BIZMANDU
www.bizmandu.com

साना उद्यमीलाई बजारको पहुँच दिँदै फार्मर्स मार्केट, के तपाई पुग्नु भएको छ?

२०७९ फागुन २७

साना उद्यमीलाई बजारको पहुँच दिँदै फार्मर्स मार्केट, के तपाई पुग्नु भएको छ?
साना उद्यमीलाई बजारको पहुँच दिँदै फार्मर्स मार्केट, के तपाई पुग्नु भएको छ?

काठमाडौं। हरेक हप्ता शनिबार सच्चा कार्की १० बज्नु अगाडि नै लबिम मल पुग्छन्। आफूले नै बनाएका थरिथरि फ्लेवरका बेल्जियम चक्लेटहरू आफ्नो स्टलमा राख्छन्। र, बजार खुल्ने प्रतीक्षा गर्छन्। विहान १० बजे बजार खुल्नासाथ ग्राहक आउने जाने क्रम सुरू हुन्छ। 

Tata
GBIME
Nepal Life

नयाँ ग्राहकहरूलाई कार्की नेपालमा नै बनेको बेल्जियमका चकलटेको स्वाद चखाउनेदेखि आफ्नो चकलेट ब्राण्ड चोकोफलको बारेमा बुझाउनमा दिनभर व्यस्त हुन्छन्। ग्राहकहरूको प्रतिक्रिया पनि लिन्छन्। चकलेट बिक्री गर्छन्। लबिम बजारमा दिनभर बस्दा ५ हजारदेखि २० हजार रूपैयाँसम्म व्यापार हुने उनले बताए। 

बेल्जियमबाट चकलेट मेकिङमा डिप्लोमा गरेर नेपाल फर्केका सच्चाले करिब दुई वर्ष अगाडि चोकोफल सुरू गरेका हुन्। ‘चोकोफलको आउटलेट नै खोलेर बिजनेस सुरू गर्ने प्लान थियो। तर, कोरोना संक्रमणबीच आउटलेट खोल्नु उचित नभएको सोचेर मैले फार्मर्स मार्केटमा राखेर नै सुरू गरें,’ उनी उत्साहित हुँदै भन्छन्, ‘मासिक रेन्ट तिर्न नपर्ने, सस्तो पनि हुने। सँगै नयाँ-नयाँ ग्राहकहरूलाई पनि स्वाद चखाउन पाइने, प्रतिक्रिया लिन पाइने। आफ्नो ब्राण्ड चिनाउन पनि पाइने।’

आफ्नो उत्पादनलाई बजार खोजिरहेका सच्चालाई लबिम बजारले दुई वर्षदेखि ग्राहकसँग जोड्ने माध्यम दिएको छ। यो बजारले चोकोफल जस्तै ९० भन्दा बढी साना व्यवसायीलाई कारोबार गर्न सहज बनाएको छ।

काठमाडौं उपत्यकामा देशभरबाट मानिसहरु आएर बसोबास गरेका छन्। बजार दिनरात चलेको छ। मुलुकका कुनाकन्दराका उत्पादितदेखि संसारका दुई सयभन्दा बढी मुलुकबाट आयातित खाद्यवस्तु बजारमा किनबेच हुने गरेको छ। काठमाडौंमा खान चाहनेले खोजेका वस्तु नपाइने विरलै हुनुको कारण यही हो। तर, पूर्वपश्चिम जस्तो सातामा एक दिन लाग्ने हाटबजारको चलन उपत्यकामा छैन।

साना व्यवसायी, किसान र ग्राहकलाई प्रत्यक्ष जोड्ने हाटबजार संस्कृतिबाट प्रेरित भएर लबिम जस्ता बजार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा लाग्न सुरु भएको हो।  

लाजिम्पाटस्थित ले सेर्पामा हरेक हप्ता शनिबार विहान ७:३० देखि दिउँसो १२:३० बजेसम्म फार्मस मार्केट लाग्ने गर्छ। यहाँ ९० जना विक्रेताले आ-आफ्नो उत्पादनको स्टल लगाउँछन्। प्रदर्शनी र बिक्री गर्छन्।

