BIZMANDU
www.bizmandu.com

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई मोसो दल्ने अभियानका संयोजक पक्राउ

२०७९ फागुन २४

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई मोसो दल्ने अभियानका संयोजक पक्राउ
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई मोसो दल्ने अभियानका संयोजक पक्राउ


काठमाडौ। व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थालाई लक्षित गरेर कालो-मोसो दल्न बनाएका समितिका संयोजक पक्राउ परेका छन्। चितवन संयोजक शम्भु थापालाई प्रहरीले पक्राउ गरेको हो।

Tata
GBIME
Nepal Life

उनले मोसो दल्ने अभियान चलाउने जानकारी पाएपछि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। ‘कालो मोसो दल्ने अभियानमा संलग्न देखिएकाले सोधपुछको लागि नियन्त्रणमा लिएका हौँ,’ चितवन जिल्लाका प्रहरी प्रमुख रामेश्वर कार्कीले भने।

फागुन १ गते झापामा आयोजना गरेको एक सार्वजनिक कार्यक्रममा व्यवसायी दुर्गा प्रसाईंले खुलेआम लघुवित्त र बैंकका कर्मचारीलाई मोसो दल्न उक्साहट गर्ने अभिव्यक्ति दिएका थिए। त्यस्तै झापामा एक सदस्य संयोजकको नेतृत्वमा २ सय जना दस्ता समेत तयार पारेका थिए।

त्यसपछि बैंक तथा वित्तीय संस्थाले सुरक्षाको माग गरेका थिए। त्यसलगतै प्रसाईंको उक्साहटपछि जाजरकोटमा किस्ता उठाउन गएका लघुवित्तका कर्मचारीमाथि कालो मोसो दलेर पैसा समेत लुटिएको घटना बाहिरिएको थियो। त्यस्तै केही दिन अघि गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाको सुरक्षा मिलाउन तथा निगरानी गर्न समेत निर्देशन दिएको छ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र जारी गर्दै हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो। प्रहरी-प्रशासनले कालो मोसो दल्ने अभियानका केही मानिसलाई समेत निगरानीमा राखेको छ।
‘तालुकदार निकायबाट नै पक्राउ गर्न निर्देशन आएपछि नियन्त्रणमा लिएका हौं,’ जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले भने।