BIZMANDU
www.bizmandu.com

कार्यक्षमतामा अब्बल भएपनि कमाई व्यवस्थापनमा महिला कमजोर, जीवनको उत्तरार्ध कसरी सुरक्षित बनाउने?

२०७९ फागुन २५

कार्यक्षमतामा अब्बल भएपनि कमाई व्यवस्थापनमा  महिला कमजोर, जीवनको उत्तरार्ध कसरी सुरक्षित बनाउने?
कार्यक्षमतामा अब्बल भएपनि कमाई व्यवस्थापनमा महिला कमजोर, जीवनको उत्तरार्ध कसरी सुरक्षित बनाउने?


२१औं शताब्दीको यो समयमा विश्वभर महिलाहरु पुरुष सरह कार्यक्षेत्रमा डटिरहेका छन्। पितृसत्तात्मक संरचनालाई चुनौती दिँदै आफ्नो अधिकार र भूमिका लिएर घरभित्रको साँघुरो चौघेराबाट ठूला ठूला संस्थाका उच्च पद तथा देशकै महत्वपूर्ण भूमिकामा समेत महिलाहरु पुगिसकेका छन्।

Tata
GBIME

विश्वकै उदाहरण हेर्ने हो भने धेरै क्षेत्रहरुमा महिलाहरुले पुरुषले भन्दा पनि राम्रो कार्यक्षमता प्रदर्शन गरिहेको पाइन्छ। तर अझै पनि महिलाहरुले पुरुषले भन्दा कम आम्दानी गर्ने तथ्यांकले देखाउँछ। उनीहरुले बढी खर्च गर्ने र कम बचत गर्ने प्रवृत्ति पनि देखिन्छ। अधिकांश महिलाहरुले आफ्नो वित्तीय अनुशासन अनुसार भावी योजना बनाएको पाईंदैन।

समयक्रमसँगै महिलाहरुले शिक्षा र स्वतन्त्रता त पाए तर जबसम्म उनीहरु वित्तीय रुपमा निर्णय लिनसक्ने  क्षमता हासिल गर्दैनन् उनीहरुको जीवन सहज बन्न सक्दैन। अझ जीवनको उत्तरार्धमा महिलाहरुलाई आइपर्ने बिबिध समस्याहरुको सामना गर्नका लागि पनि बुद्धिमतापूर्ण वित्तीय योजना निकै महत्वपूर्ण हुन्छ। महिलाहरुले  बुद्धिमता ढंगले लिने वित्तीय निर्णयहरुले उनीहरुको प्रौढ अवस्थालाई अझ बढी भरथेग गर्ने विज्ञहरु बताउँछन्।

अहिलेको समयमा पैसा कमाएर मात्र पुग्दैन जिम्मेवार बनेर बचत र खर्चको पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसका लागि महिलाहरुले आफ्नो भविष्य सुरक्षित गर्ने र सामान्य कमाइको पनि कसरी सक्षम व्यवस्थापन गर्ने भन्नेबारे जानकारी र शिक्षा हासिल गर्नैपर्छ।

महिलाहरुले घरमा बालबच्चाको हुर्काइ र बुढापाकाहरुको स्याहरसुसारका लागि करियरका केही वर्षहरुमा जागिरलाई होल्ड नै गर्नुपर्ने अवस्था पनि आउँछ। यसका कारण करियरका लागि कम समय दिन पाउने महिलाहरुको वित्तीय सिमिताहरु धेरै हुन्छन्। कतिपय अवस्थामा उनीहरुले पूर्ण समय जागिरमा बिताउन नपाउँदा कम्पनीबाट पाउने बिभिन्न अवकाश योजनाहरु गुमाउनुपर्ने हुन्छ। यस्तै उनीहरुको करियर ग्रोथको संभावना र तलब बृद्धिका बाटाहरुपनि साँघुरिने अवस्था आइरहेको हुन्छ। कम्पनीहरुले महिलालक्षित विशेष कार्ययोजनाहरु ल्याएका हुन्छन् तर महिलाहरुले निर्वाह गर्नुपर्ने पारिवारिक जिम्मेवारीका कारण आय आर्जनका लागि धेरै समय दिन पाइरहेका हुँदैनन्।

