BIZMANDU
www.bizmandu.com

उत्तर अमेरिकी हवाई उद्योगमा ‘पिक सिजन’ लक्षित पहल, कर्मचारी तान्न लोभलाग्दा अफर

२०७९ फागुन १६

उत्तर अमेरिकी हवाई उद्योगमा ‘पिक सिजन’ लक्षित पहल, कर्मचारी तान्न लोभलाग्दा अफर
उत्तर अमेरिकी हवाई उद्योगमा ‘पिक सिजन’ लक्षित पहल, कर्मचारी तान्न लोभलाग्दा अफर

काठमाडौं। उत्तर अमेरिकी उड्डयन उद्योगमा देखिएको प्रतिस्पर्धाका बीच कर्मचारीहरु रोक्नका लागि बिभिन्न आकर्षक अफर दिन सुरु गरेको छ। उड्डयन क्षेत्रमा देखिएको कामदार अभावका बीच पिक टुरिष्ट सिजन लक्षित योजनाहरु सार्वजनिक भएको हो। यसमा कामदारलाई सस्तो यातायात, निशुल्क आइफोन तथा कर्मचारीका बालबच्चाका लागि डे-केयर सेन्टर समेतको व्यवस्था गर्ने योजना समावेश छ।

Tata
GBIME
Nepal Life

बिग्रँदै गएको विश्वव्यापी अर्थतन्त्रको परिदृश्यमा पछिल्लो केही समय विश्वभर टेक जायन्टहरूले निरन्तर  हजारौंको सङ्ख्यामा कर्मचारी कटौती गर्दै आएका छन् । तर उत्तर अमेरिकी उड्डयन उद्योगले भने कडा प्रतिस्पर्धी बजारलाई ध्यानमा राख्दै कर्मचारीलाई रोक्न यस्ता सुविधाहरु ल्याएको हो।

यस क्षेत्रमा लगेज ह्यान्डलर तथा कस्टमर सर्भिस एजेन्टलगायतका कामदार अभावले गत गर्मी यामको पिक ट्राभल सिजनमा यात्रुहरूले लामो लाइन र ढिलो लगेज पाउने जस्ता झन्झट ब्योहोर्नु परेको थियो। यसकारण कोरोना महामारीबाट उद्योगको रिकभरीमा बाधा पुग्यो। गत वर्षकै जस्तो समस्या यसपटक नहोस् भन्नाकै लागि कामदार आकर्षित गर्न पहल थालिएको हो।

‘यदि तपाईं दिनरात केही नभनी काम गर्ने मानिस चाहनुहुन्छ भने तपाईंले उनीहरुको परिवारको जिम्मा पनि लिन सक्नुपर्छ।,’ नयाँ सेवा सुविधाबारे प्रष्ट पार्दै एयरपोर्ट ट्रेड ग्रुप, एयरपोर्ट्स काउन्सिल इन्टरनेशनलका (एसीआई वोर्ड) उपाध्यक्ष थॉमस रोमिग भन्छन् -‘विमानस्थलहरूले कामदार भर्ती गर्न, भइरहेकालाई कायम राख्न र उनीहरूलाई अझ दक्ष बनाउन थप योजनाहरु बनाइरहेका छन्।’

विश्वभरका विमानस्थलहरू सदस्य रहेको एसीआईले अब विमानस्थलहरूका लागि चौबिसै घण्टा सञ्चालन हुने एयरपोर्टहरू कामदारमैत्री बनाउन गाइडलाइन तयार गर्दैछ।

धेरै मानसिक साथै शारीरिक बल प्रयोग गर्नुपर्ने काम, त्यसमा पनि निकै कम पारिस्श्रमिकका कारण लामो समयदेखि एयरपोर्टहरूमा कर्मचारी जागिरमा कायम राख्नु उड्डयन उद्योगको चुनौती बनेको छ। यस समस्यालाई महामारीले थप असर पुर्‍याएको छ।

