनीले जनाएको छ।

‘व्यक्तिगत रुपमा गाडी किन्नेहरु धेरै छन्। उनीहरुलाई गाडी किन्न केहीले पनि रोकेको छैन। गाडी मन पर्‍यो, नगद नै हालेर किनेका छन्,’ एक कर्मचारीले भने।

कम्पनीले २ करोड ४० लाख रुपैयाँसम्मको गाडीहरु बिक्री गर्दै आएको छ। र्‍याप्टर र रेन्जर धेरै बिक्री हुने गरेका छन्। यसका साथै डाउन पेमेन्ट गरेर गाडी खरिद गर्न चाहनेहरुको प्रक्रिया ७० प्रतिशत असफल हुने गरेको छ। त्यस्ता ग्राहक आउँछन्, दरभाउ मोलतोल गर्छन्, बैंक-फाइनान्ससँग कुरा नमिलेर निराश हुन्छन्।

यस्तै पुराना गाडीहरुसँग एक्सचेन्ज गरेर फोर्डका गाडी खरिद गर्नेहरु पनि छन्। उनीहरु मध्ये केहीले भने आफ्नो गाडीको मूल्यांकन पहिलेको तुलनामा कम पाएको गुनासो गर्ने गरेका छन्।

यसैगरी, टोयोटाको पनि नयाँ गाडीहरु नगदमा नै धैरै बिक्री हुने गरेको छ। टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सका अनुसार कम्पनीको हाइरेन्ज गाडीहरु व्यक्तिले खरिद गर्दा पनि नगदमा किन्ने गरेका छन्। यसमा पनि कम्पनीको धेरैजसो गाडीहरु कर नलाग्ने गरी सरकारी संस्था तथा कूटनीतिक नियोगहरुले खरिद गर्ने गरेका छन्।

त्यसभन्दा अन्य ४० प्रतिशत खरिदकर्ताहरुले भने नगदमा गाडी खरिद गर्ने गरेका कम्पनीले जनाएको छ।

यस्तै, नेपालमा अमेरिकन गाडी जीप बिक्री गर्दै आइरहेको एमएडब्ल्यु अन्तर्गतको एमएडब्लू लाइफका अनुसार हाइ-रेन्जको गाडी खरिद गर्न तरलताले रोकेको छैन। कम्पनीका एक कर्मचारीका अनुसार उनीहरुले बिक्री गर्ने गाडीहरुमा धेरैजसो ग्राहकहरुले ऋणमा भन्दा नगदमा गाडी खरिद गर्ने गरेका छन्।

‘महँगा गाडी नगदमा खरिद गर्न बजारमा भएको तरलताले मान्छेलाई खासै रोकेको देखिदैन। जसले ऋण/फाइनान्सिङमा किन्न चाहन्छन् उनीहरुलाई मात्रै गाह्रो हो,’ ती कर्मचारीले भने, ‘हाइ प्राइस रेन्जका गाडी किन्ने जमातलाई अहिलेको बजारको आर्थिक अवस्थाले असर पारेको देखिएको छैन।’

एमएडब्लू लाइफले १ करोडदेखि ३ करोड रुपैयाँसम्म मूल्यका जीपका गाडीहरु बिक्री गर्दै आएको छ। गत साउनदेखि हालसम्म १६ युनिट गाडी बिक्री भएको छ। यसका साथै राजदूतावासहरुले खरिद गर्ने ड्युटी फ्री गाडी पनि एक दर्जनभन्दा बढी बिक्री भएको कम्पनीले जनाएको छ।

यस्तै, हुण्डाइको हाइ रेन्ज गाडीको बिक्री पनि घटेको छैन। ८ वटा आयोनिक-५ नगदमा बिक्री भएको आधिकारिक बिक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ। आयोनिक-५ को बजार मूल्य एउटैको १ करोड १७ लाख छ। कम्पनीका अनुसार हालसम्म बिक्री भएका आयोनिक-५ मध्ये ८ वटा यही १० महिनाको समयावधिमा ग्राहकले नगदै हालेर लगेका छन्।

नेपाली बजारमा हालसम्म आयोनिक-५ का ७० युनिट बिक्री भइसकेको कम्पनीले जनाएको छ।

अर्को ब्रान्ड बीएमडब्ल्युको लक्जरियस कारहरु लक्ष्मी प्रिमियम मोटर्सले बिक्री गर्दै आएको छ। सेल्स हेड प्रबोध श्रेष्ठका अनुसार यसको महँगो मोडल एक्स-५ को यस अवधिमा नगदमा बिक्री भएको छ। यस अवधिमा बिक्री भएकामध्ये २५ प्रतिशत गाडी नगद र ७५ प्रतिशतमा पनि ग्राहकले उल्लेख्य रकम तिरेर थोरै मात्रै बैंक फाइनान्सिङमार्फत लगेका छन्। ‘प्रायजसो कम्पनीका नाममा गएका गाडीहरु नगदमै बिक्री भएका छन्। व्यक्तिगत नाममा भने यसरी गाडी खरिद गर्ने कमै हुने गरेका छन्,’ उनले भने।

२०७९ मा कम्पनीले ७९ युनिट गाडी बिक्री गरेको छ। यसमा २५ प्रतिशत गाडी नगदमा खरिद भएका छन्।