त्यसैले महिलाहरुले परिवारका जिम्मेवारी उठाउन निर्वाह गर्ने भूमिकासँगै आफ्नो लागि जागिर नभएको अवस्था र करियर ब्रेकको समयमा आवश्यक पर्ने ‘इमरजेन्सी फण्ड’ बारे सोच्नु उत्तिकै महत्वूर्ण हुन जान्छ। महिलाहरुले घर किन्दाका बखत वा बालबालिकाको शिक्षाका लागि आफ्नो कमाई प्रयोग गर्नु महत्वपूर्ण भए झैं आफू बेरोजगार भएर बस्नुपर्ने संभावित अवस्थाका लागि पनि जोहो गर्नु अत्यावश्यक छ। योसँगै महिलाहरुले प्रौढ अवस्थामा आइपर्ने स्वास्थ्य सेवा तथा जीवनयापनका लागि आवश्यक खर्चका लागि पनि केही बचत छुट्याउँदा जीवनको उत्तरार्ध सहज बनाउन सकिन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार महिलाहरु पुरुषको तुलनामा औसतमा ६ देखि ८ वर्ष बढी बाँच्छन्। यो तथ्यांक अनुसार हेर्ने हो भने पनि महिलालाई पुरुषको तुलनामा बढी ‘क्यास रिजर्भ’को आवश्यकता पर्छ जसबाट उनीहरुले बुढेसकाललाई वित्तीय रुपमा सुरक्षित बनाउन सक्छन्।

वर्ल्ड जेन्डर ग्याप रिपोर्ट २०२२ लाई आधार मान्ने हो भने महिला र पुरुषबीच ज्यालामा समानता छैन। विश्वभरबाटै जेन्ड ग्यापलाई हटाउन अझै १३२ वर्ष लाग्ने उक्त प्रतिवेदनले देखाउँछ। कार्यस्थलमा महिलाहरुका लागि संकट अझै कायमै छ र विश्वभर नै लिंगका आधारमा महिलाहरुमाथि कार्यस्थलमा हुने बिभेदका घटनाहरुमा कमी आएको देखिँदैन। ‘जेन्डर पे ग्याप’ सँधै नै महिलाहरुको आय आर्जनको बाटोमा नसुधारिएको पाटोको रुपमा रहिरहेको छ। यी सबै कारणहरुले गर्दा पनि महिलाहरुले आफूलाई बित्तीय रुपमा सबल बनाउनका लागि पुरुषले भन्दा बढी चुनौतीको सामना गर्नुपरिरहेको छ।

कसरी बनाउने योजना

जागिरे जीवन र बैवाहिक जीवनको तालमेल मिलाउन महिलाहरुलाई कठिन भैरहेको हुन्छ। त्यसमाथि बच्चा जन्माउने योजना बनाएपछि महिलाहरुले झन बढी संवेदनशील हुनुपर्छ। उक्त समयका लागि महिलाले राम्रो स्वास्थ्य बीमा योजना किन्नु बुद्धिमानी हुन्छ । बीमाको निर्णय लिँदा महिलाको प्रजनन् स्वास्थ्य लगायत बच्चाको हेरचाहका लागि आवश्यक रकम पनि कभर गर्ने किसिमको बीमा योजना छान्नुपर्छ। सुन्दा सामान्य लागेपनि ‘बजेटिङ’ गर्नु सबैभन्दा राम्रो विकल्प हो। आफ्नो वित्तीय ब्यवस्थापन गर्दा कमाइ केमा खर्च भैरहेको छ भन्ने कुरा महिलाले थाहा पाउनुपर्छ। रिटायरमेन्ट फण्ड जस्ता योजनाहरुका लागि पैसाको लगानी गर्ने प्रतिबद्धता महिलामा हुनैपर्छ। । यस्ता फण्डहरुमा बचत गरिएको पैसा अनिवार्य बचत जसरी रहन्छ जसकारण  प्रौढ अवस्थामा खर्च गर्नका लागि सुरक्षित राख्न सकिन्छ।

बालबच्चा र घरमा रहेका बृद्धहरुको हेरचाहका लागि करियर ब्रेक लिनुपर्ने महिलाहरुको आय कतिबेला प्रभावित हुन्छ भन्नै सकिन्न। यस्तो अवस्थामा उनीहरुले हरेक वर्ष आफ्नो तलबमा बृद्धि हुनासाथ बचत रकमलाई पनि बढाउँदै लैजानु बुद्धिमानी हुनजान्छ।

