BIZMANDU
www.bizmandu.com

अमेरिकाबाट करोडौं ठगेर नेपाल कसरी ल्याए अछामका पृथ्वीबहादुर शाहले ?

२०७९ फागुन १९

अमेरिकाबाट करोडौं ठगेर नेपाल कसरी ल्याए अछामका पृथ्वीबहादुर शाहले ?
अमेरिकाबाट करोडौं ठगेर नेपाल कसरी ल्याए अछामका पृथ्वीबहादुर शाहले ?


काठमाडौं। अछामका युवक पृथ्वीबहादुर शाहले अमेरिकाबाट ठगेर गैरकानुनी रुपमा करोडौं रुपैयाँ नेपाल भित्र्याएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

GBIME
Tata

केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले तीन साता अगाडि पक्राउ गरेका शाहसहित सात जनाविरुद्धको अनुसन्धान सकेको छ। प्रहरीले शाह र उनका भाइ विजयविक्रम शाहसहित २० जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाइसकेको छ। घटनामा संलग्नताका आरोपितमा १३ जना फरार छन्।

यो ठगी धन्दाको मुख्य अभियुक्त शाह देखिएका छन्। उनको समूहले अमेरिकाका नागरिकलाई ठगी गर्ने, त्यसपछि रकम नेपाल पठाउने गरेको खुलेको छ। यो समूहले ठगी गर्न भारतदेखि थाइल्यान्डसम्म नेटवर्क विस्तार गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। उनको सम्पर्क नेटवर्क भारतको पश्चिम बंगाल भएको देखिन्छ।

प्रहरीकाअनुसार अहिलेसम्म शाह समूहको ट्रयापमा ५६ जना अमेरिकी नागरिक परिसकेका छन्। जसमा प्रहरीकहाँ २४ जनाको उजुरी परेको छ। बाँकी पीडितबाट पनि चाँडै उजुरी पर्ने आशा प्रहरीको छ।

अहिले प्रहरीले शाह समूहलाई ४ वटा ‘केस’मा मुद्दा अगाडि बढाउन सरकारी वकिल कार्यालयलाई सुझाव दिएको छ। ठगी, लिखितसम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाउन प्रहरीले सुझाव दिएको हो। ठगी र लिखितसम्बन्धी कसुर घटना अदालतबाट प्रमाणित भएको खण्डमा शाह समूहलाई ७ वर्षसम्म जेल सजाय हुनसक्ने कानुनी प्रावधान छ।

उजुरी दिएका २४ जनाबाट शाहले २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठगी गरेको प्रहरीले जनाएको छ। शाहले ठगी गरी ‘स्विफ्ट’ मार्फत अमेरिकी डलर, ब्रिटिस पाउन्ड र क्यानेडियन डलर नेपालमा पठाएको देखिएको छ।

उनले उक्त रकम नेपालका विभिन्न बैङ्कमा ‘डिपोजिट’ गरेका थिए। बैंकले उनको १५ लाख ६० हजार ५७७ अमेरिकी डलर ‘होल्ड’ मा राखेको छ। उनको खातामा ३६ करोड, ८६ लाख ६२ हजार १३६ नेपाली रुपैयाँ देखिएको छ।

‘यसरी ल्याएको रकम नेपाल र थाइल्यान्ड पुर्‍याउने गरेको देखिएको छ। त्यस्तै भारतमा रहेको समूहलाई २५ प्रतिशत रकम दिने सर्त रहेको देखियो,’ ब्युरोका एसएसपी दिनेशराज आचार्यले भने।

अमेरिकाबाट ठगी गरेर कसरी रकम नेपाल ल्याउँथे ?