त्यस्तै, बौद्धस्थित उत्पला क्याफेमा हरेक हप्ता शनिबार विहान ८देखि २बजेसम्म करिब ५० भेन्डरहरूले आफ्नो उत्पादन बिक्री गर्छन्। ठमेलको छाया सेन्टरमा शुक्रबार १२:३० देखि ६ बजेसम्म यस्तै बजार लाग्ने गर्छ। धेरैजसो बिक्रेताहरूले वर्षौंदेखि नै स्टल लगाइरहेको यस्ता बजारका व्यवस्थापन गर्दै आएका बताउँछन्।

यी बाहेक, एल्लो हाउस लगायतका ठाउँहरूमा पनि परम्परागत हाट बजारको झल्को दिने यस्ता बजारहरू लाग्ने गर्छन्। जसले सयौँ लोकल भेन्डर तथा साना व्यवसायलाई बजार विस्तारमा हातेमालो पुर्‍याइरहेका छन्। यस्ता बजारहरूले किसानदेखि साना घरेलु उद्योगका उत्पादनहरूलाई प्रत्यक्ष ग्राहकहरूसँग जोडिरहेका छन्।

सानो लगानीमा व्यवसायहरू सुरु गर्नेहरूसँग बजारको राम्रो पहुँच हुँदैन। कतिलाई त आफ्नो उत्पादन ग्राहक तथा बजारको माग अनुकूल छ/छैन पनि थाहा नहुन सक्छ। साप्ताहिक रुपमा लाग्ने यस्ता बजारहरूले साना व्यवसायी, स्टार्टअप व्यवसायी तथा किसानहरूको लागि पनि मार्केटिङ तथा आफ्नो उत्पादनको बजारीकरण गर्न राम्रो प्लेटफर्म बनेको छ।

विगत ६ वर्षदेखि उत्पला क्याफेमा फार्मर्स मार्केट व्यवस्थापन गर्दै आएका दीपक बोहरा भन्छन्, ‘हामीले लोकल किसान तथा उत्पादनहरूलाई प्रमोट गर्नका लागि नै फार्मर्स मार्केट सुरु गरेका हौं। यो बजारबाट थोरै शुल्कमै आफ्नो उत्पादन ग्राहकसमक्ष चिनाउन सकिन्छ, बिक्री हुन्छ र उत्पादकले उपभोक्तामा आफ्नो लागि राम्रो प्रभाव बनाउन पनि सक्छन्।’

उत्पला क्याफेमा कुनै उत्पादकले आफ्नो स्टल लगाउन ५०० रुपैयाँ मात्र तिर्नु पर्ने दीपक बताउँछन्। त्यस्तै, भेन्डरले एउटा टेबलका लागि लबिम बजारमा ९०० रुपैयाँ तिर्छन् भने ले शेर्पामा त्यसको ८०० रुपैयाँ। 

आफ्नै भौतिक स्टोर या पसल नहुँदा कुनै पनि उत्पादकहरूले आफ्नो उत्पादन बजारसम्म पुर्‍याउन बिचौलियादेखि अनलाइन प्लेटफर्मको सहायता लिइरहेका हुन्छन्। जसले गर्दा उनीहरूले उपभोक्ता तथा ग्राहकहरूसँग प्रत्यक्ष रुपमा जोडिन पाउँदैनन्। फलस्वरूप, व्यवसायले राम्रो गति लिन सक्दैन।

करिब १५ वर्षदेखि अर्गानिक धर्मा सञ्चालन गर्दै आएकी तारा अधिकारीले ६ वर्षदेखि नै उत्पला क्याफेको फार्मर्स मार्केटमा आफ्नो स्टल राख्दै आएकीछन्। लोकल घ्यू, मह, बेसार, किन्वा लगायतका अर्गानिक उत्पादनहरू बिक्री गर्छिन्। 

अनलाइनबाट पनि बिक्री गर्दै आएकी उनी भन्छिन्, ‘जसरी प्रत्यक्ष रुपमा ग्राहकहरूलाई आफ्नो प्रोडक्टहरूको बारेमा फार्मर्स मार्केटमा बुझाउन सकिन्छ, त्यसरी अनलाइनबाट सकिदैन। सेल्स पनि राम्रै हुन्छ। कुनै दिन त २० हजारसम्म पनि हुने गर्छ। कतिले कार्डहरू लिएर जानुहुन्छ र पछि अर्डर पनि गर्नु हुन्छ।’

