BIZMANDU
www.bizmandu.com

कडा प्रतिबन्ध खारेज गरेसँगै चीनको व्यापार नाफामा उछाल, निर्यात पनि बढ्यो

२०७९ फागुन २४

कडा प्रतिबन्ध खारेज गरेसँगै चीनको व्यापार नाफामा उछाल, निर्यात पनि बढ्यो
कडा प्रतिबन्ध खारेज गरेसँगै चीनको व्यापार नाफामा उछाल, निर्यात पनि बढ्यो

काठमाडौं। चीन सरकारको व्यापारमा उल्लेखनीय वृद्धि भएको छ। गत जनवरीमा चीनले कोभिड नियन्त्रण गर्न कडा प्रतिबन्ध खारेज गरेसँगै विश्वको दोस्रो ठूलो अर्थतन्त्र सुधारोन्मुख देखिएको हो। साथै गत फेब्रुअरीमा चीनको कारखाना क्षेत्र तीव्र गतिमा वृद्धि भएसँगै निर्यात पनि बढेको बताइएको छ। 

Tata
GBIME
Nepal Life

चीनको व्यापार नाफा बढेर फेब्रुअरीमा ११६.८८ अर्ब डलर पुगेको छ, जुन अपेक्षित व्यापार नाफा ८१.८० अर्ब डलरभन्दा निकै बढी हो। गत जनवरीमा सुधारोन्मुख चीन अर्थतन्त्रको व्यापार नाफा ७८ अर्ब डलर रहेको चिनियाँ भन्सार प्रशासनले जनाएको थियो। 

निर्यात अघिल्लो वर्षको तुलनामा ६.८ प्रतिशतले घटेता पनि यो अंक अपेक्षित ९.४ प्रतिशत गिरावट र गत महिनाको ९.९ प्रतिशत गिरावट भन्दा निकै राम्रो हो।  गत महिना चीनका कारखानाहरूमा उत्पादन एक दशक यता कै सबैभन्दा द्रुत गतिमा वृद्धि भएको छ। 

चीनमा कोभिड प्रतिबन्ध सहज बनेलगत्तै स्थानीय कारखानाहरूलाई समयमै अन्तर्राष्ट्रिय अर्डर पूरा गर्न मद्दत गर्‍यो। यसबाट आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्न गयो।

यस सकारात्मक प्रभावका वावजुद विश्वव्यापी रूपमा चलिरहेको आर्थिक संकटका कारण चिनियाँ उत्पादकहरूले पनि सामानको विदेशी मागमा हुने सम्भावित मन्दीको सामना गर्नु पर्नेछ।

चिनियाँ आयात गत वर्षको तुलनामा १०.२ प्रतिशतले घटेको छ, जुन अपेक्षित ५.५ प्रतिशतको गिरावट भन्दा झन्डै दोब्बर, र जनवरीको ७.५ प्रतिशत गिरावट भन्दा बढी हो। जसले स्थानीय माग कोरोना महामारी युगको न्यूनताबाट सुधार हुँदै गएको केही संकेतहरू देखाएको छ। 

चीनका कारखानाहरूमा उत्पादन एक दशक यताकै सबैभन्दा द्रुत गतिमा वृद्धि भएको तथ्याङ्क गत हप्ता सार्वजनिक भए लगत्तै चीन सरकारको व्यापार नाफाको  तथ्यांक जारी गरेको हो। यी सबै तथ्यांकले विश्वको दोस्रो ठूलो अर्थतन्त्र रफ्तारका साथ रिकभर भइरहेको देखिन्छ।

तीव्ररूपमा फैलिएको कोभिड नियन्त्रण गर्न अपनाइएको शून्य कोभिड नीतिले गत वर्ष मारमा परेको चिनियाँ अर्थतन्त्र सन् २०२३ मा भने सुधारोन्मुख देखिएको छ।  

तैपनि, चीन सरकारले यस वर्षको लागि वृद्धि लक्ष्य लगभग पाँच प्रतिशतमै सीमित राखेको छ। आइतबार देशको संसदको वार्षिक बैठकको उद्घाटनमा सार्वजनिक गरिएको सरकारी कार्य रिपोर्टमा उक्त कुरा उल्लेख छ।

गत वर्ष चीनले आफ्नो वार्षिक वृद्धिदर लक्ष्य ५.५ प्रतिशत लिएको थियो। चिनियाँ अर्थतन्त्रको वृद्धि गत वर्ष केवल ३ प्रतिशतमा मात्र सीमित भएको थियो। यो चीनको आर्थिक वृद्धि झण्डै आधा शताब्दी यताकै दोस्रो नराम्रो थियो। 

तर जनवरी र फेब्रुअरीमा देखिएको चीनका कारखानाहरूमा उत्पादनमा वृद्धि तथा व्यापार नाफामा वृद्धिले चिनियाँ अर्थतन्त्रको लागि राम्रो संकेत गरेको छ। हालसम्म जारी गरिएका आर्थिक सूचकहरूले यस वर्षको सुरुमा अधिकांश शून्य कोभिड प्रतिबन्ध हटाएपछि आर्थिक वृद्धि पक्कै पनि पुनरागमन भएको देखाउँछ।

चिनियाँ सरकारले पनि यस आर्थिक वृद्धिको लयलाई जारी राख्नको लागि विभिन्न प्रोत्साहनका उपाय ल्याएको छ। हाल सबैको ध्यान यसै हप्ता चीन सरकारले जारी गर्ने मुद्रास्फीति तथ्यांक छ, जसले पनि चिनियाँ अर्थतन्त्रमा रिकभरी देखाउने अपेक्षा गरिएको छ। (इन्भेस्टिङडटकमबाट साभार)