शाह समूहले ठगी गरेका प्रायः पीडित अमेरिकी नागरिक छन्। उनीहरूले सुरुमा असक्त, बिरामी, पाको उमेर भएकालाई आफ्नो ‘टार्गेट’मा पार्छन्। त्यसपछि विभिन्न बिल भुक्तानी (अमेजन, क्विक बुकलगायत) को नाममा सम्पर्क स्थापना गर्छन्। जसको लागि उनीहरूले इमेल आइडी प्रयोग गरेको देखिएको छ।

त्यसपछि उक्त समूहले मोबाइल, आइप्याड, डेक्सटप लगायतमा समस्या भएको भन्दै म्यासेज गर्छन्। त्यसपछि समाधानको लागि हामी सम्बन्धित निकायबाट भन्दै ती डिभाइसको एक्सेस माग्ने गरेको देखिएको छ। र जसले यसरी उनीहरूले भनेको जस्तै जानकारी वा कुनै कोड उनीहरूलाई पठाएपछि उनीहरू शाह समूहको जालमा फस्न पुग्छन्।

‘यति गरेपछि उसले ती डिभाइसबाट उनीहरूको वित्तिय जानकारी लिने गरेको देखियो,’ ब्युरोका प्रवक्ता एसपी सञ्जय थापाले भने।

यसरी डिभाइसबाट वित्तीय जानकारी लिएपछि पहुँच पुर्‍याएर त्यहाँ भएको रकम झिक्ने गरेको देखिन्छ। यसरी झिकेको रकम उनीहरूले नेपाल र थाइल्यान्डमा पठाउने गरेको देखिएको छ। उनीहरूको ठगीको धन्दा यतिमै रोकिँदैन। रकम झिकेपछि पीडित नागरिकको फेक आइडीमार्फत बैंकलाई पनि म्यासेज गर्ने गरेको देखिएको छ। यस्तै प्रकृतिको अपराधमा नेपाल प्रहरीको साइबर ब्युरोले पनि केही महिना अगाडि केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।

पैसा झिकेपछि उल्टै पीडितलाई म्यासेज गरेर तर्साउनेसमेत गरेको देखिन्छ। रकम गएको र अब तिमीहरूलाई सम्पत्ति शुद्धीकरणले पनि कारबाही गर्छ भन्दै डर त्रास देखाएर चुपचाप बस्न अनुरोध गर्ने गरेको अनुसन्धानमा खुलेको छ।

उनीहरूले कतै प्रहरीमा उजुरी दियो वा कुनै कानुनी प्रक्रिया सुरु गर्छन् कि भनेर निगरानीसमेत राख्थे। यसरी पीडितलाई सम्पर्क गर्ने नम्बर अमेरिकाको देखिए पनि भारतमा बसेर कलर आइडीमा अमेरिकी नम्बर देखिने गरेर काम गरेको देखिन्छ।

शाह समूहले अहिलेसम्म ४५ लाख ४६ हजार ६ सय ३९० अमेरिकन डलर, २२ हजार ब्रिटिस पाउन्ड र ३ लाख ३० हजार क्यानेडियन डलर ठगी गरेको खुलेको छ।

उनीहरूले यसरी ठगी गरेर भित्र्याएको रकमबाट काठमाडौं महानगरपालिका-७ मा रहेको कित्ता नम्बर २३२ को १९० वर्ग मिटर क्षेत्रफल भएको जग्गा लिखित मूल्यभन्दा कम देखाएर खरिद गरेको देखिएको छ। त्यस्तै घर निर्माण, सुन  र सेयर खरिद, कम्पनी दर्ता र बीमा क्षेत्रमा लगानी गरेको खुलेको एसपी थापाले बताए।

कम्पनी रजिस्ट्रारको कार्यालयमा यु क्यास सर्भिस नामको कम्पनी दर्ता गरेको देखिन्छ। तर सञ्चालक भागवन सुवेदी भए पनि उनको कीर्ते औँठाछाप र कागजपत्र मिलाएको देखिन्छ। 

त्यसपछि नाम सारी हुँदै रुक्मागत काफ्लेबाट हाल अनुप खड्काको नामा सञ्चालन रहेको देखिन्छ। तर, आर्थिक कारोबार भने पृथ्वीबहादुर शाहले गर्ने गरेका थिए। विदेशबाट आएको रकम जम्मा गर्न किर्ते कागजसमेत बनाएको खुलेको छ। उनीहरूले अमेरिकी नागरिकको राहदानीलगायत कागजपत्रको दुरुपयोगसमेत गरेका थिए।