अमेरिकी उड्डयन उद्योगमा रोजगारीको अवस्था गत वर्ष कोरोना महामारी अघिको स्तरभन्दा केही सुधार भएको थियो। गत वर्ष यस क्षेत्रमा कोरोना महामारी पूर्वकै अवस्थामा कर्मचारीहरू भर्ती भएका थिए। अमेरिकी हवाई यात्रा पनि रि-बाउन्ड हुने देखिएकोले यस क्षेत्रमा अझै रोजगारी थप्न आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्।

यसको लागि कामदारलाई आकर्षित गर्न थप सुविधा दिन पनि जरूरी भइसकेको छ। जीपरिक्र्यूटरका अनुसार  अमेरिकाको एयरपोर्ट कामदारहरूको औसत तलब १८ डलर प्रतिघण्टा भन्दा कम छ जबकी अमेजन जस्ता इ-कमर्स कम्पनीहरुले कामदारलाई औसतमा प्रतिघण्टा ३३ डलर तिर्ने गरेका छन्।

त्यसैले पनि अमेरिकी उड्डयन क्षेत्रले चाइल्ड केयर प्रोग्रामहरू ल्याएको छ। क्यालिफोर्नियाका एयरपोर्टहरू बाहेक, अरू एयरपोर्टहरूका कामदारहरूको लागि सामान्यतया यो सुविधा छैन। तर अब भने यो परिवर्तन हुँदैछ।

फिनिक्स स्काई हार्बर अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने, सिटी अफ फिनिक्स एभिएसन डिपार्टमेन्टले एयरपोर्टका कामदारहरूको लागि चाइल्ड केयर प्रोग्राम सुरु गरेको छ। एयरपोर्टको क्षेत्रमा नै चाइल्ड केयर सेन्टर निर्माण गर्ने योजना बनेको छ। करिब नौ सय पूर्णकालीन कर्मचारीको दरबन्दी रहेको विभागमा हाल एकसय ७१ ओपनिङमध्ये एकसय ३३ पद अझै खाली नै छन् ।

यस सेवाको सुरूवातसँगै ३७ एयरपोर्ट कामदारहरूले यसको फाइदा लिएका छन्। सिटी अफ फिनिक्सले एयरपोर्टको नजिकै छुट्टै चाइल्ड केयर सेन्टर विकास गर्न १० लाख डलर खर्च गरिरहेको छ।

यो प्रयास महामारी पछि मानिसहरूलाई काममा फर्काउने र एयरपोर्टलाई सहज रूपमा चलाउन मद्दत गर्ने उद्देश्यले गरिएको उक्त विभागका विशेष परियोजना प्रशासक म्याथ्यू हेलले बताए।

क्यानाडाको केलोना अन्तर्राष्ट्रिय विमानस्थलमा एयरपोर्ट कर्मचारीका बालबच्चाहरूका लागि डे-केयर सेन्टरको लागि निर्माण भइरहेको छ।

यस्ता पहलले एकल अभिभावकका लागि जागिर छोड्नुपर्ने बाध्यतालाई घटाउने एयरपोर्ट संचालनका वरिष्ठ प्रबन्धक फिलिप एल्चिट्जले बताए।

सिनसिनाटी/उत्तरी केन्टकी अन्तर्राष्ट्रिय एयरपोर्टले कामदारहरूका लागि एयरपोर्ट क्षेत्र भित्रै या नजिकै चाइल्ड केयर सेवा दिनेबारे सोचिरहेको एयरपोर्टका प्रवक्ता मिन्डी केर्शनरले बताए।

पहिले नै डे-केयर सेवा प्रदान गर्दै आएका केही क्यालिफोर्निया एयरपोर्टहरूले भने कर्मचारीहरूको लागि अन्य सेवाहरू थप्दै छन्।

केलोनाको एयरपोर्टले सार्वजनिक ट्रान्जिट उपलब्ध नभएको बेला राती वा बिहानको सिफ्टको लागि यातायात सेवा दिने भएको छ।  

