BIZMANDU
www.bizmandu.com

सेयर बजारमा राजनीतिक अन्योलको प्रभाव कायमै, नेप्सेमा २६.४८ अंकको गिरावट

२०७९ फागुन १८

सेयर बजारमा राजनीतिक अन्योलको प्रभाव कायमै, नेप्सेमा २६.४८ अंकको गिरावट
सेयर बजारमा राजनीतिक अन्योलको प्रभाव कायमै, नेप्सेमा २६.४८ अंकको गिरावट


काठमाडौं। अर्थतन्त्र सुधारोन्मुख भएपनि राजनीतिक अन्योलका कारण सेयर बजार प्रभावित बनेको छ। साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक २६.४८ अंकले घटेर १९६९ विन्दुमा झरेको छ।  

Tata
GBIME

सेयर बजारप्रति सकारात्मक देखिएका एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलसहितले सोमबार सरकार छाडेलगत्तै लगानीकर्ता सेयर बजार प्रति अलमलमा परेका छन्। फलस्वरुप सोमबार यता बजार निरन्तर ५९.७४ अंकले घटिसकेको छ।

बिहीबारको कारोबार अवधिमा ३६ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३३ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

राष्ट्र बैंकले लघुवित्तहरुको लाभांशमा भइरहको मनपरीमा कडाई गरेपछि यी कम्पनीहरुको सेयरमा प्रभाव परिरहेको देखिन्छ। सोही कारण माइक्रोफाइनान्स उपसमूह सर्वाधिक अंकले घटेको छ। यो उपसमूह २.६४ अंकले घटेको हो। यसका साथै बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरुमा पनि बिक्रीको चाप देखिएको छ।

माइक्रोफाइनान्स उपसमूह अन्तर्गतको ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य सर्वाधिक प्रभावित भएको छ। यो कम्पनीको सेयर मूल्य ७ प्रतिशतसम्म घटेको छ। बिक्रेता हाबी हुँदा कारोबारमा आएका लघुवत्त कम्पनीमध्ये ५३ वटाको सेयर मूल्य घटेको देखिन्छ।

कारोबारका आधारमा बिहीबार हिमालयन डिष्ट्रिलरी अग्रस्थानमा छ। कम्पनीको ८ करोडभन्दा बढीको सेयर किनबेच भएको हो। शिवम् सिमेन्टको पनि ६ करोड बढीको सेयर कारोबार भएको छ।