BIZMANDU
www.bizmandu.com

अर्बौं डलर गुमाएपछि के गर्दैछ अडानी समूह, फर्किएला लगानीकर्ताको विश्वास?

२०७९ फागुन २३

अर्बौं डलर गुमाएपछि के गर्दैछ अडानी समूह, फर्किएला लगानीकर्ताको विश्वास?
अर्बौं डलर गुमाएपछि के गर्दैछ अडानी समूह, फर्किएला लगानीकर्ताको विश्वास?

काठमाडौं। अर्बपति गौतम अडानीको स्वामित्व रहेको अडानी समूहले मंगलबार ९०१.१६ मिलियन डलर बराबर सेयर धितो कर्जा समय अघि नै चुक्ता गरेको छ। अडानी समूह अन्तर्गतका सूचीकृत कम्पनीहरुको सेयरद्वारा समर्थित समग्र लगानी परिचालन (लेभरेज) कटौती गर्ने प्रतिबद्धताको रूपमा समूहले सो कदम चालेको हो।

Tata
GBIME
Nepal Life

गत जनवरीमा अमेरिकी अनुसन्धान संस्था हिन्डेनबर्गले अडानीको स्वामित्वका केही कम्पनीले जाली वित्तीय विवरण जारी गरेको र सेयर मूल्यमा चलखेल गरेको भन्दै प्रतिवेदन सार्वजनिक गरेको थियो।

त्यस लगत्तै अदानीका पब्लिक कम्पनीहरूले बजारबाट अर्बौं डलर बढी गुमाउन पुग्यो। अडानी समूहले भने हिन्डेनबर्गले लगाएका सबै आरोपको खण्डन गरेको छ। अडानी समूहले आफ्नो क्रेडिट प्रोफाइलको बारेमा चिन्ता कम गर्न र लगानीकर्ताको विश्वास जित्न धेरै प्रयासहरू गरिरहेको छ। जसमध्ये सेयर धितो कर्जा समय अघि नै चुक्ता गर्नु पनि एक हो।

अडानी इन्टरप्राइजेजले ३१ मिलियन सेयर वा चार प्रतिशत सेयर जारी गर्नेछ। त्यस्तै, अडानी पोर्ट्सका प्रवर्द्धकहरुले १५५ मिलियन सेयरहरू (११.८ प्रतिशत) सेयर जारी गर्नेछन्। अडानी ग्रीन इनर्जी र अडानी ट्रान्समिसनका प्रवर्द्धकहरुले क्रमश: १.२ प्रतिशत र ४.५ प्रतिशत सेयर जारी गर्नेछन्।

यस बाहेक, लगानीकर्ताहरूको विश्वास जित्न, अदानी समूहले मंगलबारदेखि अमेरिका, लण्डन र दुबईमा रोड शो गर्ने भएको छ । यसलाई ‘फिक्स्ड इनकम रोड शो’ नाम दिइएको छ। हिन्डेनबर्ग रिसर्चको प्रतिवेदनपछि अडानी समूहको सेयरमा भारी गिरावट आएको थियो । जसका कारण अडानी समूहप्रति लगानीकर्ताको विश्वास डगमगाएको छ।

हाल यी रोड शोमार्फत, अडानी समूहले आफ्ना लगानीकर्ताहरूको विश्वास पुनः प्राप्त गर्ने प्रयास गरिरहेको छ।

अडानी समूहको प्रमुख वित्तीय अधिकारी जुगसिंदर सिंह पनि रोड शोमा सहभागी हुनेछन्। रोयटर्सको रिपोर्टका अनुसार यी रोड शो मार्च ७ देखि १५ सम्म लन्डन, दुबई र अमेरिकाका विभिन्न सहरमा हुनेछन्। यी रोड शोहरुमार्फत लगानीकर्ताहरुसँग भेटघाट गरी कम्पनीप्रति लगानीकर्ताको विश्वास बढाउन सकिनेमा समूहको विश्वास छ।

अडानी समूहले सिंगापुर र हङकङमा निश्चित आम्दानीका रोड शो गरेको थियो। जुन निकै सफल पनि भयो। यो रोड शोपछि लगानीकर्ताको विश्वास धेरै हदसम्म पुनर्स्थापित भएको छ ।

सिंगापुर र हङकङको रोड शोपछि अमेरिकी लगानी फर्मले अदानी समूहका चार कम्पनीहरूमा १५,४४६ करोड भारतीय रुपैयाँ लगानी गरेका छन्। जीक्यूजीको यो ठूलो लगानीपछि शुक्रबार अदानी समूहका सबै कम्पनीको सेयरमा भारी वृद्धि देखिन थालेको छ ।(एजेन्सीको सहयोगमा)