अर्गानिक ताजा तरकारी, लोकल दाल, मसला, मह, अचार, जाम, हर्बल चियादेखि हस्तकला, लुगाफाटा र गहनासम्मका विभिन्न प्रकारका उत्पादनहरु एकै ठाउँमा पाइने हुँदा हरेक हप्ता सयौँ मानिसहरू यस्ता बजार पुग्ने गर्छन्।

करिब १० वर्ष अघि १९ओ५ रेस्टुरेन्टमा फ्रान्कोइस ड्रियार्डले फार्मर्स मार्केट सुरु गरेका थिए। त्यो सन् २०१४ मा ले शेर्पामा सर्‍यो, त्यहाँ हरेक हप्ता शनिबार एक हजारभन्दा बढी भिजिटरहरू आउने गरेको उक्त मार्केट व्यवस्थापन गर्दै आएकी रेचलले बताइन्। 

विदेशी एक्सप्याक्ट समुदायदेखि  नेपाली युवाहरू सबैलाई यस्ता बजारले तानिरहेको छ। लबिम बजारमा पनि ५ हजारदेखि ७ हजार जनासम्मको आवागमन हुने बजार संचालक डोल्मा श्रेष्ठले बताइन्। 

डोल्मा र दीपकका अनुसार बजारमा स्टल लगाउनका लागि भेन्डरहरू चयन गर्दा उनीहरूले विशेष प्राथमिकता स्थानीय रूपमा नेपालमा आफ्नो उत्पादन बनाउने तथा किसानहरू आफैंलाई, रैथाने उत्पादन गर्ने, या कुनै युनिक सामानहरू बनाउनेलाई दिने गरेको बताउँछन्।

दीपक सुनाउँछन्, ‘हामीले पहिला इच्छुक विक्रेताहरूलाई एउटा गुगल फारम भराउन लगाउँछौँ  र चयन गर्छौँ। सकेसम्म हामी कुनै पनि उत्पादन नदोहोरियोस भनेर पनि ध्यान दिन्छौँ।’

उत्पला क्याफेमा स्टल लगाउन घ्यू, मह बेच्ने तारादेखि ताजा अर्गानिक तरकारी बेच्ने किसान, ह्याण्डमेड गहना बेच्ने, हेम्पबाट बनेको लुगा उत्पादन गर्ने, लोकल दाल, मसला, आचार उत्पादन गर्ने साना उद्यमीहरू आउने गर्छन्। 

दीपक भन्छन्, ‘हामी कहाँ हप्ता भरि काम गरेर बिदाको दिन यहाँ खानाको लाइभ काउन्टर संचालन गर्ने पनि हुनु हुन्छन। सधैं सबैको एक्कैनासको व्यापार बिक्री नभए पनि सामान्यतया एउटा बिक्रेताले ५ हजारदेखि २०/३० हजारसम्म कमाउने गर्छन्। समान हेरि-हेरि रकम तलमाथि हुने गर्छ।’

डोल्माको कुरा पनि दीपकसँग मिल्न जान्छ, ‘सेकेन्ड ह्याण्ड लुगाफाटा, मेड इन् नेपाल लुगा, गहना, तितौरा, अचार, पेंटिङ , तेल लोकल चिया जस्ता स्टल लाग्ने गर्छ हाम्रो बजारमा। एउटा भेन्डरले १० हजारदेखि २०/३० हजारसम्म कमाउने गर्छन्। विशेषगरि खाने कुराको सेल्स राम्रो हुने गर्छ। बिक्रीका साथै मार्केटिङको राम्रो प्लेटफर्म पाउँदा सबै जसो भेन्डरहरू खुसी नै हुनुहुन्छ।’

यसैले पनि तारा, सच्चा लगायतका धेरै जना साना उद्यमीहरू यस्ता बजारहरूमा साप्ताहिक बजारमा आफ्ना उत्पादनहरू पस्किरहेका छन्।