BIZMANDU
www.bizmandu.com

नेपालमा बसेर सुन तस्करीको नेटवर्क जोड्ने इब्राहिम, ३ सय पटक विभिन्न देश ओहोरदोहोर

२०७९ फागुन २३

नेपालमा बसेर सुन तस्करीको नेटवर्क जोड्ने इब्राहिम, ३ सय पटक विभिन्न देश ओहोरदोहोर
नेपालमा बसेर सुन तस्करीको नेटवर्क जोड्ने इब्राहिम, ३ सय पटक विभिन्न देश ओहोरदोहोर


काठमाडौ। गत पुस ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार कार्यालयले समातेको १९ किलो सुन प्रकरणको केस अहिले जिल्ला अदालतमा चलिरहेको छ। पक्राउ परेका दुई सुडानी युवकमाथि प्रहरीले अनुसन्धान गर्दा यसको नेटवर्क भारतसम्म जोडिएको खुलेको छ।

Tata
GBIME
Nepal Life

घटनाको दुई महिनापछि भारतमा पनि ७ सुडानी र तीन भारतीय पक्राउ परेका छन्। भारतको राजस्व अनुसन्धान निर्देशनालय (डीआरआई)को टोलीले भारतीय मूल्य ५१ करोड रुपैयाँ बराबरको १ सय १ किलो सुन बरामद गरेको छ। भारतको दाबीअनुसार सुन दुबईबाट नेपाल भित्रिएर सीमा नाका हुँदै भारतसम्म पुग्ने गरेको देखिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)को अनुसन्धानले पनि भारतको दाबीलाई प्रमाणित गर्ने तथ्यहरू देखाएको छ।

पुस ८ गते दुबईबाट सुन बोकेर ल्याएका मोहम्मद अहमद डाफल्ला सराफललाई पक्राउ गरेको थियो। उनी १५ दिनको टुरिस्ट भिसामार्फत नेपाल आएका थिए। उनी फ्लाइ दुबई (फ्लाइट नम्बर एफ जेड ५३५) हुँदै त्रिभुवन विमानस्थल आएका थिए। उनले बयानमा सुन सुडान ओमड्रुममैनस्थित अलशदाह मार्केटमा बस्ने सुडानी नागरिक इब्राहिम अब्दुल नासिरले साढे ३ लाख रुपैयाँ दिने सर्तमा सुन तस्करीको लागि पठाएका थिए। आफूलाई दुबईमा निधारमा रातो टिका लगाएका जोनीले १९ किलो सुन दिएर नेपाल पठाएको डाफल्लाले प्रहरीमा बयान दिएका छन्।

त्यसपछि सुन रिसिभ गर्न आएका अहमद मोहम्मद इब्राहिम मोहम्मदलाई पक्राउ गरेको थियो। प्रहरीको अनुसन्धानमा मोहम्मद नेपालमा बसेर भारतसम्म सुन पठाउने गरेको देखिएको छ। दुबईबाट सुन बोकेर आएका नागरिकलाई उनले नै विमानस्थलमा गएर रिसिभ गर्ने र लगत्तै आन्तरिक उडानबाट विराटनगर हुँदै भारतीय सीमामा पुगेर सुन दिने गरेको अनुसन्धानमा खुलेको छ। उनी पहिलो पटक सन् २०२२ नोभेम्बर ३ मा टुरिस्ट भिसामा नेपाल आएका थिए। नोभेम्बर ६ मा फेरि उनी स्वदेश फर्किए। दोस्रो पटक उनी फेरि सन् २०२२ नोभेम्बर २१ नेपाल आए। उनी नेपाल टुरिस्ट भिसामा आए पनि उनको मनसाय भने सुन तस्करी नै थियो।

मोहम्मद पुस ८ गते विमानस्थलको निषेधित क्षेत्रमा पासविना नै छिरेको प्रहरीले जानकारी दिएको छ। दुबईबाट सुन बोकेर आएका डाफल्ला सराफललाई नदेखेपछि उनी विमानस्थलभित्र छिरेका थिए।  ह्वाट्सएप मोहमद अल्बाही र उनीबीच पटक पटक कुराकानी भएको देखिएको छ। उनले अन्तिम पटक विमानस्थलबाट उताबाट पठाएको मानिस नआएको भन्दै दुई जनाबीच कुराकानी भएको देखिन्छ।

‘मान्छेहरू निस्किएपछि तपाईंले भनेको मान्छे त अहिले सम्म पनि निस्केको छैन त? म माथि जाऊ त? उसले कस्तो कपडा लगाएको छ ? ग्रीन कलरको क्याप, पहेँलो कलरको ज्याकेट लगाएको छ। त्यहाँ पुगेको हो तिमी ? म अगाडि आइसकें। म माथि गएको त्यो मान्छे त देखिन त। किन तिमीसँग त्यो मान्छेको फोटो छैन र ? हिजो पठाएको फोटो मात्र छ मसँग त। म एयरपोर्टको लास्ट प्वाइन्टमा आइसकें, मान्छे देख्दिन त ? तिमी जुन ठाउँमा छौ मलाई त्यहाँको फोटो पठाऊ त? फोटो पठाउँछ (भ्वाइस म्यासेज गर्छ) नेट खुलेको छैन के भएको हो? लगायतका कुराकानी भएको देखिएको छ।

उनले खोजी रहेको मानिस भन्सार कार्यालयको नियन्त्रणमा पुगिसकेको थियो। त्यही भएर यो पटक भने उनले दुबईबाट आएको सुन रिसिभ गर्न र विराटनगर हुँदै भारत लैजान भने सफल भएनन्। पक्राउ पर्नुभन्दा अगाडि उनले विदेशबाट आएका सुडानी नागरिकलाई सुनसहित १८ पटक विमानबाट सुन लिएर गएको देखिएको छ। त्यस्तै छोटो समयमा नै उनले भारत, इजिप्ट, नेपाल र युएई लगायतका देशमा ३ सय पटकभन्दा बढी आगमन र प्रस्थान गरेको प्रहरीले जफत गरेको उनको राहदानीबाट खुल्न आएको छ।

सुडानी नागरिक अहमद मोहम्मद इब्राहिम मोहम्मदले  सुडानी नागरिकहरू मोहम्मद अहमद डफल्ला शराफेल्डिन, रावा सिद्दीग अहमद मोहम्मद, अशरफ गदल्ला अहमद शारफेल्डिन, अवातेफ अब्दलगफर अलि माला, इब्राहिम अब्दुल नासिर, मोहम्मद अल्बाही, भारतीय बावन बैग, जोनी नाम गरेका एक व्यक्तिसँग मिलेर संगठित रुपमा सुन तस्करी गरेको देखिएको छ।

अहमद इब्राहिमले बोक्ने नेपाली मोबाइल नम्बरबाट नेपालका केही ल्यान्डलाइन नम्बरमा, भारत, युएई र सुडानमा सम्पर्क गरेको खुल्छ।