BIZMANDU
www.bizmandu.com

बालीमा विदेशी पर्यटकलाई मोटरसाइकल चलाउन प्रतिबन्ध लगाइदै, किन बन्यो यस्तो योजना?

२०७९ फागुन ३०

बालीमा विदेशी पर्यटकलाई मोटरसाइकल चलाउन प्रतिबन्ध लगाइदै, किन बन्यो यस्तो योजना?
बालीमा विदेशी पर्यटकलाई मोटरसाइकल चलाउन प्रतिबन्ध लगाइदै, किन बन्यो यस्तो योजना?

काठमाडौं। इन्डोनेसियाको बाली टापुमा ट्राफिक नियम तोड्ने घटना बढेपछि विदेशी पर्यटकलाई मोटरसाइकल चलाउन प्रतिबन्ध लगाउने भएको छ।

Tata
GBIME
Nepal Life

इन्डोनेसियाले बालीका टापुमा पछिल्लो समय यसरी ट्राफिक नियम तोड्ने विदेशी पर्यटकहरुको संख्या बढेको भन्दै त्यहाँको सरकारले विदेशी पर्यटकलाई मोटरसाइकल चलाउन प्रतिबन्ध लगाउने योजना बनाएको हो।

गभर्नर आई वायन कोस्टरले टापुमा मोटरसाइकल प्रयोग गरेर पुरुषहरुले शरीरका माथिल्लो भागमा कपडा नलगाई, हेलमेट बिना र इजाजतपत्र बिना पनि टापुमा घुम्न नपाइने बताएका छन्। उनका अनुसार पर्यटकहरू बरु ट्राभल एजेन्टहरूले उपलब्ध गराएको सवारीसाधनमा घुमफिर गर्न सक्नेछन्।

कोभिड महामारीका कारण भएको घाटाबाट पर्यटन क्षेत्रलाई पुन:उत्थान गर्दै गएको बेला यस्तो योजना बाहिर आएको हो।

स्थानीय प्रहरी रेकर्डका अनुसार फेब्रुअरीको अन्त्यदेखि मार्चको पहिलो हप्तासम्म एकसय ७१ भन्दा बढी विदेशी नागरिकले ट्राफिक नियम उल्लंघन गरेका छन्। कतिपय पर्यटकले नक्कली लाइसेन्स प्लेट पनि प्रयोग गरेको पाइएको छ।

‘यदि तपाई पर्यटक हुनुहुन्छ भने, पर्यटक जस्तै व्यवहार गर्नुहोस्,’ गभर्नरले भने।

बालीमा विदेशी पर्यटकहरू प्रायः टापुको वरिपरि घुम्न मोटरसाइकल भाडामा लिन रुचाउँछन्। त्यहाँ राम्रोसँग विकसित सार्वजनिक यातायात प्रणाली छैन। दुईपाङ्ग्रे सवारी साधनहरू लिएर यस टापुहरुमा यात्रा गर्न भित्री गल्ली र बाहिरी रमणीय स्थलहरुको अवलोकन गर्न सजिलो हुन्छ।

टापुहरु घुम्न जानलाई दुईपाङ्ग्रे सवारीसाधन राम्रो विकल्पको रुपमा मानिन्छ।

उक्त प्रस्तावित प्रतिबन्ध यसै वर्ष क्षेत्रीय कानून मार्फत लागू हुनेछ। तर यो कसरी लागू हुनेछ भन्नेबारे अहिलेसम्म स्पष्ट पारिएको छैन।

फिनल्याण्डका पर्यटक क्रिस्टोले प्रस्तावित प्रतिबन्धको समर्थन गरेका छन्। ‘धेरै सवारी चालकहरूले मदिरा पिएर अनि हेलमेट नलगाएरै सडकमा सवारी चलाउँछन्। यो धेरै खतरनाक छ।,’ उनले इन्डोनेसियाली समाचार वेबसाइट डेटिकलाई भने।

तर केही अपरेटरहरूले यसको व्यापारमा प्रभाव पार्ने चिन्ता व्यक्त गरेका छन्।

बालीको मोटरसाइकल भाडा संघका अध्यक्ष डेडेक वर्जनाले यो प्रस्ताव हतारमा भएको र अधिकारीहरूले यसरी प्रतिबन्ध लगाउनुको सट्टा नियम उल्लंघनमा कारबाही गर्नुपर्ने बताए।

बालीको उदयना विश्वविद्यालयका पर्यटन विषयका प्राध्यापक न्योमन सुक्मा अरिडाले यस्तो प्रतिबन्धले अन्य देशहरूको नजरमा इन्डोनेसियाको प्रतिष्ठालाई पनि नराम्रो असर पार्न सक्ने बताउँछन्।

ट्राफिक नियम उल्लंघनको बढ्दो संख्याले स्थानीय अधिकारीहरूले विद्यमान नियमहरूको कमजोर कार्यान्वयनलाई पनि औंल्याएको उनको भनाइ छ।

गभर्नरले दुर्व्यवहारको कारण रूस र युक्रेनका पर्यटकहरूको लागि भिसाको अन अराइभल अनुमति रद्द गर्ने योजना पनि घोषणा गरेका छन्। ‘दुई देशका धेरै मानिसहरू युद्धको बीचमा बाली आएका छन् तर स्थानीय नियमहरूको पालना गरिरहेका छैनन्।,’ उनले भने।

कोभिड महामारी अघि बालीको वार्षिक जीडीपीमा पर्यटनले करिब ६० प्रतिशत योगदान गरेको थियो। प्रान्तको तथ्यांक ब्यूरोका अनुसार जनवरी २०२३ मा अष्ट्रेलिया बालीमा विदेशी पर्यटकको सबैभन्दा ठूलो योगदान थियो।

बालीमा ९१ हजारभन्दा बढी अष्ट्रेलियालीहरू अवतरण भएका थिए। रुसले दोस्रो स्थान लियो। त्यस महिना करिब २२ हजार रुसी नागरिकहरूले यस प्रान्तको भ्रमण गरेका थिए।