BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्रीमा १७ पल्ट हार खेपेका रामचन्द्र राष्ट्रपतिमा विजयी, महाधिवेशनमा ‘वाकओभर’ दिँदाको पुरस्कार!

२०७९ फागुन २५

प्रधानमन्त्रीमा १७ पल्ट हार खेपेका रामचन्द्र राष्ट्रपतिमा विजयी, महाधिवेशनमा ‘वाकओभर’ दिँदाको पुरस्कार!
प्रधानमन्त्रीमा १७ पल्ट हार खेपेका रामचन्द्र राष्ट्रपतिमा विजयी, महाधिवेशनमा ‘वाकओभर’ दिँदाको पुरस्कार!

काठमाडौं। १२ वर्षअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि एउटा जबर्जस्त ‘ट्याग’ लाग्यो – प्रधानमन्त्री चुनावमा १७ पटकको हार। २०६७ माघमा कांग्रेसका पौडेल प्रधानमन्त्री बन्ने ‘रेस’मा थिए। तर, एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालसँगको प्रतिस्पर्धामा उनको रेकर्ड यात्रामा ‘ब्रेक’ लाग्यो।

Tata
GBIME
Nepal Life

जतिबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेबाट झलनाथ खनाल उम्मेदवार थिए। पछि प्रतिस्पर्धाबाट प्रचण्ड बाहिरिए र झलनाथलाई सहयोग गरे। लगत्तै पौडेलको प्रधानमन्त्री बन्ने सपना मेटियो।

ब्याक टु ब्याक हार !

ठिक ६ वर्षअघि फागुनमै पौडेल कांग्रेस सभापतिमा भिडेका थिए। पहिलो ‘रेस’मा कृष्णप्रसाद सिटौला पनि सहभागी हुँदा सभापति चुनिएन। दोस्रो चरणमा सिटौलाको समर्थन शेरबहादुर देउवालाई रहेको थियो। ५२६ मतान्तरले नवौं सभापति देउवा बने। महिना दिनभित्रै देउवा र पौडेलको भिडन्त भयो संसदीय दलमा। तर केही सांसदले गुट फेर्दा पौडेल संसदीय दलको नेता बन्न सकेनन्। जसले प्रधानमन्त्री बन्ने अवसरको खुड्किलो पौडेलको लागि बन्द भयो।

विधानअनुसार ४ वर्षपछि पनि देउवाले महाधिवेशन गर्न सकेनन्। त्यतिबेला कांग्रेसको बलिया प्रतिपक्षी बने पौडेल। विधानको आपतकालीन टेको लगाउँदै देउवाले महाधिवेशनको समय धकेलिरहे। देउवालाई सकस पर्ने गरी नेतृत्वमा अघि बढेर ‘पौडेल गुट’ को बलियो नेतृत्व चलाउन रामचन्द्र सफल देखिए। त्यतिबेला देउवा प्रवृत्तिविरुद्ध खरो उत्रेका पौडेललाई जिल्ला सभापतिहरुको साथ थियो। पौडेलले कहिले जिल्ला सभापतिहरुको भेला डाकेर त कहिले आफ्नो पक्षका नेताहरुको भेला डाकेर देउवालाई दबाब दिइरहन्थे। देउवासँग पौडेल नोकझोंक गर्थे। यद्यपि देउवा सामु उनको केही चलेन।

विसं २०५१ देखि २०५५ सम्म सभामुख बनेका पौडेल प्रधानमन्त्रीमा चुन्न नसकेदेखि लगातार असफल बनिरहे। २०७४ सालको निर्वाचनमा पौडेल आफ्नै दौतरी गोविन्दराज जोशीका कारण तनहुँबाट चुनावमा पराजित भए।

त्यसपछि पौडेलमाथि असफलताको ‘ट्याग’ थप बढ्यो। पौडेलको आलोचना गर्ने थपिन थाले। यद्यपि, कांग्रेसमा देउवाविरुद्ध मोर्चा बनाउन लागि परे पौडेल।

कांग्रेसको १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धी बनेर पौडेलले देउवाविरुद्ध बदला लिने आपेक्षा धेरैको थियो। तर, आफ्नै पक्षका नेताहरुले नपत्याएपछि पौडेलले महाधिवेशनको मैदानबाट २०७८ मंसिर २४ गते हात उठाएर ‘वाकओभर’ दिए। मतदान गर्न समेत बोहोराटारबाट निस्केनन् पौडेल। संस्थापनइतरमा तितरबितर भएपछि देउवालाई निकै सजिलो भयो। प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङलाई दोस्रो राउन्डमा आफूतिर पारेर देउवाले चुनाव आफ्नो पक्षमा पारे। पौडेल चुप लाग्दा डा. शेखर समूहलाई घाटा भयो।

