BIZMANDU
www.bizmandu.com

चुरेमा कालिजपालन, व्यवसायी भन्छन्- ‘हुर्काउन सके बेच्नका लागि बजार खोजिरहनु पर्दैन’   

२०७९ फागुन २०

चुरेमा कालिजपालन, व्यवसायी भन्छन्- ‘हुर्काउन सके बेच्नका लागि बजार खोजिरहनु पर्दैन’   
चुरेमा कालिजपालन, व्यवसायी भन्छन्- ‘हुर्काउन सके बेच्नका लागि बजार खोजिरहनु पर्दैन’   


अत्तरिया। कैलालीको चुरे गाउँपलिका–५ निङ्लाडी सुन्दर क्षेत्र हो। जंगल बीचमा चारैतिर घेराबारा गरी माथिबाट नीलो र सेतो तारजालीले ढाकिएका फार्मभित्र चिरबिर–चिरबिर गर्दै धुलोमाटो खेलिरहेका कालिज हेर्दै आकर्षक देखिन्छन्। तराई क्षेत्रबाट चुरे खानीडाँडा पुग्ने धेरैजसोले कालिज फार्म अवलोकन गर्छन्। 

Tata
GBIME
Nepal Life

परिवारसहित भीमदत्त राजमार्गको छेउमै रहेको निङ्लाडीमा रहेको जङ्गलमा कालिजपालन गरेर बसेका कैलाली टीकापुरका ३२ वर्षीय विकास न्यौपाने फार्ममै व्यस्त छन्। उनले कालिजमात्र होइन, कुखुरा, लौकट र टर्की पालेका छन्। कालिजपालन गर्ने उद्देश्यले फार्ममा पुग्नेलाई उनी सल्लाह दिन्छन्। 

कालिजपालनबाट घाटा नहुने उनको अनुभव छ। ‘कालिजपालनमा धैर्य चाहिन्छ, घाटा हुँदैन,’ उनी भन्छन्, ‘मैलेमात्र महिनाको डेढदेखि दुई लाख आम्दानी गर्छु।’ पछिल्लो समय माग बढिरहेको उनले बताए।

सुप एकीकृत कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरेका उनले सुदूरपश्चिममै कृषि व्यवसायको सम्भावना देखेर काठमाडौंबाट यता आएको सुनाए। सुरुमा ३० लाख लगाएका उनको लगानी अहिले ६० लाख रुपैयाँ पुग्यो। फार्ममा परिवार, भाइ र एक अर्का कामदारसहित चार जना व्यस्त हुन्छन्। ‘दानापानी खुवाउनेदेखि रेखदेखसम्म २४ घण्टा खटिन्छौं,’ विकासले भने, ‘त्यसको प्रतिफल राम्रै छ।’

फार्ममा कालिजको माग विभिन्न ठाउँबाट आउँछ। ‘नेपालमा मात्र होइन भारतको केरलासमेतबाट माग आउँछ तर पुर्याउन सकेका छैनौं,’ उनले भने। कालिज चर्न कुखुरालाई भन्दा फराकिलो ठाउँ चाहिन्छ । त्यसैअनुसार यहाँ फराकिलो जंगल छ। कालिजलाई १८ देखि २२ डिग्री तापक्रम उपयुक्त मानिन्छ। आहारामा हरियो घाँस र कुखुरालाई दिने दाना दिइन्छ। 

१० वर्षको सम्झौतामा वार्षिक १ लाख २५ हजार भाडा तिर्ने गरी ३० रोपनी जग्गा भाडामा लिएर फार्मिङ सुरु गरिएको हो। साढे तीन सय कालिजका चल्लाबाट सुरु भएकोमा अहिले भाले–पोथी गरी तीन हजार पुगेको छ। बिक्री भइरहँदा हाल ६ सय कालिज फार्ममा छन्। फार्मबाट कालिज, कुखुरा, टर्की र लौकाटको ‘होम डेलिभरी’ हुन्छ। 

सुरुमा भिरालो जमिनमा बस्ने टहरादेखि तार जालीसम्म गर्दा फार्ममा धेरै लगानी भएको थियो। ‘फार्म हेर्नमात्र धेरै आउँछन्,’ उनले भने, ‘ग्राहकका लागि त्यहीँ बनाएर खान मिल्ने व्यवस्था गरेका छौं।’ 