बीएमडब्ल्युमा सबैभन्दा महँगो सेभेन सिरिज हो, जसको मूल्य लगभग ६ करोड रुपैयाँसम्म छ। यस्तै एक्स-५ को ४ करोड १९ लाख रुपैयाँ छ।

अर्को मोडल सेभेन सिरिज ६ युनिट बिक्री भएको कम्पनीले जनाएको छ। उक्त मोडल मात्र बिक्री गरेर कम्पनीले लगभग ३६ करोडको कारोबार गरेको छ। यसैगरी ७९ युनिट अन्य मोडल बिक्री गर्दा कम्पनीले लगभग साढे २ अर्ब बराबरको कारोबार गरेको छ।

यस्तो छ महँगा गाडीहरुको मूल्य

नेपाली बजारमा पाइने उच्च मूल्यका गाडीहरु टोयोटा, बीएमडब्ल्यु, निसान, फोर्ड, फक्सवागन, टेस्ला, मित्सुबिसी, जीप, किया, हुण्डाइ लगायतका छन्। सबैका गाडी एक करोड रुपैयाँभन्दा माथिका छन्। पछिल्लो समय महिन्द्रा र टाटाले पनि करोडमाथि मूल्यका मोडल बजारमा ल्याएका छन्।

टोयोटाको बिक्रेता कम्पनी युनाइटेड ट्रेडर्सका अनुसार ल्यान्डक्रुजर ३०० मोडललाई ४ करोड ९५ लाख रुपैयाँ पर्छ। प्राडो भीएक्स एटीको मूल्य ३ करोड ३० लाख रुपैयाँ छ। प्राडो भीएक्स एमटीको मूल्य ३ करोड २२ लाख रुपैयाँ छ। यस्तै फर्चुनर एमटी र एटीको मूल्य २ करोड २२ लाखदेखि २ करोड ३२ लाख रुपैयाँ छ।

नेपाली बजारमा आएको लक्जरियस ब्राण्ड बीएमडब्ल्युका गाडी सबै महँगा छन्। बिक्रेता कम्पनी लक्ष्मी प्रिमियम मोटर्सका अनुसार सबैभन्दा महँगो बीएमडब्ल्यु एक्स-५ को मूल्य ४ करोड १९ लाख रुपैयाँ छ। बीएमडब्ल्यु-५ सिरिजको मूल्य २ करोड ८५ लाख ९६ हजार रुपैयाँ छ। यस्तै अन्य मोडलका गाडीहरु २ करोडदेखि २ करोड ७४ लाख रुपैयाँसम्मका छन्।

निसानले पनि नेपालमा १ करोडदेखि १ करोड ५४ लाख ९९ लाख रुपैयाँसम्मका गाडी बजारमा ल्याएको छ। यो ब्रान्डको आधिकारिक बिक्रेता पायोनिर मोटो कर्प हो। यसको एक्सट्रेल ७ सिटरको मूल्य १ करोड ५५ लाख रुपैयाँ र नभरा एमटीको मूल्य १ करोड २ लाख रुपैयाँ छ।

फोर्डको आधिकारिक बिक्रेता जिओ अटोमोबाइल्स हो। यो ब्रान्डडको गाडीहरु पनि नेपालमा २ करोड १७ लाख रुपैयाँसम्म महँगो छ। यसको एभरेस्ट २.० एल बीआई-टर्बोडिजल फोर ह्‍वीलरको मूल्य २ करोड १७ लाख रुपैयाँ छ। यस्तै कम्पनीले भर्खरै सार्वजनिक गरेको नेक्स्ट जेन फोर्ड एभरेस्टको मूल्य २ करोड ४० लाख रुपैयाँ छ।

नेक्स्ट जेनेरेसन रेन्जर रेप्टर ३.० लिटर जीटीडीआई १० एसपीडी एटीको मूल्य २ करोड १५ लाख रुपैयाँ छ। यस्तै अन्य मोडलहरु १ करोडदेखि १ करोड ४५ लाखसम्म छन्।

फक्सवागनको टाइगुन अलस्पेस हाइलाइनको मूल्य १ करोड ७५ लाख रुपैयाँ छ।

जीप गाडीको आधिकारिक बिक्रेता लाइफ अटोमोबाइल्सले बिक्री गर्ने गाडीहरुको मूल्य पनि १ करोडदेखि ३ करोडसम्म छ। यसको जीप र्‍याङ्लर अनलिमिटेड रुवीकनको मूल्य २ करोड ९९ लाख रुपैयाँ छ। यस्तै र्‍याङ्लर रुवीकनको मूल्य भने २ करोड ३८ लाख रुपैयाँ छ।

र्‍याङ्लर सहाराको मूल्य २ करोड ८८ लाख रुपैयाँ छ।

टेस्लाका १ करोड ५० लाखदेखि २ करोड ३५ लाख रुपैयाँसम्ममा गाडी नेपाली बजारमा छ। यसको आधिकारिक बिक्रेता आरती इन्टरनेशनलले मोडल वाइ लङ रेन्जको मूल्य २ करोड ३५ लाख र मोडल वाइ स्ट्यान्डर्ड रेन्जको मूल्य २ करोड १० लाख रुपैयाँ छ।

कियाको सोरेन्टो हाइब्रिड १.६ लिटरको मूल्य १ करोड ८० लाख रुपैयाँ छ। यस्तै, इसुजुको एमयु-एक्स फोरह्‍वील ड्राइभ मोडलको मूल्य १ करोड ५० लाख रुपैयाँ छ।