BIZMANDU
www.bizmandu.com

सुधारतर्फ उन्मुख बेलायती अर्थतन्त्र, आर्थिक वृद्धिदर अपेक्षाभन्दा सुधारियो

२०७९ फागुन २६

सुधारतर्फ उन्मुख बेलायती अर्थतन्त्र, आर्थिक वृद्धिदर अपेक्षाभन्दा सुधारियो
सुधारतर्फ उन्मुख बेलायती अर्थतन्त्र, आर्थिक वृद्धिदर अपेक्षाभन्दा सुधारियो

काठमाडौं। सन् २०२२ मा आर्थिक मन्दीमा जानबाट मुस्किलले बचेको बेलायतको अर्थतन्त्र यस वर्ष सुधारोन्मुख देखिएको छ। बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयका (ओएनएस) अनुसार गत डिसेम्बरमा ०.५ प्रतिशतले घटेको भएपनि यस वर्षको जनवरीमा बेलायतको अर्थतन्त्रमा ०.३ प्रतिशतको वृद्धि देखिएको छ। यो वृद्धिदर ०.१ प्रतिशतको अपेक्षित वृद्धिदर भन्दा राम्रो हो।

Tata
GBIME
Nepal Life

गतवर्ष मन्दीबाट जोगिएको बेलायत चालु वर्ष सन् २०२३ मा आर्थिक मन्दीमा जाने प्रक्षेपण बैंक अफ इङ्गल्याण्ड र अन्तर्राष्ट्रिय मुद्रा कोष  लगायत धेरैले गरेका थिए। तर कतिपयले भने बेलायत मन्दीबाट पूर्णतया जोगिने तर्क पनि अघि सारेका थिए।

क्रिसमसको बिदा हुने सातादिन अघिदेखि नै विद्यार्थीहरूको उपस्थिति घटेपछि डिसेम्बरको आर्थिक उत्पादन अपेक्षित भन्दा खराब बन्न पुगेको थियो। 

अझ अस्पतालमा शल्यक्रियाहरु तथा चिकित्सक भ्रमणमा आएको कमीले, फुटबल विश्वकप जारी रहँदा बक्सिङ डेसम्म प्रिमियर लिग फुटबल नहुँदा तथा मुद्रास्फीतिको विरोधमा उत्रिएका  नर्स, पोस्टल कर्मचारी, रेलवे तथा बसका कर्मचारी लगायतका हड्तालको कारण रेल तथा पोस्टल उद्योगहरुको लागि पनि गत डिसेम्बर ‘खराब महिना’ का रुपमा रहेको ओएनएसका आर्थिक तथ्याङ्क निर्देशक ड्यारेन मोर्गनले बताएका थिए।

सार्वजनिक सेवाको सन्दर्भमा ओएनएसले शिक्षकको पारिश्रमिक, विद्यालय र स्वास्थ्य सेवामा कति लगानी गरेको छ भन्ने कुरा मापन गर्दै आएको छ। ‘उनीहरूले प्रदान गर्ने सेवा अर्थतन्त्रको अत्यन्तै महत्त्वपूर्ण भाग भएकाले हामी यसलाई हाम्रो तथ्यांक मापनमा समावेश गर्छौं।,’ उनले भने।

कोरोना महामारीपछि बेलायतबाहेक बाँकी जी-सेभेन राष्ट्रहरूको अर्थतन्त्र सुधारोन्मुख भइरहेको बेला बेलायतको अर्थतन्त्र महामारीपछि सुस्त भएको थियो।

शुक्रबार ओएनएसले सार्वजनिक गरेको यस तथ्याङ्कले लगानीकर्ताहरूको बेलायतको केन्द्रीय बैंक, बैंक अफ इंग्ल्याण्डले यस महिना फेरि ब्याजदर बढाउने अनुमानलाई थप बलियो बनाएको छ। साथै, अमेरिकी डलर र यूरोको अनुपातमा पाउन्डको भाउ पनि बढेको छ।  

सेवा क्षेत्रमा विशेषगरी शिक्षा क्षेत्रमा भएको बाउन्सका कारण नै बेलायतको अर्थतन्त्रमा यो सुधार देखिएको  राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। डिसेम्बरमा विद्यार्थीहरूको उपस्थितीमा आएको भारी गिरावटपछि विद्यालयमा फर्केका बालबालिकाका कारण ०.३% वृद्धिदर भएको मोर्कोगनले बताए। यस वृद्धिदरको आधा हिस्सा नै शिक्षा क्षेत्रले ओगटेको उनले थपे। 

तर ओएनएसका अनुसार बेलायतको म्यानुफ्याक्चरिङ र निर्माण क्षेत्र अझै पनि संकुचित नै रहेको छ।

‘गम्भीर विश्वव्यापी चुनौतीहरूको सामना गर्दा, बेलायतको अर्थतन्त्र धेरैले अपेक्षा गरेभन्दा धेरै लचिलो साबित भएको छ। अझै धेरै कामहरू गर्न बाँकी छ।,’ अर्को साता वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जेरेमी हन्टले भने।

बजारहरूले वृद्धि डेटामा सकारात्मक प्रतिक्रिया देखाएता पनि मोर्गन भन्छन्, ‘सम्पूर्ण रूपमा पछिल्लो तीन महिनामा र वास्तवमा गत १२ महिनामा अर्थतन्त्रले शून्य वृद्धि देखाएको छ।’ (एजेन्सीको सहयोगमा)