BIZMANDU
www.bizmandu.com

निक्षेपमा १५ वर्ष यताकै भारी गिरावट, अमेरिकी बैंकले गरे निक्षेप दर बढाउने घोषणा

२०७९ फागुन २८

निक्षेपमा १५ वर्ष यताकै भारी  गिरावट, अमेरिकी बैंकले गरे निक्षेप दर बढाउने घोषणा
निक्षेपमा १५ वर्ष यताकै भारी गिरावट, अमेरिकी बैंकले गरे निक्षेप दर बढाउने घोषणा


काठमाडौं। निक्षेपमा १५ वर्ष यताकै सर्वाधिक गिरावट आएपछि अमेरिकी बैंकहरुले निक्षेप दर बढाउने निर्णय गरेका छन्। गत वर्ष प्रणालीबाट २७८ अर्ब डलर निक्षेप निस्किएका कारण बैंकहरुले डिपोजिट रेट बढाउने घोषणा गरेका हुन्।

Tata
GBIME
Nepal Life

अमेरिकी बैंकहरुले निक्षेपकै लागि यस्तो कसरत पछिल्लो १५ वर्षसम्म गर्नु परेको थिएन। फेडरल रिजर्भले ब्याज दरहरू माथि उठाउँदै गर्दा निक्षेपकर्ताहरूले न्यून प्रतिफलको बचत दर छाडेर ट्रेजरी बिलहरू जस्ता उच्च-लाभदायी विकल्पमा लगानी गर्न थालेका हुन्। 

सो अवधिमा फेड रेट बढेर ४.७५ प्रतिशत पुगेको छ। जुन सन् २००७ यताकै उच्च हो। त्यहीँ महँगी दर ६.४ प्रतिशत पुगेको छ। फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनको तथ्यांकअनुसार सन् १९४८ पछि पहिलो पटक वाणिज्य बैंकको निक्षेप यस्तो अनुपातमा घटेको हो। 

निक्षेपको निकासी रोक्न बैंकहरूले अन्ततः आफ्ना बचतका दरहरू उठाउन थालेका छन्। क्यापिटल वन फाइनान्सियल इंकसहित एक दर्जनभन्दा बढी अमेरिकी बैंकहरूले अब एक वर्षको मुद्दती निक्षेपमा ५ प्रतिशतसम्म ब्याज दिने प्रस्ताव गर्दै छन्। दुई वर्ष अघिको कुरा हेर्दा यस्तो दर अकल्पनीय रूपमा उच्च मानिन्थ्यो।  

गत फेब्रुअरीसम्म एक वर्षको मुद्दतीमा १.३६ प्रतिशत ब्याज दिँदै आएका थिए। वार्षिक औसत डेढ प्रतिशत ब्याज थियो। त्यही ट्रेजरी बिलहरूको प्रतिफल झन्डै ५ प्रतिशतसम्म थियो। ठूला बैंकहरूले पनि दबाब महसुस गरिरहेका छन्। वेल्स फार्गो एण्ड कम्पनीमा अहिले ११ महिना मुद्दती निक्षेप राख्दा ४ प्रतिशत प्रतिफल पाइने भएको हो। 

डिपोजिट ब्याजदरमा आएको उछाल उपभोक्ताहरू र व्यवसायहरूका लागि वरदान साबित भएको छ। त्यही अमेरिकी बैंकिङ उद्योगको लागत महँगिएको छ। विश्लेषकहरुका अनुसार यसले कर्जाको माग सुस्त हुनेछ।

साना र क्षेत्रीय बैंकहरूको लागि, निक्षेप गुमाउनु गम्भीर हुन सक्छ। जसको नाफामा ठूलो असर पर्न सक्छ। विश्लेषकहरु बैंकहरूको अगाडि चुनौतीपूर्ण स्थिति रहेको बताउँछन्। धेरैजसोले सुस्त अर्थतन्त्र र बढ्ने रोजगारीको पूर्वानुमान गर्न थालिसकेका छन्।