BIZMANDU
www.bizmandu.com

सिंगापुरका ४३ युवा उद्यमी नेपालमा, ऊर्जा, सूचना प्रविधि र पूर्वाधारमा लगानी गर्न इच्छुक

२०७९ फागुन २६

सिंगापुरका ४३ युवा उद्यमी नेपालमा, ऊर्जा, सूचना प्रविधि र पूर्वाधारमा लगानी गर्न इच्छुक
सिंगापुरका ४३ युवा उद्यमी नेपालमा, ऊर्जा, सूचना प्रविधि र पूर्वाधारमा लगानी गर्न इच्छुक

काठमाडौं। आर्थिक मन्दीबाट गुज्रिरहेको बेला पूर्वाधार, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा लगानीको सम्भावना खोज्न सिंगापुरबाट ४३ जना युवा उद्यमी नेपाल आएका छन्।

Tata
GBIME
Nepal Life

उनीहरु विश्वका चर्चित ठूला कम्पनीसँग आबद्ध छन्। योङ प्रेसिडेन्ट अर्गनाइजेसन (वाइपीओ) नेपालको निम्तामा ती उद्यमी नेपाल आएका हुन्।

उनीहरु योङ प्रेसिडेन्ट अर्गनाइजेसन (वाइपीओ) सिंगापुर च्याप्टरसँग आबद्ध छन्। उनीहरुले लगानीको सम्भावना र अवसरबारे अध्ययन गर्ने छन्।

आर्थिक मन्दीले विश्व अर्थतन्त्र थलिएको अवस्थामा विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरुको प्रतिनिधित्व गर्दै उनीहरु लगानीको सम्भावना खोज्न नेपाल आउनुलाई उत्साहप्रद रूपमा लिन सकिन्छ। विशेषगरी भारतीय मूलका उच्च अधिकारीहरु यो टोलीमा समावेश छन्।

एयरबसका एसिया प्रशान्त क्षेत्रका कार्यकारी निर्देशक आनन्द स्ट्यानली यो टोलीमा छन्। वार्नर ब्रदर्स एसिया प्यासेफिकका अध्यक्ष क्लेमेन्ट श्वेबिग पनि नेपाल आएका छन्। सिंगापुरको पिटी ट्रान्सपावर मरिनकी भाइस प्रेसिडेन्ट कमिसनर इन्ग्रिड प्रस्त्य, एसियाली निजी इक्विटी फर्म विपिइएका पोर्टफोलियो व्यवस्थापन समितिका सदस्य र प्राविधिक सेवा टोलीका सह-प्रमुख जिमी महतानी पनि यो टोलीमा सामेल छन्।

स्रोतका अनुसार उनीहरुले नेपालमा कसरी वैदेशिक लगानी (एफडीआइ) भित्र्याउन सकिन्छ र नेपालमा कुन-कुन क्षेत्रमा लगानी गर्नु उपयुक्त छ भन्ने बारे सर्वेक्षण गर्नेछन्। मुख्यतया पूर्वाधार, आइटी र ऊर्जा क्षेत्रलाई उनीहरुले प्राथमिकतामा राखेका छन्।

शुक्रबार उनीहरुले नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीसँग अन्तरक्रिया गरेका थिए। यस क्रममा चौधरीले आफ्नो व्यावसायिक यात्राबारे बताउँदै उनीहरुलाई नेपाल लगानीका लागि उत्कृष्ट मुलुक भएको जिकिर गरे। यद्यपि आन्तरिक स्रोत सदुपयोग गर्न मुलुक स्वयम् असक्षम साबित भएको उनको बुझाइ छ। स्थानीय रूपमा उपलब्ध स्रोत साधनको अधिकतम उपयोगले मुलुक एसियाकै शीर्ष हुने दाबी उनले गरे।

उद्यमीहरुको सो टोलीलाई चौधरीले व्यावसायिक सफलता र प्रतिफलमात्र नभएर सामाजिक उत्तरदायित्त्वलाई पनि भुल्न नहुने सुझाव दिए। उनका अनुसार व्यवसायका प्रमुख योगदानकर्ता र सहयोगीलाई आत्मसात गरेर लैजाँदा प्रत्येक व्यवसायको पहुँच सहजै बिस्तार हुन्छ। जुन कुनै प्रचारप्रसारभन्दा कम प्रभावकारी नहुने उनको धारणा हो। 

प्रतिनिधिसभाका सदस्य समेत रहेका चौधरीले राजनीतिमा युवाहरुको प्रवेशसँगै दिगो राजनीतिक स्थिरता र समान धारणा विकास हुन थालेको विचार व्यक्त गरे। सचेत राजनीतिले सकारात्मक आर्थिक व्यवस्था निर्माण गर्न सहज हुने उनको भनाइ छ। नेपालको अर्थतन्त्र र राजनीतिक रुपान्तरणको समाधानलाई प्राथमिकता दिए लगानीमैत्री वातावरण निर्माण हुने उनले बताए।      

टोलीले चौधरीसँग उनको सफलताबारे जिज्ञासा राखेका थिए। यसको जवाफ दिँदै चौधरीले आफ्नो बिजनेस ग्रुप स्थापना गर्दा भारतीय टाटा ग्रुपबाट प्रेरणा लिएको जानकारी दिए। विशेषगरी टाटा ग्रुपले प्राथमिकता दिने गरेको सामाजिक रुपान्तरणबाट उनी निकै प्रभावित भएको त्यसक्रममा उनले बताए।  उनले टाटा ग्रुपअन्तर्गतको ताज होटल चेनमा लगानीको अवसरबारे पनि उल्लेख गरे।  

यस्तै उनले भारत र चीनको निकट सम्बन्धले नेपालको लगानी प्रतिस्पर्धी हुने जिकिर गरे। उनी स्वयमंले पनि भारतीय व्यवसायको अनुभवले आफू परिपक्क बन्न मद्दत गरेको बताएका थिए।  

बिहीबार टोली सद्‍गुरुको उपस्थिति रहेको भैरवी उत्सवमा पनि सहभागी थिए। नेपाल बसाईका क्रममा टोलीले बिभिन्न स्थानको अवलोकन भ्रमण गर्ने तालिका छ। शनिबार सगमाथा आधार शिविर जाने र त्यहाँ स्याम्पेन ब्रेकफास्ट गर्ने उनीहरुको योजना छ। यसका लागि देशमा संचालित ९ वटा हेलिकोप्टर कम्पनीहरुको हेलिकोप्टर चार्टरका गरिएको स्रोतले बताएको छ। स्रोतका अनुसार टोलीलाई कोङ्देमा ब्रेकफास्ट गराइनेछ। त्यहाँबाट फर्केर उनीहरुले बिभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरुमा पूजापाठ तथा अवलोकन गर्नेछन्।

सन् २०१८ मा चौधरीका जेठा छोरा निर्वाणलाई वाइपीओले सोसल इन्टरप्राइजेज नेटवर्क सस्टेनेबिलिटी अवार्डबाट सम्मानित गरेको थियो। हरेक वर्ष, वाइपीओले अवार्डमार्फत स्थानीय र विश्वव्यापी स्तरमा सकारात्मक सामाजिक परिवर्तनलाई बढावा दिने सदस्यहरूलाई सम्मान गर्ने गरेको छ। विनोद चौधरी स्वयमं पनि उक्त संघमा आबद्ध थिए।

को को छन् भ्रमण टोलीमा?