महिलाहरुले ‘सिस्टमेटिक’ रुपमा आफ्नो लगानी योजनाहरुलाई विकसित गर्दै लैजाने र वित्तीय अनुशासनमा रहेर खर्च गर्ने हो भने बचत बढाउँदै लैजान सकिन्छ।

हाम्रो जस्तो महिलाहरुको साक्षरता दर नै कम भएको ‍देशमा वित्तीय अनुशासन सिक्नु र पैसालाई कसरी लगानी, बचत र बुद्धिमत्तापूर्ण ढंगले खर्च गर्ने भन्ने जान्नु पनि महिलाहरुको लागि चुनौतीपूर्ण विषय हो। उनीहरु केवल आफन्त वा साथीभाईको सल्लाह वा भनाईमा मात्र नलागी पैसा ब्यबस्थापनबारे जानकारसँग सिक्नु उत्तम हुन्छ।  आफ्नो वित्तीय अवस्थाको राम्रो आँकलन र व्यवस्थापनका लागि पनि यसबारे जानकार हुनु जरुरी हुन्छ।

वित्तीय व्यवस्थापन कसरी गर्न सकिन्छ?

भारतमा हालै भएको एक अध्ययनले के देखाएको छ भने त्यहाँका ५९%  महिलाहरु आफ्नो कमाईबारे स्वतन्त्र निर्णय लिन सक्दैनन् जबकी उनीहरु वित्तीय रुपमा स्वतन्त्र छन्।

घरायसी खर्च ब्यवस्थापनमा कुशल देखिएका महिलाहरु आफ्नै कमाईको ब्यबस्थापनमा भने स्वतन्त्र हुन नसकेको तथ्य आफैंमा आश्चर्यजनक छ। उस्तै किसिमको सामाजिक, सांस्कृतिक धरातल भएको नेपालको सन्दर्भमा पनि यो तथ्य उत्तिकै लागू हुन्छ।

घरायसी खर्चहरुको योजना, बजेटिङ र लगानीमा बुद्धिमतापूर्ण निर्णय लिने महिलाहरु आफ्नै संकटको समयका लागि भने बचत गरिराख्नुपर्छ भन्ने योजना बनाउनेतर्फ सचेत देखिँदैनन्।

बित्तीय व्यवस्थापन भनेको नगद वा सुन वा गरगहनामात्र हुन् त? के यो बैंकको मुद्दति बचतमा मात्र सिमित छ? बजार जोखिमलाई विचार गरेर गरिने पैसाको ब्यवस्थापन र लगानी गर्नुपर्ने हुन्छ? लगानीका निर्णय लिँदा आइपर्ने जोखिमहरुलाई कसरी चिन्ने? दुख गरेर कमाएको पैसा नोक्सान पो हुन्छ कि? यस्तै किसिमका विविध प्रश्न तथा आशंकाहरुले पनि महिलाहरु आफ्नो कमाईको सुरक्षित व्यवस्थापन गर्न डराइरहेका हुन्छन्।  

खासमा वित्तीय व्यवस्थापनको विषय त्यति धेरै जटिल पनि हुँदैन। महिलाहरुले आफ्नो कमाईलाई व्यवस्थापन गर्दा जोखिम लिने र त्यसलाई सही ढंगले व्यवस्थापन गर्न जान्ने चुनौती भने लिनुपर्ने हुन्छ। यसकालागि विज्ञहरुले पाँच किसिमका अवधारणालाई समान रुपमा अनुसरण गर्न सुझाएका छन्। उनीहरुले ‘फाइभ पी’ को अवधारणा बनाएका छन् जसले महिलाहरुको जीवनको पाँच समान क्षेत्रहरुलाई समेट्छ।

१. प्लान

महिलाले आफ्नो जीवनको लक्ष्य अनुसार पैसा प्रयास र समय लगानी गर्नुपर्छ। होममेकर हुन् वा कामकाजी महिला दुबैले आफ्नो जीवनसाथी, सन्तान वा अन्य कोही पनि व्यक्तिप्रति पूर्णरुपमा आश्रित हुनु नपर्ने गरीको वित्तीय योजना बनाउनुपर्छ। लगानीका औजारहरु महिलाको पारिवारिक पृष्ठभूमि अनुसार फरक हुन्छ। तर सिस्टमेटिक योजना भने सबैका लागि समानरुपमा आवश्यक हुन्छ।