एयरलाइन्सहरूले कामदारको भर्ति गर्न पछिल्लो समय निकै संघर्ष गरिरहेका छन्। डेल्टा एयर लाइन्सले र्‍याम्प एजेन्ट पोजिसनको लागि पाँच हजार डलर ‘साइन-अन’ बोनस प्रदान गर्दैछ। युनाइटेड एयरलाइन्स र अलास्का एयरलाइन्स जस्ता अन्य वाहकहरूले पनि साइनिङ बोनसको साथ र्‍याम्प अपरेसनका लागि कामदारहरूलाई आकर्षित गर्ने प्रयास गरिरहेका छन्।

डेल्टा, युनाइटेड र अलास्का एयरलाइन्सलाई कामदार र उपकरण उपलब्ध गराउने ग्राउन्ड ह्यान्डलिंग कम्पनी युनिफाइले श्रम बजारमा नयाँ कामदार ल्याउनको लागि लाग्ने लागत पूर्व-महामारी स्तरभन्दा ६० प्रतिशत बढेको युनिफाइ प्रमुख रणनीति अधिकारी यिंग म्याकफर्सनले जनाए।

युनिफाइको कर्मचारीको टर्नओभर दर पूर्व-महामारी स्तर भन्दा उच्च रहँदा युनिफाइले कामदारहरूलाई कायम राख्न विभिन्न इन्सेन्टिभ कार्यक्रमहरू ल्याएको म्याकफर्सनले बताए।

उदाहरणका लागि, युनिफाइले गतवर्ष पर्फमेन्स टार्गेट पूरा गर्ने तीन कर्मचारीलाई नयाँ ब्राण्डेड कार र तीन हजारभन्दा बढी कर्मचारीहरूलाई आईफोन तथा स्मार्टफोन बाँडेको थियो। यसका साथै युनिफाइले अब आपतकालीन फण्ड समेत दिने बताएको छ। कर्मचारीहरूलाई आवश्यक विद्युतीय उपकरण र कम्प्युटरलगायतको खरिदका लागि पनि रकम दिने कार्यक्रम ल्याउँदै छ।

कतिपय अवस्थामा, एयरलाइन्स र उड्डयन सेवा कम्पनीहरूले अस्थायी कामका लागि भित्र्याइएका विदेशी कामदारलाई राख्न होटलहरुको समेत व्यवस्था गरिदिएका छन्।

अमेरिकन एयरलाइन्स लगायतका वाहकहरूसँग काम गर्ने सुविधा सेवा र व्यवस्थापन विशेषज्ञ ग्रूपो युलेनले यस वर्ष ग्राउन्ड ह्यान्डलरहरूको पारिश्रमिक ६ प्रतिशतदेखि ८ प्रतिशतसम्म बढ्ने अनुमान गरेका छन्। उनीहरूको लागि केही  हायरिङ बोनसहरू पनि प्रस्ताव गरिँदै छ।

कर्मचारी युनियनहरु पनि हवाई उद्योगले कामदार आकर्षित गर्न र कायम राख्नको लागि अझ धेरै सुधारका कार्यक्रम ल्याउन आवश्यक रहेको तर्क गर्छन्।  

क्यानडाको सबैभन्दा ठूलो निजी क्षेत्रको युनियन युनिफोरका प्रतिनिधि यावर कादरीका अनुसार उनको तलब पाँच प्रतिशतले घटाइएको थियो। कादरी जस्ता सुरक्षा गार्डले सामान्यतया प्रतिघण्टा १५.५५ क्यानेडियन डलरमा काम सुरु गर्छन् र छ वर्ष पछि मात्र तलब बढेर प्रतिघण्टा १६.१४ क्यानेडियन डलर हुन्छ।

‘कम पारिश्रमिक हुँदा या त कामदारले अन्त पनि काम गर्नुपर्ने हुन्छ वा ओभरटाइमको व्यवस्था गर्नुपर्ने हुन्छ।,’ कादरीले थपे, ‘यस्तो परिदृश्यले कामदारका लागि धेरै नकारात्मक वातावरण सिर्जना गर्दछ। अब यसबाट हामी सबै थकित  भएका छौं।’(रोयटर्सबाट साभार)