फार्मका लागि उनले अपेक्षाअनुसारका कामदार नभेटेको गुनासो गरे। ‘चार वर्ष अनुभव भयो,’ उनी भन्छन्, ‘चल्लाको रेखदेखदेखि डेलिभरीसम्म गर्न आफैं खटिनुपर्छ।’ कुखुराका लागि उनले छुट्टै फार्म बनाएका छन्। फार्ममा एक हजार गिरिराज कुखुरा छ । सुरक्षा गर्न चारैतिर करेन्टको तारघेरा, सीसीटीभी क्यामेरा र दुईवटा कुकुर छ। 

कालिजपालन व्यवसाय नेपालमा नयाँ हो। यहाँ त्यसका अण्डा र चल्ला नेपालको सबै ठाउँमा पाइँदैन। विकासले ह्याचरिङसमेतको व्यवस्था गरेका छन्। अन्य पक्षीभन्दा कालिज महँगो छ। तौलेर नभई प्रतिगोटाका हिसाबले बिक्री हुन्छ। ३५० देखि ३५ सयसम्ममा कालिज बिक्री हुन्छ। ‘दानापानी गरेर एउटा चल्लाकै लागत एक हजारसम्म पर्छ। ६ महिना दानापानी खुवाएर हुर्काएको कालिजलाई तीन हजारसम्ममा बिक्री गछौं,’ व्यवसायी विकासले भने। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ अनुसार डाँफे, मुनाल, कालिजलगायतका वनजंगलमा पाइने पक्षी पाल्न तथा सिकार गर्न प्रतिबन्ध छ। विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिज पाल्न तथा सिकार गर्न पाइने भएकाले कालिज पाल्नेको लहर चलेको व्यवसायीको भनाइ छ। नेपाल सरकारले कालिजपालनलाई अनुमति दिएको लामो समय भइसकेको छैन। कालिजको मासु स्वादिष्ट र पोषणयुक्त हुने भएकाले माग हेरेर सङ्ख्या बढाउने उनको योजना छ।

कालिज बिक्रीका लागि बजारको अभाव नरहेको र सर्वसाधारणको भान्छामा सहजै पुर्याउने योजना उनको छ। ‘ठूला होटलदेखि सर्वसाधारणको भान्सामा कालिजको मासुको माग हुन्छ, उत्पादन हुनुपर्यो मासुको बजारको समस्या छैन,’ उनले भने। कालिज ६ महिनादेखि मासुका लागि तयार हुन्छ। भाले कालिजको तौल औसतमा डेढ किलोग्रामसम्म पुग्छ भने पोथी भने नौ सय ग्रामदेखि एक किलोसम्म तौलको हुन्छ। 

यसले माघदेखि असारसम्म अण्डा दिने र वर्षको एक मौसममा एउटा पोथीले ५० देखि ५५ वटा अण्डा पार्छ। ३० हजार अण्डा ह्याचरिङ गर्दा २० हजारसम्म चल्ला हुर्काउन सकिए पनि चल्लाबाट राम्रो आम्दानी लिन सकिने उनी सुनाउँछन्। चल्लामै एक–दुईवटा खोप दिएपछि कालिजमा रोग देखिएको छैन। विकासले कालिजमा अन्य पक्षीजस्तो रोग नदेखिएको बताए। कालिजका लागि पहाडी क्षेत्रको हावापानी राम्रो हुन्छ। 

‘कुखुराभन्दा कालिजलाई प्रोटिनको मात्रा धेरै भएको दाना चाहिन्छ, घाँस पर्याप्त भए ५० प्रतिशत दाना र ५० प्रतिशत घाँस खुवाउन सकिन्छ। त्यो भयो भने लागत पनि घट्न जान्छ,’ उनले भने। फार्ममा पालिएका कालिज एक–अर्कालाई ठुङ्ने, झगडा गर्ने भएकाले खेल्न र उड्न मिलोस् भनेर अग्लो गरी तार र जाली लगाएर घेरिएको छ। राजमार्गदेखि फार्मसम्म पुग्ने सडक नहुँदा भने उनलाई आवागमनमा समस्या छ। विकासले मात्र होइन खानीडाँडामा कालिजपालन गर्नेहरु अरु पनि निस्केका छन्।