ग्राउन्ड छाडेर चुप लागेका पौडेल पछिल्लो समय देउवासँग निकट रहे। देउवा नगलेको देखेपछि भिड्नु ठिक रहेनछ भन्ने बुझेका पौडेल अदृश्य रुपमा देउवाकै सहयोगी बने। पुस्तान्तरणको नारा उछालेर आफूलाई नै ‘आउट’ गरेको झोंक हुनसक्छ, शेखर पक्षतिर पौडेल खुलेनन्।

विसं २००१ असोजमा तनहुँको रिस्ती बाहुनपोखरामा जन्मिएका पौडेल ७८ वर्ष लागेका छन्। यसले पनि पुस्तान्तरणको नारा उनको राजनीतिक उच्च बिन्दुमा तगारो बन्न पुगेको कतिपयको दाबी छ।

सर्वोच्च अदालतको परमादेशपछि बनेको देउवा सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रमा संयोजक रहेका पौडेल निर्वाचनपछि पनि कांग्रेस नेतृत्वको सरकार बनाउने सक्रिय थिए। पौडेलका लागि देउवासँगको निकटता यसरी फाइदा भयो कि आफूलाई बदला लिएका गोविन्दराजलाई पार्टीबाट निकाल्न सफलमात्र भएनन् उनी यसपटक निर्वाचित भएर आए तनहुँबाट।

यसो त माओवादीसँगको गठबन्धनका कारण पनि पौडेल चुनावी नदी पार गर्न सफल भएका थिए। कांग्रेस सबैभन्दा ठूलो दल भएपछि प्रधानमन्त्रीतिर नजर लगाउन सक्थे पौडेलले। त्यसो त चुनावी प्रचारमा पौडेलले आफूलाई देशले प्रधानमन्त्रीको भूमिकामा खोजेको बताउँदै आएका थिए। त्यतिबेला पहिलोपोस्टसँगको चुनावी अन्तर्वार्तामा पौडेलले आफू प्रधानमन्त्री बन्न पाए देशकै भलो हुने बताएका थिए।

तर, देउवा छँदाछँदै किन बोल्ने भनेर होला संसदीय दलको निर्वाचनमा पनि उनले यस पदमा कुनै चासो देखाएनन्। बरु देउवालाई नै उक्त पद छाडेर गठबन्धन मिलाउन लागि परे पौडेल।

पुस १० गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेबाट सरकारको नेतृत्व गर्ने ‘अफर’ आएसँगै बालकोट पुगे। त्यतिबेला गठबन्धन जोगाउन नसक्दा सबैभन्दा बढी कोही आत्तिएका थिए भने उनी पौडेल नै हुन्। पाँच दलीय गठबन्धनको हातमा केही नरहेको भन्दै पौडेल निस्केको केहीबेरमा प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटको बार्दलीबाट हात हल्लाएका थिए।

उनै पौडेल असफलता पन्छ्याउँदै आज राष्ट्रपति पदमा निर्वाचित भएका छन्। राजकीय र पार्टीको नेतृत्व लिने चुनावमा समेत निरन्तर हार व्यहोरेका पौडेललाई जितको खोलो फर्किन भने १२ वर्ष लाग्यो। सबै हार बिर्साउने गरी पौडेल बुधबार राज्यको सर्वोच्च पद राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

राष्ट्रपति बनेर शीतल निवास प्रवेश गर्दै गर्दा यो सेरेमोनियल पदको गरिमा निकै गिजोलिएको छ। डा. रामवरण यादवदेखि विद्यादेवी भण्डारीसम्म राष्ट्रपति बन्दा आफ्नो पार्टीतिर ढल्केको आरोप लागेको छ उनीहरु माथि। कतिपय घटना त्यस्तै भइदिएको छ पनि। जसले गर्दा अहिले राष्ट्रपति पददेखि प्रधानमन्त्री पद लिएरसमेत सत्ता हाँक्ने नेता त्रसित छन्।

यसपटक यो पदको दाबेदारलाई संविधानबारे धेरै पाठ सिकाउन खोजिएकोबाट प्रष्ट हुन्छ यो विषय। पौडेलले पनि पटकपटक आफूले शीतल निवासको गरिमामा आँच आउन नदिने बचन दिइसकेका छन्।