BIZMANDU
www.bizmandu.com

नेपाल टेलिकम र स्मार्टभन्दा एनसेलको भ्वाइस सेवा राम्रो, तर प्राधिकरणको मापदण्ड भने भेटेन

२०७९ फागुन २४

नेपाल टेलिकम र स्मार्टभन्दा एनसेलको भ्वाइस सेवा राम्रो, तर प्राधिकरणको मापदण्ड भने भेटेन
नेपाल टेलिकम र स्मार्टभन्दा एनसेलको भ्वाइस सेवा राम्रो, तर प्राधिकरणको मापदण्ड भने भेटेन


काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरेको भ्वाइस सेवा गुणस्तर परीक्षणमा एनसेल सेवा राम्रो रहेको पाइएको छ।

Tata
GBIME
Nepal Life

नेपाल टेलिकम र स्मार्टभन्दा एनसेलको भ्वाइस सेवा राम्रो रहेको देखिएको हो। तर, एनसेलले पनि प्राधिकरणको थ्रेसहोल्ड भने कटाउन सकेन।

प्राधिकरणले माघ २० देखि २४ गतेसम्म काठमाडौंका विभिन्न स्थानहरुमा ड्राइभ टेस्ट गरेको थियो। ग्वार्को, कोटेश्वर, पुरानो सिनामंगल, नयाँ बस्ती-बौद्ध, चाबहिल, गौशाला, सिफल, हाडिगाउँ, कपन, धुम्बाराही, बर्फेदी, भंगाल, हात्तीगौंडा र बुढानिलकण्ठ क्षेत्रमा भ्वाइस सेवा गुणस्तर परीक्षण गरिएको थियो।

प्राधिकरणले अपरेटरहरुको कल सफल हुने दर (कल सेटअप सक्सेस रेट), फोनकल लाग्ने समय (कल सेटअप टाइम), ग्रेड अफ सर्भिस (कल ब्लक रेट) र कल ड्रप दर परीक्षण गरेको छ।

यी स्थानहरुमा सबैभन्दा कमजोर सेवा स्मार्ट टेलिकमको देखिएको छ। सेवा संचालन सर्तअनुसार सरकारले बक्यौता नतिरी बसेको स्मार्टको सेवा सबैभन्दा कमजोर देखिएको प्राधिकरणको भनाइ छ।

स्मार्टको फोन कल सफल हुने दर (कल सेटअप सक्सेस रेट) जम्मा २६.३९ प्रतिशत छ। जबकि प्राधिकरणले ९९.९९ प्रतिशत वा सोभन्दा बढी हुनुपर्ने थ्रेसहोल्ड तोकेको छ। स्मार्टको फोनकल लाग्ने समय (कल सेटअप टाइम) पनि ११.९३ सेकेन्ड छ। जबकि प्राधिकरणले ५ सेकेन्ड वा सोभन्दा कम समयमा कल सेटअप हुनुपर्ने व्यवस्था गरेको छ।

स्मार्टको ग्रेड अफ सर्भिस (कल ब्लक रेट) ७३.६ प्रतिशत छ। प्राधिकरणले थ्रेसहोल्ड भने २ प्रतिशत वा सोभन्दा कम हुनुपर्ने तोकेको छ।

यस्तै, सरकारी स्वामित्वको नेपाल टेलिकमको फोन कल सफल हुने दर (कल सेटअप सक्सेस रेट) ८८.७८ प्रतिशत छ। फोनकल लाग्ने समय (कल सेटअप टाइम) ६.९७ सेकेन्ड छ। टेलिकमको ग्रेड अफ सर्भिस (कल ब्लक रेट) ११.२१ प्रतिशत छ। पछिल्लो केही महिना यता थोत्रो बिलिङ प्रणाली नफेर्दा टेलिकमको समय पटकपटक अवरुद्ध हुँदै आएको छ। जसका कारण प्राधिकरणको यो परीक्षणमा पनि टेलिकमले थ्रोसहोल्ड कटाउन नसकेको देखिन्छ।

त्यसैगरी, निजी क्षेत्रको दूरसंचार सेवा प्रदायक एनसेल नेपाल टेलिकम र स्मार्टभन्दा गुणस्तरीय भने देखिएको छ। तर, एनसेलले पनि प्राधिकरणले तोकेको थ्रेसहोल्ड अनुरुप भ्वाइस सेवाको गुणस्तर भने कायम गर्न सकेको छैन।

एनसेलको फोन कल सफल हुने दर (कल सेटअप सक्सेस रेट) अरु अपरेटरहरुको भन्दा बढी ९३.६९ प्रतिशत छ। फोनकल लाग्ने समय (कल सेटअप टाइम) पनि अरु भन्दा बढी ५.१८ सेकेन्ड छ। एनसेलको ग्रेड अफ सर्भिस (कल ब्लक रेट) ६.३ प्रतिशत छ।

प्राधिकरणका अनुसार तीनवटै अपरेटर एउटा मात्रै सूचकांकमा सफल भएका छन्। कल ड्रप रेट सबैको शून्य प्रतिशत छ। प्राधिकरणले कल ड्रप रेटको थ्रेसहोल्ड २ प्रतिशत वा सोभन्दा कम हुनुपर्ने व्यवस्था गरेको छ। प्राधिकरणले परीक्षण प्रतिवेदनअनुसार एनसेल, नेपाल टेलिकम र स्मार्टलाई तोकिएको गुणस्तरसम्बन्धी मानकहरु सुधार गरी जानकारी गराउन निर्देशनसमेत दिइसकेको जनाएको छ।

प्राधिकरणका अनुसार ड्राइभ टेस्ट विधिमा चलायमान सवारीसाधनमा जडान गरिएको परीक्षण उपकरणद्वारा लगातार फोनकल गरी वा डेटा प्रयोग गरी मोबाइल नेटवर्कको मुख्य सेवा मानकहरुको तथ्यांक संकलन गरिने जनाएको छ। कुनै एक स्थानमा उपलब्ध सबै सेवा प्रदायकहरुको गुणस्तर मापन समानान्तररुपमा एकै साथ गरिने प्राधिकरणले स्पष्ट पारेको छ।

हरेक सेवा प्रदायकको कुनै एक स्थानमा उपलब्ध नेटवर्क (टुजी/थ्रीजी/फोरजी) मध्ये सर्वाधिक अनुकूल नेटवर्क स्वचालित रूपमा छनोट हुने उपकरणमा व्यवस्था गरिने बताइएको छ।

कल परीक्षणको अवधि १२० सेकेन्ड रहेको र सेवा प्रदायकको आफ्नै नेटवर्कभित्र लोकल कल गरिएको प्राधिकरणले जनाएको छ।