BIZMANDU
www.bizmandu.com

विकास बैंकहरुले ब्याज घटाए, कम अवधिकोलाई थोरै ब्याज दिने, बचतको पनि घटायो

२०७९ फागुन २९

विकास बैंकहरुले ब्याज घटाए, कम अवधिकोलाई थोरै ब्याज दिने, बचतको पनि घटायो
विकास बैंकहरुले ब्याज घटाए, कम अवधिकोलाई थोरै ब्याज दिने, बचतको पनि घटायो

काठमाडौं। विकास बैंकहरुले मुद्दती निक्षेपको ब्याज दर घटाउँदै वर्गीकरण गर्ने निर्णय गरेको छ। संघले मुद्दती निक्षेपसँगै बचत खाताको ब्याज दरसमेत घटाउने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

चैत १ गतेदेखि लागु हुने ब्याजका सन्दर्भमा डेभलपमेन्ट बैंकर्स संघको बैठकले एक वर्षदेखि माथिको मुद्दतीमा एउटा र एक वर्षभन्दा कमको मुद्दतीमा अर्कोथरी ब्याज दिने निर्णय गरेको छ।

अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती निक्षेपको ब्याज जतिसुकै समय अवधिको भए पनि एउटै राख्दै आएका थिए।

विकास बैंकहरुले भने चैतबाट लागु हुने ब्याज दरलाई वर्गीकरण गरेका हुन्। उनीहरुले फागुनको तुलनामा चैतमा ब्याज केही कम गर्ने निर्णयसमेत गरेका छन्।

अहिले मुद्दती निक्षेपमा ११.७५ प्रतिशत ब्याज दिँदै आएका विकास बैंकहरुले एक वर्षदेखि माथिको ब्याज दर ०.१५ प्रतिशत बिन्दुले घटाएर ११.६० प्रतिशत दिने निर्णय गरेका छन्।

एक वर्षभन्दा कमको ब्याज दर ०.२५ प्रतिशत बिन्दुले घटाएर ११.५० प्रतिशत कायम गर्ने निर्णय गरेका हुन्।

बचत खाताको ब्याज पनि घटाइएको छ। बचतको ब्याज साबिकभन्दा ०.१५ प्रतिशत बिन्दुले घटाएर ६.६ प्रतिशत कायम गर्ने निर्णय गरेको हो। यो न्युनतम ब्याज हो। बचतमा विकास बैंकहरुले अधिकतम ८.६ प्रतिशतसम्म ब्याज दिने छन्।

केही दिनअघि वाणिज्य बैंकहरुले मुद्दतीको ब्याज यथावत राखेर बचतको घटाउने निर्णय गरेका थिए। उनीहरुले मुद्दतीको ११ प्रतिशत राखेका छन् भने बचतको अहिलेको ६.४२ देखि ८.४ प्रतिशतसम्मको ब्याज दरलाई घटाएर ६ देखि ८ प्रतिशत कायम गर्ने निर्णय गरेको थियो।

वाणिज्य बैंकहरुको संगठन नेपाल बैंकर्स संघले सदस्य सबै बैंकर राखेर ब्याज घटाउने निर्णय गरेको थियो। उसले सबै अवधिको मुद्दतीको ब्याज समान राखेको छ। मुद्दतीको ब्याज समान हुँदा पोहोर कुल निक्षेपमा ४७ प्रतिशत हिस्सा रहेको मुद्दती खाताको हिस्सा अहिले बढेर ६५ प्रतिशत पुगेको छ। यसले बैंकहरुको लागत बढाउन ठूलो भूमिका खेलेको छ।

बैंक तथा वित्तीय संस्थाहरुले गरिरहेको गल्तीलाई चैत १ गतेबाट विकास बैंकहरुले भने सच्याउन खोजेका छन्।

फाइनान्स कम्पनीहरुले पनि आजै ब्याज घटाउने निर्णय गर्दैछन्।

‘ब्याज घटाउनै पर्ने अवस्था आएको छ,’ संघका अध्यक्ष प्रद्युमन पोखरेलले बिजमाण्डूसँग भने, ‘अहिले हामीले सांकेतिक रूपमा घटाएका छौं। निक्षेपको ब्याज केही घट्यो भने ऋणको पनि घट्ने छ। ऋणको ब्याज घट्दा सबै पक्षलाई राम्रो हुन्छ।’

अहिले तरलतामा सुधार भएको, कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) निकै सहज भएको जानकारी दिँदै उनले ऋणको ब्याज महँगो भएकै कारण लगानी हुन नसकेको बताए।

‘रकम थुप्रिएको छ। त्यसैले ब्याज घटाएर लगानी गर्नु पर्ने अवस्था आएको छ,’ उनले भने, ‘ब्याज बढी हुँदा खराब ऋण पनि बढ्न थालेको छ।’