BIZMANDU
www.bizmandu.com

विद्युतीय गाडी खरिद गर्न बैंकको ८०% फाइनान्स सुविधा: कुन गाडी किन्न कति डाउन पेमेन्ट?

२०७९ फागुन २१

विद्युतीय गाडी खरिद गर्न बैंकको ८०% फाइनान्स सुविधा: कुन गाडी किन्न कति डाउन पेमेन्ट?
विद्युतीय गाडी खरिद गर्न बैंकको ८०% फाइनान्स सुविधा: कुन गाडी किन्न कति डाउन पेमेन्ट?


काठमाडौं। विद्युतीय गाडी खरिद गर्न चाहनेका लागि बैंकहरुले ऋणको ब्याजदर घटाउन थालेका छन्। बैंकहरुले गाडी किन्न दिने ऋणको साबिक ब्याजदर विद्युतीय गाडीका हकमा केही कम गरेका हुन्।

Tata
GBIME
Nepal Life

नबिल, एभरेष्ट, एनएमबि, सानिमा, लक्ष्मीलगायत बैंकले अन्य गाडीका तुलनामा विद्युतीय गाडी खरिद गर्नेका लागि ब्याजदर घटाएका छन्।

नेपाल राष्ट्र बैंकले विद्युतीय गाडीमा अधिकतम ८० प्रतिशतसम्म फाइनान्सिङ गर्न पाउने व्यवस्था गरेको छ। ऋणीले २० प्रतिशत डाउनपेमेन्ट गरे पुग्छ।

अन्य ऋणको माग पनि कम भएको र बैंकहरु पनि दिन अनिच्छुक देखिएका बेला विद्युतीय गाडी खरिद गर्न भने बैंकले सहजै ऋण उपलब्ध गराउन थालेका हुन्। गाडी बिक्रेता कम्पनीहरु आफैंले बैंकसँग सहकार्य गरी विद्युतीय गाडी खरिद गर्ने ग्राहकहरुलाई सहज वातावरण बनाउने कोसिस गरिरहेका छन्।

पछिल्लो समय विद्युतीय गाडी किन्नेहरुलाई बैंकले सहजै ऋण उपलब्ध गराउन थालेको छ।

नेपालमा नगद तिरेर गाडी खरिद गर्नेको जमात १५-२० प्रतिशत मात्र छ। तर, ऋणमा सवारीसाधन खरिद गर्नेको जमात भने ८० प्रतिशतभन्दा धेरै रहेको अटो व्यवसायीहरुको भनाइ छ।

टिगोर इभी ६ लाख ६० हजार रुपैयाँ डाउन पेमेन्टमा खरिद गर्न सकिने छ। टाटाको गाडी बिक्री गर्ने सिप्रदी ट्रेडिङले विभिन्न बैंकहरुमा इभी खरिद गर्नेहरुलाई वातावरण सहज हुनेगरी ऋण उपलब्ध गराउन सम्झौता गरिरहेको छ। आधा दर्जन बैंकहरुमा विद्युतीय गाडी खरिद गर्न ऋण उपलब्ध गराउने गरी सम्झौता गरिएको कम्पनीले जनाएको छ।

टाटाले तीन भेरियन्टमा बजारमा ल्याएको टिगोर इभीको एक्सइ भेरियन्टको मूल्य २९ लाख ९९ हजार, एक्सएम भेरियन्टको मूल्य ३१ लाख ४९ हजार र एक्सजेड प्लस भेरियन्टको ३२ लाख ९९ हजार रुपैयाँ र एक्सजेड प्लस डीटीको मूल्य ३३ लाख ४९ हजार तोकिएको छ।

टाटाको नेक्सन इभी खरिद गर्न ८ लाख २० हजार डाउन पेमेन्ट गरे पुग्छ। अहिले टाटा नेक्सन इभीको सुरुवाती मूल्य ३८ लाख ९९ हजारदेखि ४३ लाख ९९ हजारसम्म रहेको छ। कम्पनीका अनुसार उक्त मूल्यमा गाडी किन्न चाहने व्यक्ति वा संस्थाले २० प्रतिशत डाउन पेमेन्ट गरे पुग्छ।

यसरी लिएको कर्जा ८ वर्षसम्म लागु हुनेछ। यसरी ऋणमा इभी किन्ने ग्राहकले मासिक किस्ता ४३ हजार ७२५ रुपैयाँ तिर्नुपर्ने हुन्छ। बैंकले ५ वर्ष परिवर्तन नहुने स्कीममा पनि गाडी कर्जा उपलब्ध गराउँदै आएको छ। यो स्कीममा गाडी किन्ने ग्राहकले १३.४९ प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ। तर, यसमा बैंक अनुसार ब्याजदर कायम हुने कम्पनीले जनाएको छ।

यो कम्पनीले नबिल बैंक, एभरेष्ट बैंक, कामना विकास सेवा बैंक, प्रभु बैंक र कुमारी बैंकसँग सहकार्य गरेको छ।