२. प्रोटेक्ट

परिवार वा घरका लागि जागिर छोड्नुपर्ने बाध्यतामा परेका हुन्छन्। कसैले छोटो समयको करियरि ग्याप राख्छन् भने कसैको ग्याप बढी हुन जान्छ। यो समयमा गुम्ने बचतको लागि महिलाहरुले वित्तीय सुरक्षालाई प्राथमिकता बनाउनुपर्ने हुन्छ।

३. प्रोभाइड

महिलाहरुले कतिपय अवस्थामा घरायसी खर्चहरुमा योगदान गरिरहेका हुन्छन्। शिक्षा तथा स्वास्थ्य उपचारका लागि पनि उनीहरुले खर्च गर्ने जिम्मेवारी लिएका हुन्छन्। परिवारप्रतिको जिम्मेवारी पूरा गर्ना महिलाहरुद्ये आफ्नो अल्पकालीन र दिर्घकालीन आवश्यकता तथा संकटकालीन अवस्थाका लागि पनि बचत गर्नुपर्छ भन्ने तथ्यलाई विर्सनु हुँदैन।

४. पावर

महिलाहरु आय आर्जनमा लाग्नु र आफ्नो वित्तीय शक्ति हुनु भनेको शसक्तिकरणको पाटो पनि हो। महिलाहरुले आफ्नो वित्तीय आवश्यकता पूरा गर्न सक्ने क्षमता हुन्छ महिलाहरु ले आफ्नो पैसा कसरी ब्यवस्थापन गर्ने भन्ने बारेमा पनि जानकार हुँदै जान्छन्। यसबाट उनीहरुको वित्तीय लक्ष्य र लगानीको मान्यतालाई पनि बलियो ढंगले स्थापित गर्न बल पुर्याउँछ। यसबाट महिलालाई बलियो वित्तीय कन्फिडेन्स र सकारात्कमता दिन्छ।

५. प्रमोट

महिलाहरुले आफ्नो वित्तीय नियन्त्रण गर्ने सक्ने क्षमताले उनीहरुलाई सशक्तिकरणको बाटोमा लैजान्छ । सानो भएपनि यस्ता कुराले परिवर्तनको बाहकको भूमिका खेल्न थाल्छ। जब महिलाहरुले वित्तीय शिक्षा तथा स्रोतहरुमा पहुँच पाउँछन् उनीहरुले आफ्नो पैसाको कसरी सदुपयोग गर्ने भन्नेबारे स्थिर र सुरक्षित निर्णय लिन सक्ने हुन्छन्। यसले उनीहरुको जीवनमा महत्वपूर्ण वित्तीय अवस्था कायम गर्न सहयोग त पुग्छ नै सँगै जेन्डर वेल्थ ग्यापलाई घटाउन पनि मद्दत गर्छ।

विज्ञहरुले सुझाएका उपरोक्त ‘फाइभ पी’ अवधारणाले महिलाहरुलाई पैसाको बुद्धिमानीपूर्ण प्रयोगको स्वतन्त्रता दिन्छ। सुरुवात सानै रकमबाट किन नहोस्, लगानी गर्दा विज्ञहरुको सहयोग लिन धकाउनु पर्दैन। आफ्नो व्यक्तिगत कमाई र सम्पत्तिबारे निर्णय लिने सबैभन्दा महत्वपूर्ण व्यक्ति ‘स्वयम्’ नै हो। त्यसैले आफ्ना आवश्यकता र आयको मूल्यांकन गरी योजना बनाउनुपर्छ। बचत खाता,  मुद्दती खाता र बीमा योजनाहरुमात्रै होइन जटिल जस्तो  लाग्ने सेयर बजार र म्युचुअल फण्डहरुमा पनि लगानी गर्न सक्ने क्षमता बढाउँदै लैजान सक्नेगरी जानकारी हासिल गर्दै जानुपर्छ। वित्तीय अनुशासनको सिकाईले महिलाहरुलाई आत्मविश्वासी त बनाउँछ नै संकटको अवस्थाका लागि समेत उपयुक्त विकल्पको जोहो गर्न सक्षम बनाउँछ।