यसैगरी, हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार कोना २० प्रतिशत डाउन पेमेन्ट गर्दा लगभग १३ लाख रुपैयाँ तिर्नुपर्छ। यसको मासिक किस्ता ९५ हजार तिरे पुग्छ। यो ऋण ७ वर्षको लागि लागु हुनेछ। कोना इभीको मूल्य ६० लाख ५६ हजार रुपैयाँदेखि ६२ लाख ९९ हजार रुपैयाँ रहेको छ।

यस्तै, आयोनिक-५ खरिद गर्ने ग्राहकहरुले २४ लाख डाउन पेमेन्ट गरेर गाडी खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार यसरी लिएको ऋणको मासिक किस्ता १ लाख ७० हजार रुपैयाँ तिर्नु पर्नेछ। यसको पनि ऋणको समयावधि ७ वर्षको हुनेछ। यसको मूल्य नेपाली बजारमा १ करोड १७ लाख रुपैयाँ रहेको छ।

ग्लोबल आइएमई र नबिल बैंकसँग सहकार्य गरिएको कम्पनीले जनाएको छ। यी बैंकहरुले यसरी गाडी खरिद गर्दा १३-१४ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएका कम्पनीले जनाएको छ। यसरी ऋणमा गाडी लिन सबै कुरा मिलेमा हप्ता १० दिनभित्र गाडी पाइन्छ।

यस्तै, निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले पनि निसान लीफमा २० प्रतिशत डाउन पेमेन्ट गरेर गाडी खरिद गर्न सकिने व्यवस्था गरेको छ। यसमा पनि कम्पनीले नबिल बैंकको सहकार्यमा ८० प्रतिशतसम्म लीफ किन्नको लागि ऋण उपलब्ध गराएको छ।

कम्पनीका अनुसार लिफ खरिद गर्ने ग्राहकहरुले १३ लाख डाउन पेमेन्ट गरेर गाडी खरिद गर्न सक्नेछन्। यसको ९७ हजार ५०० रुपैयाँ मासिक रुपमा बैंकलाई किस्ता तिर्नुपर्ने कम्पनीले जनाएको छ।

यसरी लिएको ऋणको समयावधि ७ वर्षको हुनेछ। यसमा १३-१४ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ। यसको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

बैंकहरुले बीवाइडीको गाडी खरिद गर्न ८ वर्षको लागि ८० प्रतिशतसम्मले फाइनान्सिङको व्यवस्था गरेका छन्। यसले बीवाइडीको गाडी खरिद गर्न इच्छुक ग्राहकले २० प्रतिशतमात्र डाउन पेमेन्ट गरेर गाडी खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार ग्राहकहरुले बीवाइडी १०० किलोवाटको अट्टो-३ खरिद गर्न जम्मा १२ लाख ९८ हजार रुपैयाँ तिरे पुग्छ। यसको मासिक किस्ता ९५ हजार ५६१ रुपैयाँ तिर्नु पर्छ। यस्तै अल न्यू ई-६ खरिद गर्न जम्मा ११ लाख ८० हजार रुपैयाँ डाउन पेमेन्ट गरे पुग्छ। यसको मासिक किस्ता ८७ हजार ४१३ रुपैयाँ तिरे पुग्छ।

यसैगरी, १५० किलोवाट क्षमताको एटो-३ खरिद गर्न १७ लाख ९८ हजार डाउन पेमेन्ट गरे पुग्छ। यसको मासिक किस्ता १ लाख ३३ हजार १८३ रुपैयाँ रहेको छ।

हाल बीवाइडीको अट्टो-३ १०० किलोवाटको बजार मूल्य ६४ लाख ९० हजार रुपैयाँ र अल न्यू ई-६ को बजार मूल्य ५९ लाख रुपैयाँ तोकिएको छ। यस्तै १५० किलोवाटको एटो-३ को मूल्य ८९ लाख ९० हजार रुपैयाँ छ।

बीवाइडीका गाडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले ३ वटा बैंकसँग ऋणको लागि सम्झौता गरेको छ। जसमा एभरेष्ट बैंक र नबिल बैंकले ७ वर्षसम्मको अवधिका लागि तथा कुमारी बैंकले ८ वर्षसम्मको अवधिका लागि ऋण उपलब्ध गराएका छन्।  

यसरी बीवाइडीको गाडी डाउन पेमेन्टमा खरिद गर्दा लगभग १३.५ देखि १४ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने हुन्छ।

निटा ब्रान्डको निटा-भी पनि २० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्न सकिन्छ। यसको २० प्रतिशत डाउन पेमेन्ट गर्दा ७ लाख ६० हजार रुपैयाँ तिरे पुग्छ। निटा गाडीको आधिकारिक बिक्रेता सिजी अन्तर्गतको सीजी मोटर्सले बिक्री गर्दै आएको छ।

यो गाडीको मूल्य नेपाली बजारमा ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ।

कम्पनीका अनुसार यो गाडी २० प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गर्दा मासिक किस्ता ५७ हजार रुपैयाँ तिर्नु पर्छ। यस्तै यसको समयावधि ७ वर्षसम्मको लागि उपलब्ध हुनेछ।

हाल यो कम्पनीले निटा-भी गाडी खरिद गर्न प्रभु बैंक र नबिल बैंकसँग सहकार्य गरेको छ। यी बैंकहरुले १४.६ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ।